असार ६, २०८३ शनिबार June 20, 2026

चिया निर्यातमा खोजिँदै तेस्रो मुलुक

उद्योगहरूको भण्डारणमा सात लाख किलोभन्दा बढी तयारी चिया थन्किए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : नेपाली चिया निर्यातमा भारतले बारम्बार अवरोध गरेपछि सरकार विकल्पको खोजीका लागेको छ । तर ठोस परिणाम हात लागिनसकेको सरकारी अधिकारीहरू बताउँछन् ।

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीका अनुसार चिया निर्यातका सम्बन्धमा कूटनीतिक पहल भइराखेको छ । ‘चिया निर्यातमा भएको अवरोधबारे सरकारले कूटनीतिक पहल भइरहेको छ,’ मन्त्री चौधरीले बुधबार प्रतिनिधिसभाको बैठकमा भनिन् ।

भारतीय चिया बोर्डले १ मे २०२६ देखि लागू गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’अन्तर्गत प्रत्येक खेप (गाडी)को चिया अनिवार्य परीक्षण गर्नुपर्ने हुन्छ । परीक्षणको रिपोर्ट आउन २० दिनभन्दा बढी लाग्ने, रिपोर्ट नआएसम्म बिक्री गर्न नपाइने प्रावधान छ । फेल भएमा नष्ट वा फिर्ता गर्नुपर्ने प्रावधान छ । यस्तो कार्यले नेपाली चिया निर्यातमा अवरोध भएको हो ।

उद्योगीहरूका अनुसार भारततर्फ तीन लाख किलोभन्दा बढी चिया अलपत्र छ भने उद्योगहरूको भण्डारणमा सात लाख किलोभन्दा बढी तयारी चिया थन्किएको छ।

चिया निर्यात ठप्प हुँदा राष्ट्रिय अर्थतन्त्र, किसान, श्रमिक र व्यवसायी सबै प्रभावित भएका छन् । ६० हजारभन्दा बढीको प्रत्यक्ष रोजगारी प्रभावित भएको छ भने सरकारले वार्षिक करिब एक अर्ब रुपैयाँ राजस्व गुमाउने खतरा बढेको छ ।

यो विषय संसद्मा पनि निरन्तर उठिरहेको छ । तर समस्या समाधान हुन सकेको छैन । यही बेला भारतबाहेक तेस्रो मुलुकमा नेपाली चियाको बजारबारे सरकार अध्ययनमा लागेको हो ।

भारतले विगतमा पनि पटक–पटक अवरोध गरेको स्मरण गर्दै यस क्षेत्रका सरोकारवालाहरू पनि चिया निर्यातमा भारतीय बजारको  विकल्प खोजेर तेस्रो मुलुकको बजारको सम्भवनाबारे अध्ययन हुनुपर्ने पक्षमा छन् ।

स्पेसियालिटी टी एसोसिएसन नेपालका अध्यक्ष राजु शेर्मा लिम्बूका नजरमा नेपाली चिया निर्यातमा देखिएको समस्या नयाँ होइन, यो नभई वर्षौंदेखि दोहोरिँदै आएको समस्या हो ।

यसआधारमा उनी नेपालले भारतलाई मात्रै माध्यम बनाउने रणनीतिबाट बाहिर निस्केर प्रत्यक्ष रूपमा तेस्रो देशका बजारमा पहुँच विस्तार गर्नुपर्ने आवश्यकता औंल्याउँछन् ।

उनी भन्छन्, ‘नेपाल सरकारले नयाँ बजार खोज्न, अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको प्रवर्धन गर्न र निर्यात सहजीकरणमा लगानी गर्नुपर्छ ।’मध्यान्ह दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया