जेठ ११, २०८३ सोमबार May 25, 2026

ऋषि धमला नेतृत्वको ५१ सदस्यीय नागरिक अभियान समिति सार्वजनिक

सरकारसँग सहकार्य गर्ने उद्देश्यसहित ३३ बुँदे “सहयात्रापत्र” समेत सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । चर्चित सञ्चारकर्मी ऋषि धमलाको नेतृत्वमा “स्वतन्त्र नागरिक अभियान नेपाल” नामक नयाँ नागरिक अभियान औपचारिक रूपमा घोषणा गरिएको छ । आइतबार काठमाडौंको प्रज्ञा भवनमा आयोजित विशेष कार्यक्रममा ५१ सदस्यीय अभियान समिति सार्वजनिक गर्दै अभियानले देशमा सुशासन, विकास, नागरिक उत्तरदायित्व र परिणाममुखी शासनको पक्षमा सक्रिय भूमिका खेल्ने घोषणा गरेको हो । “समयमै काम, तत्काल परिणाम” भन्ने मूल नारासहित सुरु गरिएको अभियानले Balen Shah नेतृत्वको वर्तमान सरकारलाई रचनात्मक सहयोग गर्ने स्पष्ट सन्देश दिएको छ । अभियानको सचिवमा हेमराज अधिकारी चयन भएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ऋषि धमलाले देश अहिले राजनीतिक संक्रमण, बेरोजगारी, भ्रष्टाचार र विकासको सुस्त गतिबाट पीडित रहेको उल्लेख गर्दै अब नागरिक स्वयं जागरूक भएर परिवर्तनको अभियानमा सहभागी हुनुपर्ने बताए । उनले जनताले अब केवल भाषण र आश्वासन होइन, प्रत्यक्ष परिणाम खोजिरहेको भन्दै प्रधानमन्त्री बालेन शाहप्रति जनताको आशा “एक्सन–ओरिएन्टेड” नेतृत्वको रूपमा रहेको दाबी गरे । उनले वर्तमान सरकारलाई अस्थिर बनाउने होइन, जनअपेक्षाअनुसार काम गर्न दबाब र सहयोग दिने उद्देश्यले अभियान स्थापना गरिएको स्पष्ट पारे ।

धमलाले विगत ३५ वर्षदेखि देशको नेतृत्व सम्हाल्दै आएका पुराना राजनीतिक दलहरूप्रति पनि कडा टिप्पणी गरे । उनले सुशासन, रोजगारी, औद्योगिक विकास र नागरिकको जीवनस्तर सुधारमा राजनीतिक नेतृत्व असफल भएको आरोप लगाउँदै उद्योग–धन्दा बन्द हुनु, युवाहरू विदेश पलायन हुन बाध्य हुनु र भ्रष्टाचार मौलाउनु त्यसकै परिणाम भएको बताए । उनले अब नागरिक स्तरबाटै दबाब सिर्जना नगरेसम्म देशले अपेक्षित गति लिन नसक्ने धारणा राखे ।

अभियानले सरकारसँग सहकार्य गर्ने उद्देश्यसहित ३३ बुँदे “सहयात्रापत्र” समेत सार्वजनिक गरेको छ । उक्त दस्तावेजमा भ्रष्टाचारमुक्त शासन प्रणाली, शिक्षा र स्वास्थ्यमा समान पहुँच, युवालाई रोजगारीको सुनिश्चितता, योग्यताका आधारमा नियुक्ति प्रणाली, व्यावहारिक शिक्षा, पारदर्शी लाइसेन्स प्रणाली, सामाजिक सुरक्षा, स्थानीय विकास र प्रशासनिक सुधारजस्ता विषयलाई प्राथमिकतामा राखिएको छ । अभियानले सुशासन र सेवा प्रवाहलाई प्रभावकारी बनाउन नागरिकस्तरबाट निगरानी र सहकार्यको नीति अवलम्बन गर्ने जनाएको छ ।

धमलाले अभियानलाई देशव्यापी रूपमा विस्तार गर्दै ७५३ वटै स्थानीय तहका वडा तहसम्म संगठन निर्माण गर्ने योजना रहेको जानकारी दिए । उनले वर्तमान सरकारलाई कम्तीमा पाँच वर्ष स्थिर रूपमा काम गर्न दिनुपर्ने धारणा राख्दै राजनीतिक दल, नागरिक समाज र सर्वसाधारणलाई सकारात्मक सहयोग गर्न आग्रह गरे । कार्यक्रममा उनले हालै भएको जेन–जी आन्दोलनमाथिको दमनप्रति पनि असन्तुष्टि जनाउँदै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया