काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक विवाद थप गहिरिएको छ । अघिल्लो सातासम्म विवाद समाधानको लागि औपचारिक तथा अनौपचारिक प्रयासहरू भएका थिए । तर, पछिल्ला दिनहरूमा भने सहमतिको प्रयास रोकिएका छन् । संस्थापन र इतर पक्षबीच पछिल्लो एक सातायता संवाद ठप्प छ । गत शुक्रबार अर्थात् जेठ २२ गते उपसभापति विश्वप्रकाश शर्मा र निवर्तमान कार्यवाहक सभापति खड्काबीच छलफल भएको थियो । दुवै पक्षका प्रस्ताव टेबुल गरेर खड्का र शर्माबीच सहमतिको खोजी भएको थियो । खड्का निवास गोल्फुटारबाट बाहिरिँदा शर्माले सभापति थापासँग संवाद गरेर सहमतिका लागि पुनः संवादमा बस्ने वचन दिनुभएको थियो । तर, नौ दिनसम्म उपसभापति शर्मा संवादको लागि जानुभएको छैन । विवाद समाधानका लागि सभापति गगन थापासँग एक महिनासम्म पनि सम्पर्क हुन नसकेको असन्तुष्ट समूहका नेता पूर्णबहादुर खड्काले जानकारी दिनुभएको छ । विवाद समाधानका लागि संवाद हुन नसकेको भन्दै खड्काले सार्वजनिक असन्तुष्टि पोख्नुभएको थियो ।
खड्काको अभिव्यक्तिप्रति असन्तुष्ट उपसभापति शर्माले सहमतिका लागि अगाडि सारेको प्रस्ताव इतर पक्षका अन्य शीर्ष नेतालाई ह्वाट्स एपमा पठाउनुभएको थियो । तर, असन्तुष्ट नेताहरू शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधिले प्रस्ताव पठाएँ भन्दै शर्माले भ्रम फैलाएको आरोप लगाउनुभएको छ । विवाद समाधानका लागि संवाद ‘ब्रेक’ भएपछि संस्थापन इतर समूह पुनः प्रदेश भेलामा फर्किएको छ ।
विशेष महाधिवेशनको विषयलाई लिएर विवाद थप गहिरिँदै गएको र संवाद ठप्प भइरहेको सन्दर्भमा संस्थापन पक्षप्रति असन्तुष्ट नेताहरूले शनिबार मधेस प्रदेशमा छुट्टै प्रदेशस्तरीय कार्यकर्ता भेला गरेका छन् । पूर्व-उपसभापति विमलेन्द्र निधि, उपसभापति पूर्णबहादुर खड्कानिकट नेताहरू तथा अन्य असन्तुष्ट समूहको पहलमा जनकपुरधाममा आयोजित भेलामा मधेस प्रदेशका आठवटै जिल्लाका नेता तथा कार्यकर्ताको सहभागिता रहेको बताइएको छ । आठ जिल्लामध्ये महोत्तरीका सभापति नागेश्वर यादव र बाराका सभापति राजेशप्रसाद राय यादव पनि भेलामा सहभागी भएका छन् । बाराका सभापति राजेशप्रसाद राय यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा विमलेन्द्र निधि सहभागी हुनुभएको थियो । कार्यक्रममा पूर्वकेन्द्रीय सदस्य मोहनबहादुर बस्नेत, गुरुप्रसाद बराल, पूर्व-सहमहामन्त्री उमाकान्त चौधरी, संविधानसभा सदस्य प्रेमकिशोर शाहलगायत नेताहरूको उपस्थिति रहेको थियो ।
यद्यपि, भेलामा संघीय सांसद तथा मधेस प्रदेशसभाका सांसदहरूको सहभागिता देखिएन । विशेष महाधिवेशनको विपक्षमा रहेका समूहहरूले केही दिनअघि मधेस प्रदेशस्तरीय भेलाको संयोजनको जिम्मेवारी पूर्वसांसद आनन्द ढुंगानालाई दिएका थिए । कांग्रेसभित्र विशेष महाधिवेशनको बहससँगै बढ्दो असन्तुष्टि र गुटीय ध्रुवीकरणका बीच आयोजित यो भेला संस्थापन पक्षमाथि राजनीतिक दबाब सिर्जना गर्ने प्रयासका रूपमा हेरिएको छ । असन्तुष्ट पक्षले प्रदेशस्तरमै आफ्नो शक्ति प्रदर्शन गर्दै पार्टी नेतृत्वलाई स्पष्ट सन्देश दिन खोजेको नेताहरूले दाबी गरेका छन् ।
काठमाडौंमा संस्थापनइतर समूहको युवा भेला
कांग्रेसको संस्थापनइतर समूहका युवा नेताहरूले पनि शनिबार काठमाडौंमा भेला गरेका छन् । उनीहरू कांग्रेसको आन्तरिक राजनीति र समसामयिक विषयमा छलफल भएको जानकारी दिएका छन् । युवा नेता भुपेन्द्रजंग शाहीले पार्टीको आन्तरिक विवाद र विवाद समाधानका उपायबारे छलफल भएको जानकारी दिँदै भन्नुभयो, ‘यो बेला जाने कसरी त पार्टी ? पार्टी विभाजनको बाटोमा जाने कि पार्टीलाई एकताबद्ध बनाएर जाने ? यिनै विषयमा छलफल भएको छ ।’ भेलामा विशेष महाधिवेशनमा सहभागी नभएका युवाको सहभागिता रहेको बताइएको छ ।
भेलामा फर्जी विशेष महाधिवेशनबाट गठन गरिएको समितिलाई खारेज गर्ने, भ्रातृ संस्थामा गरिएको टीके नियुक्ति खारेज गरी निर्वाचन समितिमार्फत अधिवेशन सम्पन्न गर्ने, क्रियाशील सदस्यता अद्यावधिकको नाममा हुने धाँधली अन्त्य गर्ने तथा यसअघि नवीकरण भइसकेका सदस्यतालाई मान्यता दिने, आगामी भदौभित्र १५औँ महाधिवेशन गर्ने र पार्टीको नेतृत्व तथा जिम्मेवारी युवा पुस्तालाई हस्तान्तरण गर्ने लगायतका विषयमा छलफल भएको बताइएको छ । पछिल्लो समय कांग्रेसभित्र विशेष महाधिवेशन, संगठनात्मक संरचना र नेतृत्वको भूमिकालाई लिएर मतभेद बढ्दै गएकाले पार्टीभित्रको आन्तरिक राजनीति थप पेचिलो बन्दै गएको विश्लेषण गरिएको छ ।
वरिष्ठ नेताहरू महाधिवेशन प्रक्रियाबाट बाहिर
पार्टीमा चुलिएको राजनीतिक विवाद समाधानका लागि सहमति जुट्न नसके नेपाली कांग्रेसको संस्थापनइतर समूहमा रहेका वरिष्ठ नेताहरू १५औँ महाधिवेशनमा वञ्चित हुने भएका छन् । क्रियाशील सदस्यता अद्यावधिकमा सहभागी नभएका कारण संस्थापनइतर समूहमा रहेका शीर्ष नेताहरू आगामी असोजका लागि निर्धारण गरिएको महाधिवेशनमा वञ्चित हुने देखिएको हो । पार्टीले क्रियाशील सदस्यता अद्यावधिक नगर्ने कुनै पनि नेता–कार्यकर्ता १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी हुन नपाउने निर्णय गरेको छ । उक्त निर्णयअनुसार निवर्तमान सभापति शेरबहादुर देउवा र देउवासँग १४औँ महाधिवेशनमा प्रतिस्पर्धा गर्नुभएका नेता डा.शेखर कोइरालानिकट नेता-कार्यकर्ताहरू आसन्न महाधिवेशनमा सहभागी हुन नपाउने भएका हुन् । पार्टीले गठन गरेको सदस्यता व्यवस्थापन समितिको संयोजन गर्दै आएका महामन्त्री प्रदीप पौडेलले सदस्यता अद्यावधिक नगरेका नेता–कार्यकर्ताहरू आगामी असोजमा हुने महाधिवेशनमा सहभागी हुन नपाउने बताउनुभएको छ ।
अर्को सूचना नभएसम्मका लागि क्रियाशील सदस्यता अद्यावधिक नभएका सदस्यहरू महाधिवेशनको प्रक्रियामा सहभागी हुन नपाउने व्यवस्था कायमै रहेको पौडेलको भनाइ छ । पार्टी प्रवक्ता देवराज चालिसेले सदस्यता अद्यावधिक नगरेका शीर्ष नेताहरूका बारेमा के गर्ने भन्ने विषयमा पार्टीले निर्णय गर्न बाँकी रहेको प्रतिक्रिया दिँदै भन्नुभयो, ‘पार्टीको विधानमा कसैले अद्यावधिक गरे पनि हुने, कसैले नगरे पनि हुने व्यवस्था छैन, इतर समूहले अद्यावधिक गर्नुपर्ने थियो, गर्नुभएन । यो विषयमा के गर्ने भन्नेबारे केन्द्रले अहिले नै केही निर्णय गरेको छैन ।’
इतर समूहका नेताहरूले भने पार्टीका सदस्यहरूले १५औँ महाधिवेशनका लागि भन्दै क्रियाशील सदस्यता नवीकरण गरिसकेकाले पुनः अद्यावधिक गर्ने विषयलाई अनिवार्य गराउन नहुने सर्त राखेका छन् । त्यसलाई काउण्टर दिन अद्यावधिक नगर्नेले १५औँ महाधिवेशनमा भाग लिन नपाउने निर्णय कांग्रेस संस्थापनले गरिसकेको छ । निवर्तमान सभापति शेरबहादुर देउवा र कोइरालासँगै निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, निवर्तमान उपसभापति धनराज गुरुङ, पूर्व–उपसभापतिद्वय विमलेन्द्र निधि, प्रकाशमान सिंह, पूर्व-महामन्त्रीद्वय कृष्णप्रसाद सिटौला, डा. शशांक कोइरालाको सदस्यता अद्यावधिक भएको छैन । कांग्रेसले बिहीबार राति १२ बजेसम्मका लागि सदस्यता अद्यावधिकको समयसीमा तोकेको थियो । उक्त समयावधिभित्र पाँच लाख ३८ हजार ६२२ जनाले क्रियाशील सदस्यता अद्यावधिक गराएका छन् ।हिमालय टाइम्स
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया