श्रावण १२, २०८३ मंगलबार July 28, 2026

सांसद निर्वाचन क्षेत्रमा, संसद् र समितिमा ‘ब्रेक’

विधेयक दर्ता र छलफलको गति यही अवस्थामा रहने हो भने सरकारको विधायिकी लक्ष्य पूरा हुने सम्भावना कमजोर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रतिनिधिसभाका सांसदहरूको मुख्य जिम्मेवारी सरकार गठन, कानुन निर्माण, संसदीय अनुगमन, बजेट पारित तथा संसदीय सुनुवाइ मानिन्छ । तर, अहिले संसद्को मुख्य विधायिकी काम नै प्रभावित बनेको छ । प्रतिनिधिसभाको बैठक दुई साताका लागि स्थगित भएपछि सांसदहरू आ-आफ्नो निर्वाचन क्षेत्रमा पुगेका छन् भने संसदीय समितिहरू समेत निष्क्रियजस्तै बनेका छन् ।

सभामुख डोलप्रसाद अर्यालले असार ३१ गते बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूलाई निर्वाचन क्षेत्रमा गएर जनताका गुनासा, सुझाव र समस्याहरू सुन्न आग्रह गर्नुभएको थियो । त्यसपछि संसद् बैठक साउन १३ गतेसम्मका लागि स्थगित गरिएको छ । संसद् नचल्दा समितिहरूले विधेयकमाथिको छलफललाई तीव्रता दिनसक्ने अपेक्षा गरिए पनि अधिकांश सांसद निर्वाचन क्षेत्रमा गएका कारण समितिका बैठकसमेत बस्न सकेका छैनन् ।

संसदीय समितिका बैठक सञ्चालनका लागि आवश्यक गणपूरक संख्या (कोरम) नपुग्ने अवस्था देखिएपछि समितिहरूको काम पनि प्रभावित बनेको छ । यसले संसद्को सबैभन्दा महत्त्वपूर्ण जिम्मेवारी मानिने कानुन निर्माणको प्रक्रियामा थप ढिलाइ भएको छ ।

कानुन निर्माणमा सुस्तता

प्रतिनिधिसभामा हाल १० वटा विषयगत समिति छन् । तीमध्ये सार्वजनिक लेखा समितिबाहेक नौवटा समितिको नेतृत्व सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले गरिरहेका छन् । समितिहरू विधेयकको विस्तृत अध्ययन, संशोधन र अन्तिम प्रतिवेदन तयार गर्ने मुख्य थलो मानिन्छन् । तर, नयाँ संसद् गठन भएको लामो समय बितिसक्दा पनि एउटै समितिले समेत आफ्नो जिम्मामा रहेको विधेयकमाथिको छलफल टुंगोमा पुर्‍याउन सकेको छैन ।

हाल प्रतिनिधिसभाका विभिन्न समितिहरूमा सातवटा विधेयक विचाराधीन छन् । कतिपय समितिहरूले विधेयकमाथिको छलफल नै सुरु नगरेको अवस्था छ भने केहीले प्रारम्भिक चरणको छलफल मात्रै गरेका छन् । यसले सरकारको विधायिकी एजेण्डा र संसद्को प्रभावकारितामाथि प्रश्न उठाएको छ । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सांसदहरू निर्वाचन क्षेत्रमा गएकाले विधेयकमाथिको छलफल प्रभावित भएको हो ।

रास्वपाको बचाउ : ‘जनतामाझ जानु पनि जिम्मेवारी’

कानुन निर्माणको काम सुस्त बनेको भन्दै आलोचना भइरहेका बेला रास्वपाले भने सांसदहरू आफ्नो जिम्मेवारीबाट विमुख नभएको दाबी गरेको छ । रास्वपाका प्रमुख सचेतक प्रकाशचन्द्र परियारले बजेट अधिवेशनका क्रममा सांसदहरूले निरन्तर खटेर काम गरेको र निर्वाचन क्षेत्रमा जानुलाई नकारात्मक रूपमा व्याख्या गर्न नहुने बताउनुभयो । ‘संसद् दशैँ अघिसम्म सञ्चालन गर्ने तयारी छ । सांसदहरूले रातदिन खटेर काम गरेका छन् । जनताका बीचमा जानु पनि उनीहरूको जिम्मेवारी हो’, उहाँले भन्नुभयो, ‘अहिले प्रतिनिधिसभाको बैठक दुई साताका लागि स्थगित भएकाले सांसदहरू निर्वाचन क्षेत्रमा गएका हुन् । संसद् लामो समय नचल्ने अवधिमा समितिहरूले विधेयकमाथि छलफललाई तीव्रता दिनेछन् ।’ उहाँका अनुसार आगामी महिनाहरूमा संसद् बैठकलाई निरन्तर सञ्चालन गरी विधेयक पारित गर्ने योजनामा सरकार र संसद् नेतृत्व रहेको छ ।

विपक्षीको आरोप : ‘आक्रोश मत्थर बनाउन संसद् रोकियो’

विपक्षी दलहरूले भने संसद् बैठक स्थगित हुनु सामान्य प्रक्रिया नभई राजनीतिक उद्देश्यबाट प्रेरित भएको आरोप लगाएका छन् । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारले नयाँ विधेयक ल्याउन नसकेको र सरकारप्रतिको असन्तुष्टि बढ्दै गएकाले संसद्लाई ‘ब्रेक’ दिइएको दाबी गर्नुभयो । ‘सरकारले नयाँ विधेयक नै ल्याएको छैन । सरकारप्रतिको बढ्दो आक्रोशलाई पनि विचार गरेर संसद् बैठक रोकेको जस्तो देखिन्छ’, उहाँले भन्नुभयो ।

विपक्षीहरूको आरोप छ कि सत्तारूढ दलकै केही सांसदहरूले सरकारको कार्यशैलीमाथि प्रश्न उठाउन थालेपछि त्यसलाई व्यवस्थापन गर्न संसद् बैठक स्थगित गरिएको हो । यद्यपि, सरकार र सभामुख पक्षले यस्तो आरोप अस्वीकार गर्दै आएको छ ।

राष्ट्रियसभा पनि बिजनेसविहीन

प्रतिनिधिसभा मात्रै होइन, राष्ट्रियसभा पनि अहिले प्रभावकारी विधायिकी कामविहीन अवस्थामा पुगेको छ । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ मा १६६ वटा विधेयक संसद्मा प्रस्तुत गर्ने कार्यसूची संसद् सचिवालयमा बुझाएको छ । तर, नयाँ सरकार गठन भएपछि राष्ट्रियसभामा हालसम्म एउटै नयाँ विधेयक दर्ता भएको छैन ।

प्रतिनिधिसभाबाट उत्पत्ति भएका चारवटा विधेयक पारित गरिसकेपछि राष्ट्रियसभामा विचाराधीन कुनै पनि विधेयक बाँकी छैन । त्यसैले राष्ट्रियसभाको बैठक पनि असार ३१ गतेपछि साउन १५ गतेसम्मका लागि स्थगित गरिएको छ । यसले संसद्को माथिल्लो सदन पनि प्रभावकारी कामविहीन अवस्थामा पुगेको देखाएको छ ।

नयाँ संसद्को उपलब्धि : १० विधेयक मात्रै

नयाँ संसद् गठन भएयता हालसम्म जम्मा १० वटा विधेयक पारित भएका छन् । तीमध्ये आर्थिक विधेयक, विनियोजन विधेयक तथा राष्ट्र ऋण उठाउने विधेयक बजेटसँग प्रत्यक्ष सम्बन्धित छन् । त्यसबाहेक प्रतिनिधिसभा सदस्य निर्वाचन, मतदाता नामावली, सार्वजनिक खरिद, सम्पत्ति शुद्धीकरण, सहकारी तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी ऐन संशोधनका अध्यादेश प्रतिस्थापन विधेयकहरू पारित भएका छन् । अघिल्लो सरकारले दर्ता गरेको वैकल्पिक वित्त परिचालन विधेयक पनि दुवै सदनबाट पारित भई प्रमाणीकरण भइसकेको छ । तर, सरकारले एक वर्षभित्र १६६ वटा विधेयक ल्याउने घोषणा गरेको सन्दर्भमा हालसम्मको उपलब्धि अत्यन्तै न्यून देखिएको छ । विधेयक दर्ता र छलफलको गति यही अवस्थामा रहने हो भने सरकारको विधायिकी लक्ष्य पूरा हुने सम्भावना कमजोर देखिन्छ ।

संसद् लोकतान्त्रिक शासन प्रणालीको केन्द्रबिन्दु मानिन्छ । जनताका प्रतिनिधिहरू संसद्मार्फत कानुन निर्माण, सरकारमाथि निगरानी र जनचासोका विषय उठाउने जिम्मेवारी निर्वाह गर्छन् । तर, संसद् बैठक स्थगित हुँदा र समितिहरू निष्क्रिय हुँदा विधायिकी प्रक्रिया प्रभावित भएको छ ।

सांसदहरूको निर्वाचन क्षेत्र भ्रमणलाई जनतासँग प्रत्यक्ष सम्पर्कको अवसरका रूपमा हेरिए पनि त्यसका कारण संसद् र समितिका काम प्रभावित हुनुले संसदीय कार्यक्षमतामाथि प्रश्न उठाएको छ । सरकार, सभामुख र राजनीतिक दलहरूले आगामी महिनाहरूमा विधेयक निर्माण तथा संसदीय काम कारबाहीलाई कति तीव्रता दिन्छन् भन्ने कुराले संसद्को प्रभावकारिता निर्धारण गर्नेछ ।हिमालय टाइम्स

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया