श्रावण १९, २०८३ मंगलबार August 4, 2026

मत्थर हुँदै मधेसको तनाव

सहमतिपछि मधेसका जिल्लामा बन्द, प्रदर्शन र अवरोधका कार्यक्रम स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जनकपुरधाम । सुनसरीको देवानगञ्ज घटनापछि मधेसका विभिन्न जिल्लामा चर्किएको धार्मिक तथा सामाजिक तनाव अन्ततः संवादमार्फत समाधानको दिशातर्फ अघि बढेको छ । सरकार र हिन्दू सम्राट् सेना नेपाल तथा संयुक्त हिन्दू मोर्चाबीच आइतबार जनकपुरधाममा भएको वार्ताले १९ बुँदे समझदारीमा सहमति जुटाएसँगै आन्दोलन औपचारिक रूपमा फिर्ता भएको हो ।

सहमतिपछि मधेसका जिल्लामा बन्द, प्रदर्शन र अवरोधका कार्यक्रम स्थगित भएका छन् भने सार्वजनिक यातायात, रेल सेवा तथा बजारसमेत क्रमिक रूपमा पूर्ण सञ्चालनमा आउन थालेका छन् । गृहमन्त्री सुदन गुरुङको नेतृत्वमा रहेको सरकारी टोली र आन्दोलनरत पक्षबीच जनकपुरधाममा भएको वार्तापछि दुवै पक्षले १९ बुँदे समझदारीपत्रमा सहमति जनाएका हुन् । यसअघि संयुक्त हिन्दू मोर्चाले सरकारलाई बुझाएको १३ बुँदे मागपत्रमा थप ६ बुँदा समावेश गरी अन्तिम सहमति तयार गरिएको हो ।

हिन्दू सम्राट् सेना नेपालका उपाध्यक्ष कृष्ण सनातनीले सरकारले आफ्ना मागप्रति सकारात्मक धारणा व्यक्त गरेको र कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएको जानकारी दिनुभयो । सहमतिसँगै आन्दोलन, बन्द, प्रदर्शन तथा विरोधका सम्पूर्ण कार्यक्रम तत्कालका लागि फिर्ता लिइएको उहाँले घोषणा गर्नुभयो ।

पक्राउ परेकालाई रिहा गर्ने, घटनाको छानविन

समझदारीका मुख्य बुँदाअनुसार आन्दोलनका क्रममा पक्राउ परेका व्यक्तिलाई कानुनी प्रक्रियाअनुसार रिहा गर्ने, उनीहरूमाथि नयाँ मुद्दा नचलाउने, आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट भएको गोली प्रहारको छानविन गरी दोषी देखिए कानुनबमोजिम कारबाही गर्ने सहमति भएको छ ।
त्यसैगरी, आन्दोलनका क्रममा घाइते भएका व्यक्तिको उपचारको व्यवस्था गर्ने, शान्ति र सुरक्षाको प्रत्याभूति दिने तथा विवाद समाधानका लागि निरन्तर संवाद जारी राख्ने विषयमा समेत सहमति भएको छ ।

संयुक्त हिन्दू मोर्चाले सरकारसमक्ष राखेका मागमध्ये नेपाललाई पुनः हिन्दू राष्ट्रका रूपमा स्थापना गर्ने विषय प्रमुख रहेको छ । सहमतिअनुसार यस विषयमा संसद् तथा सर्वदलीय तहमा छलफल अघि बढाउने प्रक्रिया सुरु गर्ने उल्लेख गरिएको छ ।

यस्तै, धार्मिक स्थलको व्यवस्थापन, सामाजिक सञ्जालमार्फत धार्मिक तथा जातीय द्वेष फैलाउने गतिविधिमाथि कानुनी कारबाही, सुनसरीको देवानगञ्ज घटनापछि पक्राउ परेकाहरूको मुद्दा पुनरावलोकन, धार्मिक आयोगहरूको औचित्य पुनरावलोकन, आन्दोलनमा घाइते भएकाको उपचार तथा नागरिकता वितरणसम्बन्धी छानविनका विषय पनि सहमतिमा समेटिएका छन् ।

थप समावेश गरिएका ६ बुँदामा वैदिक सनातन हिन्दू राष्ट्र पुनःस्थापनाका विषय संसद्मा छलफल गराउने, सीमामा हुने अवैध घुसपैठ नियन्त्रणका लागि उच्चस्तरीय छानविन र सीमा सुरक्षा सुदृढ बनाउने, मदरसा, मस्जिद तथा अन्य धार्मिक संस्थामा हुने वैदेशिक आर्थिक स्रोत (फण्डिङ) को अनुसन्धान तथा निगरानी गर्ने, सर्वोच्च अदालतको निर्णयअनुसार धार्मिक स्थलमा लाउडस्पिकरको प्रयोग व्यवस्थापन गर्ने र नागरिकताको विषयमा कानुनी छानविन गर्ने विषय उल्लेख गरिएको छ ।

साथै धार्मिक स्थलमा बसोबास गर्ने व्यक्तिको अभिलेखीकरण, विदेशी नागरिकको निगरानी, धार्मिक अवसरमा हतियार प्रदर्शन नियन्त्रण, सामाजिक सद्भावविरुद्धका गतिविधिमाथि कारबाही तथा १२ वर्षीय आनन्द दासको घटनामा संलग्न दोषीमाथि कारबाही गरी पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउने मागसमेत समझदारीमा समेटिएका छन् ।

अब धार्मिक द्वन्द्व दोहोरिनु हुँदैन : गृहमन्त्री

वार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री सुदन गुरुङले सरकारले आन्दोलनकारी पक्षका माग औपचारिक रूपमा ग्रहण गरिसकेको र कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाइने बताउनुभयो । उहाँले मुलुकमा धार्मिक द्वन्द्वको अवस्था पुनः सिर्जना हुन नदिन सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिँदै सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता कायम राख्नु सबै नागरिकको साझा दायित्व भएको बताउनुभयो । ‘अब हाम्रो देशमा कुनै पनि प्रकारको धार्मिक द्वन्द्व हुनु हुँदैन । हामी सबै नेपाली मिलेर बस्नुपर्छ । विवादको समाधान संवादबाट मात्रै सम्भव छ’, गृहमन्त्री गुरुङले भन्नुभयो । जनकपुरधाम पुग्नुभएका गृहमन्त्री गुरुङले आइतबार बिहान प्रसिद्ध जानकी मन्दिर, राम मन्दिर र राजदेवी मन्दिरमा दर्शन तथा पूजाआजा गर्नुभएको थियो । धार्मिक सद्भाव कायम राख्ने सन्देशका रूपमा उहाँले स्थानीय धार्मिक अगुवासँग समेत भेटघाट गर्नुभएको थियो ।

सार्वजनिक यातायात सेवा सञ्चालनमा

आन्दोलन स्थगित भएसँगै मधेस प्रदेशका अधिकांश जिल्लामा सार्वजनिक यातायात सेवा पुनः सञ्चालनमा आएको छ । सर्लाही, धनुषा, महोत्तरी, बारा, पर्सा, रौतहटलगायत जिल्लाबाट लामो दूरीका बस नियमित सञ्चालन हुन थालेका छन् ।

सर्लाहीका बस व्यवसायीका अनुसार वीरगञ्ज, बर्दिवास र जनकपुरतर्फका बस निर्वाध सञ्चालनमा आएका छन् भने ढल्केबरभन्दा पूर्वका क्षेत्रमा समेत क्रमशः बस सेवा विस्तार भइरहेको छ । पूर्वी नेपालका केही क्षेत्रमा भने हायस, विंगर तथा साना सवारीसाधनमार्फत सीमित सेवा सञ्चालन भइरहेको छ ।

धनुषामा कर्फ्यु आदेश हटाइएपछि जयनगर–जनकपुर–भंगहा रेल सेवा पनि आइतबारदेखि पुनः सञ्चालनमा आएको छ । नेपाल रेल्वे कम्पनी लिमिटेडका अनुसार पूर्वनिर्धारित तालिकाअनुसार बिहान १० बजेदेखि नियमित सेवा सुरु गरिएको छ । कर्फ्यु जारी भएपछि शुक्रबारदेखि रेल सेवा स्थगित गरिएको थियो । निषेधाज्ञाको व्यवस्था लागू भएपछि सुरक्षा अवस्थाको मूल्यांकन गर्दै रेल सञ्चालन पुनः सुरु गरिएको कम्पनीले जनाएको छ । हिमालय टाइम्स

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार