काठमाडौँ, असार ५ गते । नियामकले फ्रिक्वेन्सी उपलब्ध गराए फाइभजी प्रविधिमा आधारित दूरसञ्चारसेवा सञ्चालन गर्न तयार रहेको नेपाल टेलिकमले जनाएको छ ।
प्रविधि पत्रकार मञ्च (टिजेएफ) ले बिहीबार राजधानीमा आयोजना गरेको कार्यक्रममा टेलिकमका उपप्रबन्धक राजेन्द्र दुलालले फाइभजीको प्रारम्भिक परीक्षण सफल भइसकेकाले व्यावसायिक प्रयोगका लागि फ्रिक्वेन्सी पाएमा सेवा सञ्चालन गर्ने अवस्था बनेको जानकारी दिनुभयो ।
“परीक्षण सफल भइसकेकाले पहिलेभन्दा अलग ब्यान्डमा फ्रिक्वेन्सी उपलब्ध भएमा सर्वसाधारणका लागि पनि यो सुविधा उपलब्ध गराउन सक्छौँ,” उहाँले भन्नुभयो ।
नियामक नेपाल दूरसञ्चार प्राधिकरणले फाइभजी परीक्षणका लागि टेलिकमलाई २६ सय मेगाहर्ज ब्यान्डमा टेलिकम २० मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध गराएको छ । टेलिकमले भने नौ सय ब्यान्डमा फ्रिक्वेन्सी उपलब्ध गराउन प्राधिकरणले आग्रह गरेको छ । तल्लो ब्यान्डमा फ्रिक्वेन्सी प्राप्त हुँदा त्यसको ‘कभरेज एरिया’ बढी हुने भएकाले दूरसञ्चार कम्पनीको खर्च कम हुन्छ । टेलिकमले त्यसैले नौ सय ब्यान्डमै फाइभजी फ्रिक्वेन्सीका लागि जोड गरिरहेको छ ।
फाइभजीको फ्रिक्वेन्सी प्राप्त भए खास गरी महानगरमा सेवा सञ्चालन गर्न सक्ने पनि उपप्रबन्धक दुलालले जानकारी दिनुभयो । “काठमाडौँ, पोखरालगायतका सहरमा हामी तत्कालै सेवा सञ्चालन गर्न सक्छौँ,” उहाँले भन्नुभयो ।
परीक्षणको क्रममा फाइभजी ‘सपोर्ट’ गर्ने मोबाइल सेटहरू कम भएकाले टेलिकमकै कर्मचारीको सेटमा फाइभजी परीक्षण गरिएको उहाँले बताउनुभयो । टेलिकमले करिब चार वर्षअघि नै फाइभजी परीक्षण गरिसकेको भए पनि अहिलेसम्म व्यावसायिक रूपमा सेवा सुरु गरेको छैन ।
अहिले भने करिब २० प्रतिशत मोबाइल सेटमा फाइभजी चल्न सक्ने भएकाले सेवा सुरु गर्ने वातावरण बनेको उहाँको भनाइ छ । “परीक्षणको समयमा फाइभजी चल्ने सेट कम भएकाले सर्वसाधारणलाई सेवा दिन सकेनौँ,” उहाँले भन्नुभयो, “अब भने ठुला सहरका सबै ठाउँमा सुरु गर्न नसके पनि फाइभजीको अनुभव दिन सक्ने अवस्था बनेको छ ।”
नियामक नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले सेवाप्रदायकले माग गरे फाइभजी फ्रिक्वेन्सी दिन कुनै समस्या नरहेको बताउनुभयो । “सेवाप्रदायक तयार हुनुप¥यो प्राधिकरण फ्रिक्वेन्सी दिन तयार छ,” उहाँले भन्नुभयो ।
उहाँले नेपालको दूरसञ्चार बजारमा दुई वटा सेवाप्रदायकको मात्र प्रतिस्पर्धा रहेकाले तेस्रो सेवाप्रदायकको आवश्यकता महसुस गरेको बताउनुभयो । “प्राधिकरणको अध्ययनले पनि नेपालमा तेस्रो दूरसञ्चार सेवाप्रदायकको आवश्यकता देखाएको छ,” उहाँले भन्नुभयो, “अहिलेकै अवस्थामा बजार प्रतिस्पर्धी बन्न नसक्ने अध्ययनको निष्कर्ष छ ।”
दूरसञ्चारविज्ञ आनन्दराज खनाल भने नेपालमा तेस्रो सेवाप्रदायक आवश्यक नरहेको बताउनुहुन्छ । “भएकै दुई वटा सेवाप्रदायकको आम्दानीले खर्च धान्न नसक्ने अवस्था भइसक्यो । सरकारी स्वामित्वको नेपाल टेलिकमले पनि बैङ्कमा राखेको पैसाबाट आएको ब्याजबाट नाफा देखाउनुपर्ने अवस्था छ ।
“यस्तै अवस्था रहे दुई/तीन वर्षमा कुनै एउटा सेवाप्रदायक नरहने अवस्था छ । यस्तोमा तेस्रो सेवाप्रदायकको औचित्य देखिन्न,” उहाँले भन्नुभयो । दूरसञ्चार क्षेत्रमा विद्यमान कानुनहरू विरोधाभाषपूर्ण र लगानीमैत्री नरहेको उहाँको भनाइ थियो । दूरसञ्चार बजारलाई फराकिलो दृष्टिकोण राखेर लगानीकर्तालाई सहज हुने गरी कानुन बनाउनु अपरिहार्य भइसकेको उहाँले बताउनुभयो ।
इन्टरटेट सर्भिस प्रोभाइडर्स एसोसिएसन अफ नेपाल (आइस्पान) का पूर्वअध्यक्ष विनय बोहोराले नेपालमा स्टारलिङ्क भित्रिँदा त्यसले स्वदेशी इन्टरनेट सेवाप्रदायकलाई कुनै समस्या नपर्ने बताउनुभयो । “हामी स्टारलिङ्कलाई स्वागत गर्न चाहान्छौँ,” उहाँले भन्नुभयो । दूरसञ्चार क्षेत्रमा लगाइएको अत्यधिक कर र अस्थिर नीतिले नेपालमा व्यवसाय गर्ने वातावरण बिग्रँदै गएको उहाँको भनाइ थियो । गोरखापत्र
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया