काठमाडौँ, साउन २८ गते । विदेशी नागरिकको नेपाल बसाइ अनुशासित र नियमसङ्गत बनाउन सरकारले नियमित अनुगमन गर्ने भएको छ । नेपालमा बस्ने अनुमति पाएका विदेशी नागरिकको सुविधा तथा उनीहरूका चालचलन तथा गतिविधिमाथि सूक्ष्म निगरानी गर्दै गलत क्रियाकलाप गरेको पाइएमा देश निकाला गर्नेसम्मको नीतिलाई सरकारले अवलम्बन गर्ने भएको हो । सुशासन र पारदर्शिताको नीति कार्यान्वयन गर्न र विदेशी नागरिकको बसाइ नियमसङ्गत बनाउन परराष्ट्र, गृह मन्त्रालयसँगै अध्यागमन विभागले एकीकृत अवधारणामा काम गरिरहेका छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार पछिल्लो समय पश्चिम एसियाको द्वन्द्वबिच इरानीसहित विभिन्न १३ मुलुकका नागरिकलाई ‘अनअराइभल भिसा’ मा रोक लगाउने नीति लिइएको छ । सही उद्देश्यका लागि आउने विदेशीको सम्मानजनक बसाइका लागि अध्यागमन विभागले विदेशी नागरिकको आवागमन व्यवस्थापन सूचना प्रणाली प्रभावकारी कार्यान्वयनमा समेत जोड दिएको छ ।
देशको सुरक्षा चासोसँग प्रत्यक्ष जोडिएको विषय भएकाले विदेशीको आगमन र प्रस्थानमा कडाइ गरिएको विभागका महानिर्देशक रामचन्द्र तिवारीले बताउनुभयो । उहाँले भन्नुभयो, “विगतमा अनुगमन प्रणाली नहुँदा गाह्रो थियो, अब विदेशी नागरिक व्यवस्थापन सूचना अनलाइन प्रणालीमार्फत नेपाल आएका विदेशीको हरेक गतिविधि ट्र्याक गरेरै उच्च नियमन थालेका छौँ ।”
उक्त प्रणालीमा विदेशी नागरिकको स्वस्फूर्त आगमन थाहा पाउने प्रविधि जडान गरिएको छ । जसमा हालसम्म करिब एक हजार छ सय होटल तथा पर्यटन एजेन्सीसहितका संस्था आबद्ध छन् ।
निष्कासनमा पर्ने बढे
गत एक वर्षमा कुल एक लाख ८२ हजार विदेशीको नेपाल आगमन यकिन भएको छ । यस प्रणालीबाट स्थानीय तहमा समेत विदेशी नागरिकलाई सेवा प्रवाह गर्ने संस्थासँग समन्वय गरिएको छ । विगतमा बेवास्ता हुँदा जिल्ला पुगेर नफर्कने समस्या बढेको महानिर्देशक तिवारीले सुनाउनुभयो । उहाँका अनुसार हरेक जिल्लाका एक जना सहायक प्रमुख जिल्ला अधिकारीलाई सहजकर्ता तोकेरै अनुगमनमा कडाइ गरिएको छ । त्रिभुवन विमानस्थलमा प्रत्यक्ष अप्रत्यक्ष निगरानी उच्च पारिएको छ । शङ्कास्पद गतिविधि देखिएपछि आगमन अनुमति नदिई गत आर्थिक वर्षमा ७८१ जना विदेशीलाई त्रिभुवन विमानस्थलबाटै फिर्ता पठाइएको उहाँले बताउनुभयो ।
त्यस्तै वाल्मीकि विद्यापीठको नक्कली कागजातका आधारमा अध्ययन भिसाका लागि आवेदन गर्ने २० जना विदेशी नागरिकको भिसा रद्द गरी देशनिकाला गरिएको थियो । भिसा उल्लङ्घन गरेका ४०, जाली राहदानी तथा भिसा प्रयोगसम्बन्धी कसुरमा २०, निष्कासन आदेशको उल्लङ्घन गर्ने दुई जना र न्यायिक तथा अर्धन्यायिक निकायबाट दोषी ठहर भएका ८१ गरी १४३ जना विदेशी नागरिकलार्ई कारबाहीसहित निष्कासन गरिएको छ । नेपालको अध्यागमन कानुन पालना नगर्ने र गैरकानुनी गतिविधिमा संलग्न विदेशी नागरिकलाई कानुनबमोजिम जरिबाना असुल गरी निष्कासन गर्ने गरेको महानिर्देशक तिवारीले बताउनुभयो ।
गैरकानुनी रूपमा नेपाल बस्ने विदेशी नागरिकलाई अध्यागमन कानुन अनुसार कारबाही गरी सन् २०२५ मा ५२३ जना र सन् २०२६ को हालसम्म २१७ जना निष्कासनमा परेका छन् । भिसा शुल्क र जरिबाना तिर्न नसकी कारागारमा रहेका १६ जना विदेशी नागरिकको शुल्क र जरिबाना मिनाहा गरी निष्कासन प्रक्रिया अघि बढाइएको छ । त्यस्तै संयुक्त राष्ट्रसङ्घीय शरणार्थी एजेन्सी (युएनएचसिआर) को संरक्षणमा रहेका ९० जना विदेशी नागरिकको शुल्क र जरिबाना मिनाहा गरी निष्कासन गर्ने तयारी छ ।
विभागले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार सन् २०२१/२०२५ को पाँच वर्षको अवधिमा वार्षिक औसत ४५३ जनाका दरले कुल दुई हजार २६७ जना विदेशी नागरिक नेपालबाट निष्कासनमा परेका छन् । पाँच वर्षको अवधिमा सन् २०२२ मा सबैभन्दा बढी ५७० र सन् २०२१ मा सबैभन्दा कम २१८ जना निष्कासित भए । सन् २०२५ मा यसरी निष्कासित हुनेको दर १५ प्रतिशतले बढेको छ । सन् २०१४ देखि सन् २०२६ सम्म १२ वर्षको तथ्य हेर्ने हो भने सबैभन्दा बढी सन् २०१८ मा ६३८ जना विदेशी निष्कासनमा परेका थिए ।
सबैभन्दा बढी चिनियाँ
देशगत रूपमा नेपालबाट सबैभन्दा बढी ६९५ जना चिनियाँ नागरिक निष्कासित भएका छन् । त्यसपछि संयुक्त राज्य अमेरिकाका १९१ जना र तेस्रोमा बङ्गलादेशका १४५ जना निष्कासनमा परेका छन् । बेलायतका करिब ७४ र पाकिस्तानका करिब ७२ जना निष्कासित भए ।
अन्य भिसामा आउने बढे
अन्य भिसामा नेपाल आउने र बसोबास गर्ने विदेशी नागरिकको प्रवृत्ति बढ्दै गएको विभागको अनुमान छ । सन् २०२१ मा एक लाख ५० हजार ९६४ जना विदेशी नेपाल आएकोमा त्यसपछि बढ्दो आगमनको दर छ । सन् २०२२ मा छ लाख १४ हजार ८७५, सन् २०२३ मा १० लाख १४ हजार ८९६, सन् २०२४ मा ११ लाख ४७ हजार ५८२ र सन् २०२५ मा हालसम्मकै बढी ११ लाख ६८ हजार ११२ जना विदेशी नेपाल आएको विभागले जनाएको छ । महानिर्देशक तिवारीले थप्नुभयो, “खुला नाकाबाट नेपाल प्रवेश गर्नेको अनुगमन चुनौतीपूर्ण छ । विगतमा प्रवेश गरेर लुकेकाको लगत निकाल्नु अर्को चुनौती छ तर केही वर्षभित्र सबैको लगत निस्कन्छ भन्ने विश्वास छ ।”
वार्षिक चार प्रतिशतले अन्य भिसामा नेपाल प्रवेश गरेको अनुमान छ । नेपालका व्यावसायिक लगानी, विकास निर्माणका परियोजनामा काम गर्न र शैक्षिक आदानप्रदानका लागि उक्त भिसा प्रयोग बढेको देखिन्छ । भारत र चीनको सीमानाकाबाट अवैध रूपमा आउने विदेशीको आँकडा छुट्टै छ । नेपालमा अध्यागमन विभाग अन्तर्गत तीन अन्तर्राष्ट्रिय विमानस्थल नाका र १३ वटा स्थलगत सीमानाका गरी १६ वटा प्रवेशमार्ग छन् । गोरखापत्र दैनिकबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया