भाद्र ९, २०८३ मंगलबार August 25, 2026

नेपाली चियालाई बजारकै चिन्ता

नेपालमा वार्षिक प्रतिव्यक्ति ३५० ग्राम चिया खपत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : चियाका लागि नेपाल आत्मनिर्भर मुलुक हो । चिया सहकारी खोलेर व्यावसायिक विकासमा लागेका किसानका लागि चिया उद्योग रोजगारीसँगै आम्दानीको बलियो माध्याम बन्दै गएको छ । तर, नेपाली चियाको बजार अभावले चिया व्यवसायी चिन्तित छन् ।

२०५१ सालबाट प्रारम्भ भएको चिया सहकारी अभियान ६०को दशकपछि धमाधम दर्ता हुने र सहकारीमार्फत व्यावसायिक बन्दै गए । त्यसपश्चात् किसानको बगैंचादेखि अन्तर्राष्ट्रिय बजारसम्म पुग्ने नेपाली चियाको यात्रामा सहकारी महत्त्वपूर्ण आधार बन्न पुग्यो ।

देशभर करिब १८ देखि २० हजार किसानले सहकारीमार्फत वा निजी लगानीमा व्यावसायिक चिया खेती गर्दै आएका छन् । अहिले १ सय १० चिया सहकारी सञ्चालनमा छन् भने कम्तीमा साढे ९ हजार किसान सदस्य छन् । साना किसानको छरिएको उत्पादनलाई एउटै प्रणालीमा ल्याउन सहकारी संरचना चियाको क्षेत्रमा महत्त्वपूर्ण माध्यम बनेको चिया सहकारी केन्द्रीय संघका महासचिव नवीन राईले बताए । ‘नेपालमा चियाको सम्भावना राम्रो छ,’ उनले भने, ‘चिया सहकारीले किसानलाई संगठित गरेर उत्पादनको आधार तयार गरिसकेका छन् । अब किसानले कच्चा पत्ती बेच्ने सहकारीबाट आफ्नै ब्रान्डको चिया बेच्ने उद्यमतर्फ फड्को मार्नुपर्नेछ ।’ सरकारले अनुदानभन्दा पूर्वाधार र बजारमा लगानी गर्ने, गैरसरकारी संस्थाले परियोजनामुखी सहयोगभन्दा दीर्घकालीन व्यावसायिक क्षमता विकासमा जोड दिनुपर्ने राईले बताए ।

‘अहिले १ सय १० चिया सहकारी सञ्चालनमा छन्,’ संघका महासचिव राईले भने, ‘ती सहकारीमा कम्तीमा ९ हजार किसान सदस्यकै रूपमा जेडिएका छन् । सहकारीमा आबद्ध किसानले उत्पादन गरेको चिया विश्वबजारसम्म आकिर्षित हुन थालेको छ ।’ सहकारीको कारोबार केवल हरियो पत्ती बिक्रीमा सीमित नराखी प्रशोधन, प्याकेजिङ र ब्रान्डिङतर्फ केन्द्रित हुनुपर्नेमा उनको जोड छ । चियाको उत्पादन, प्रशोधन, ब्रान्डिङ र निर्यातमा सहकारीको भूमिका बढ्दै जाँदा बजार विविधीकरण, गुणस्तर प्रमाणीकरण र सरकारी सहयोग नभएको राईले दाबी गरे ।

२०३९ सालमा तत्कालीन राजा वीरेन्द्रले इलाम, झापा, पाँचथर, धनकुटा, तेह्रथुमसहित पाँचवटा जिल्लालाई चिया क्षेत्र घोषणा गरेका थिए । किसान तहमा राष्ट्रिय चिया तथा कफी विकास बोर्ड ऐन २०४९ जारी भएसँगै चिया उत्पादनका क्षेत्रमा व्यावसायिक विकासको प्रारम्भ भयो । ०४६–४७ सालदेखि ५०–५२ सालबाट विस्तारै अपडेट हुँदै गएको चिया उद्योग अहिले आर्थिक सम्भावना र रोजगारीको बलियो आधार बनेको छ । नेपालको तराई र पडाहका विभिन्न क्षेत्रमा चियाको व्यावसायिक खेती विस्तार हुँदै गएको छ ।

भारतीय बजारको भर 

नेपालमा उत्पादित ७० प्रतिशत चिया भारतीय बजारमा निर्यात हुन्छ । यहाँ  वार्षिक ३ करोड किलो अर्थात् (तीन हजार मेट्रिकटन) तयारी चिया उत्पादन हुने गरेको छ । नेपालीहरू चियाका पारखी नभएका कारण गाउँ घरमा चिया भन्दा मही, दही र दूध बढी खपत हुने गरेको पाइन्छ । करिब १ करोड केजी चिया पनि नेपालमा खपत हुँदैन । बाँकी चिया भारतसहित तेस्रो मुलुकमा निर्यात हुने गरेको छ । यद्यपि करिब ७० प्रतिशत नेपाली चियाको बजार भारत नै हो । भारतले बेलाबखत चिया आयातामा रोक लगाएका कारण चिया व्यवसायी मारमा छन् ।

उक्त समस्याबाट मुक्त हुन नेपाल सरकारले तेस्रो मुलुकमा निर्यातको वातावरण बनाउनुपर्ने व्यवसायी तथा चिया सहकारी अभियान्ताहरूको माग छ । युरोप, अमेरिका, क्यानडासहितका तेस्रो मुलुकमा करिब १० देखि १५ प्रतिशत मात्रै चिया निर्यात हुने गरेको छ । ‘मुख्य बजारमा इन्ट्री भएन भने त यहाँ गाह्रो भइहाल्छ,’ सहकारी संघका महासचिव राई भन्छन्, ‘भारतले नेपाली चिया निर्यातमा रोक लगाउँदा नेपाली चिया किसानहरू मारमा पर्ने गरेका छन् । १ केजी तयारी चिया बन्नलाई करिब ५ केजी हरियो पत्ती आवश्यक पर्दछ ।’ निर्यात रोकिँदा सिधै किसानको मूल्य रोक्ने उनको भनाइ छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्ड र व्यवसायीहरूको तथ्यांकअनुसार नेपालमा वार्षिक प्रतिव्यक्ति ३५० ग्राम चिया खपत हुन्छ । नेपाली बजारमा सबैभन्दा बढी सिटिसी चिया खपत हुने गरेको छ । सिटिसी चियामा आत्मनिर्भर रहेको नेपालमा उत्पादित चियाको करिब ५० प्रतिशत स्वदेशभित्रै खपत हुने तथ्यांकमा उल्लेख छ । त्यस्तै, अर्थोडक्स र ग्रिन टी नेपालको पहाडी भेगमा उत्पादन हुने उच्च गुणस्तरको चिया हो । जसको ठुलो हिस्सा (करिब ९५ प्रतिशतभन्दा बढी) विदेश निर्यात हुने गर्दछ । नेपालका सहरी क्षेत्र र पर्यटकीय स्थलहरूमा यसको आन्तरिक व्यापार भने राम्रो देखिएको छ । सिटिसी चियाको आधा उत्पादन डोमेस्टिक खरिद हुने गरेको र आधा भारतीय बजारका लागि निर्यात हुने गरेको व्यवसायीहरूको दाबी छ । मध्यान्ह दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ
२०८३ भाद्र ९, मंगलबार
राष्ट्रपतिद्वारा चाँगुनारायणको प्रसाद ग्रहण
२०८३ भाद्र ९, मंगलबार
सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र महानिरीक्षक पौडेल
२०८३ भाद्र ९, मंगलबार
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी
२०८३ भाद्र ९, मंगलबार
उनेपाले विद्युत् महसुलको भ्याट हटाउने, डेडिकेटेड–ट्रंक लाइनको बक्यौता असुल्ने
२०८३ भाद्र ९, मंगलबार
प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही
२०८३ भाद्र ९, मंगलबार
चीनबाट जनै आयात भएको तथ्याङ्क भेटिएन
२०८३ भाद्र ९, मंगलबार