जेठ २४, २०८३ आइतबार June 7, 2026

विकास पुगे पनि रित्तिँदै गाउँ

घरहरू सुनसान मात्रै होइन, भग्नावशेषमा परिणत हुन थालेका छन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

अर्घाखाँची, जेठ २४ गते । अर्घाखाँचीका गाउँहरूमा अहिले पक्की सडक बनेका छन् । अधिकांश घरमा बिजुली, खानेपानी र इन्टरनेट सुविधा उपलब्ध छ । गाउँमै माध्यमिक तहसम्मका विद्यालय, आधारभूत स्वास्थ्य सेवा र यातायातको पहुँच विस्तार भएको छ । ट्याक्सी घरका आँगनसम्म पुग्ने अवस्था बनेपछि लामो समय विकासबाट टाढा रहेका बस्तीहरू आधुनिक सुविधाले भरिन थालेका छन् ।

प्रविधिको पहुँचले गाउँको जीवनशैली पनि फेरिएको छ । वृद्धवृद्धादेखि युवकयुवतीसम्मका हातमा स्मार्टफोन छन् । विदेश वा सहरमा रहेका आफन्तसँग भिडियोकलमार्फत सहज सम्पर्क हुने गरेको छ । बाहिरबाट हेर्दा अर्घाखाँचीका धेरै गाउँ अहिले सुविधासम्पन्न र व्यवस्थित देखिन्छन् । तर विकासको यही चमकभित्र अर्को पीडादायी यथार्थ लुकेको छ– गाउँ क्रमशः रित्तिँदै छन् । मलिला खेतबारी बाँझिन थालेका छन् । घरहरू सुनसान मात्रै होइन, भग्नावशेषमा परिणत हुन थालेका छन् ।

तीव्र बसाइँसराइका कारण जिल्लामा खेतीयोग्य जमिन बाँझिने क्रम बढ्दो छ । कृषि ज्ञान केन्द्र अर्घाखाँचीका अनुसार पछिल्लो दशकमा मात्रै सात हजार ३६२ हेक्टर खेतीयोग्य जमिन बाँझिएको छ । ३० वर्षअघि ४५ हजार ७१२ हेक्टर क्षेत्रफलमा खेती हुने गरेको जिल्लामा अहिले जम्मा २१ हजार २४७ हेक्टर जमिनमा मात्र खेती भइरहेको तथ्याङ्क छ । २०७० सालसम्म आइपुग्दा खेती हुने क्षेत्रफल २८ हजार ६०९ हेक्टरमा झरेको थियो ।

जिल्लाको शीतगङ्गा नगरपालिका–११, छाप यस अवस्थाको प्रतिनिधि उदाहरण बनेको छ । केही वर्षअघिसम्म ४५ घरपरिवार बसोबास गर्ने उक्त बस्ती अहिले पूर्ण रूपमा खाली भएको छ । ५० घर रहेको दुम्सीगाउँ पनि यस्तै अवस्थामा पुगेको छ । गाउँका अधिकांश परिवार तराईतर्फ बसाइँ सरेपछि खेतबारी बाँझिएका छन् । शीतगङ्गा सिद्धाराका भीम केसीका अनुसार गाउँका धेरै परिवार कपिलवस्तुको लुङ्ग्री, मौवाबारी, खयरभट्टी र ढोडेनी क्षेत्रमा बसाइँ सरेका छन् । सिद्धाराकै झाते, पात्ले र उनाय गाउँ पनि विस्तारै सुनसान बन्दै गएका छन् । जङ्गली जनावरबाट खेती जोगाउन नसक्नु पनि बसाइँसराइको अर्को कारण बनेको स्थानीय बासिन्दाको भनाइ छ ।

छत्रदेव गाउँपालिका–१, ठुलाखर्कका कमल ज्ञवाली अहिले आफ्नो टोलमा एक्लै हुनुहुन्छ । उहाँले भन्नुभयो, “यहाँका सबै मानिस बसाइँ सरेर सहरतिर झरे, अहिले मेरो परिवार मात्र यहाँ छ, परिवारमा कोही बिरामी भए पनि गुहार माग्ने अवस्था छैन ।” पहिले टारी र बगर फाँडेर धान र गहुँ खेती गर्ने चलन थियो । खेत बाँझै राख्नु हुँदैन भन्ने सोच समाजमा बलियो थियो । अहिले भने खेती भइरहेका जमिन खर र वनमाराले ढाकिएका छन् ।

बसाइँसराइको असर शिक्षा क्षेत्रमा समेत स्पष्ट देखिन थालेको छ । भगवती माध्यमिक विद्यालय, डेभाका प्रधानाध्यापक पुनाराम भट्टराईका अनुसार विद्यालयमा भौतिक पूर्वाधार पर्याप्त भए पनि विद्यार्थी सङ्ख्या निरन्तर घटिरहेको छ । २०८२ सालमा ३५० विद्यार्थी भर्ना भएको विद्यालयमा हाल २७० विद्यार्थी मात्र अध्ययनरत छन् । “भवन, कक्षाकोठा र अन्य पूर्वाधार पर्याप्त छन् तर बसाइँसराइका कारण विद्यार्थी जोगाउन चुनौती बढेको छ,” प्रधानाध्यापक भट्टराईले भन्नुभयो ।

विद्यालयका शिक्षक लक्ष्मी खनालका अनुसार अभिभावकहरू रोजगारी, उच्च शिक्षा र सहज जीवनशैलीको खोजीमा सहर तथा तराईतर्फ सर्ने क्रम बढेकाले गाउँका विद्यालयहरू प्रत्यक्ष प्रभावित भएका छन् । छत्रदेव गाउँपालिका–१ स्थित आदर्श आधारभूत विद्यालयका प्रधानाध्यापक डोलबहादुर घर्तीका अनुसार तीन वर्षअघिसम्म सय जना विद्यार्थी रहेकोमा अहिले घटेर ७० मा झरेको छ । बर्सेनि विद्यार्थी सङ्ख्या घट्दो व्रmममा रहेको उहाँले बताउनुभयो । नेपाल सरकारको व्यक्तिगत घटना दर्ता तथ्याङ्क अनुसार पछिल्लो पाँच वर्षमा अर्घाखाँचीबाट पाँच हजार ८२ घरपरिवार बसाइँ सरेका छन् । औसत एक परिवारका पाँच जनाका दरले हिसाब गर्दा झन्डै २५ हजार मानिसले जिल्ला छाडेको देखिन्छ । राष्ट्रिय जनगणना २०७८ अनुसार जिल्लाको जनसङ्ख्या २०६८ सालको तुलनामा २० हजारभन्दा बढीले घटेको छ ।

कृषि ज्ञान केन्द्र अर्घाखाँचीका प्रमुख बुद्धिराज घिमिरेका अनुसार आधुनिक प्रविधि, हाइब्रिड बिउ र रासायनिक मलको प्रयोगले उत्पादनमा खास कमी नआए पनि खेती हुने क्षेत्रफल घट्दै जानु दीर्घकालीन रूपमा खतरनाक सङ्केत हो । “खाद्य सुरक्षामै चुनौती आउन सक्ने अवस्था देखिएको छ,” उहाँले भन्नुभयो ।

पाणिनि गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले शिक्षा, स्वास्थ्य, रोजगारी र सहज जीवनशैलीको आकर्षणले बसाइँसराइ बढिरहेको बताउनुभयो । उहाँका अनुसार जिल्लामा धार्मिक तथा प्राकृतिक पर्यटनको ठुलो सम्भावना छ । सुपा देउराली, अर्घा भगवती, पाणिनि तपोभूमि, खाँचीकोट भगवतीलगायत क्षेत्रलाई एकीकृत रूपमा विकास गर्न सके स्थानीय रोजगारी सिर्जना भई बसाइँसराइ रोक्न सहयोग पुग्न सक्छ । गोरखापत्र दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया