भाद्र १६, २०८३ मंगलबार September 1, 2026

कांग्रेसकै नाममा दुईवटा महाधिवेशन

भदौ १५ देखि १९ गतेसम्म क्रियाशील नवीकरण र अद्यावधिक गर्न सकिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्ष (निवर्तमान सभापति शेरबहादुर देउवा) समानान्तर १५औँ महाधिवेशनको तयारीमा जुटेको छ । संस्थापन पक्षले सुरु गरेको १५औँ महाधिवेशनको प्रक्रिया रोक्न सर्वोच्च अदालतले अस्वीकार गरेपछि संस्थापनइतर पक्ष छुट्टै महाधिवेशन गर्ने तयारीमा जुटेको हो । गत पुसमा भएको विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा रहेको नेपाली कांग्रेसले भदौ २४ गतेदेखि गाउँ/नगर अधिवेशन सुरु गर्दै विभिन्न तहका अधिवेशन सकेर असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।

तर, संस्थापनइतर पक्ष संस्थापन पक्षले सुरु गरेको महाधिवेशन प्रक्रियामा सहभागी नहुने भएको छ । इतर पक्षले छुट्टै मितिमा महाधिवेशन गर्नेगरी कार्यतालिका ल्याउन बैठक आह्वान गरेको छ । इतर समूहको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले पार्टीको १५औँ महाधिवेशन कार्यतालिकालगायत विषयमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिँदै भन्नुभयो, ‘गगन थापा नेतृत्वको सानेपा कांग्रेसले असोजमा केन्द्रीय महाधिवेशन गर्नेगरी कार्यतालिका ल्याएपछि रोक्नुपर्‍यो भनेर हामी अदालत गयौँ तर अदालतले महाधिवेशन रोक्नु पर्दैन भनिदियो । महाधिवेशन रोक्न नपर्ने भए हामी पनि महाधिवेशन गर्ने भनेर तयारी सुरु गरिएको छ । त्यसका लागि यही भदौ १७ गते बुधबार बैठक बोलाएका छौँ । बैठकले महाधिवेशन कार्यतालिका ल्याउँछ ।’

संस्थापन पक्षले तय गरेको मिति आसपास रहेर नै महाधिवेशन कार्यतालिका ल्याउने जानकारी दिँदै विश्वकर्माले भन्नुभयो, ‘गगन थापा नेतृत्वको कांग्रेसले भदौ २४ देखि गाउँ/नगर अधिवेशन गर्नेगरी कार्यतालिका ल्याएर तयारी अघि बढाएका छन् । हामी त्यो अधिवेशनमा सहभागी हुँदैनौँ, यही मिति आसपास रहेर महाधिवेशन कार्यतालिका ल्याउँछौँ ।’

इतर पक्षको सचिवालय समन्वय समितिका संयोजक दीपक कुइँकेलले पार्टी एकता गराउने पहल नभएकाले महाधिवेशन गर्ने तयारी गरेको जिकिर गर्दै भन्नुभयो, ‘पार्टी मिलाउने दायित्व अर्को पक्ष (गगन थापा नेतृत्वको कार्यसमिति) हो । यस बीचमा सहमति भएन र महाधिवेशन पनि रोक्नुभएन भने हामी महाधिवेशन गर्नुको विकल्प छैन ।’

कांग्रेसले २०७८ मंसिर २४ देखि २८ गतेसम्म १४औँ महाधिवेशन गरेको थियो । विधानअनुसार चार वर्षमा नियमित महाधिवेशन गर्नुपर्छ । तर, नियमित महाधिवेशन नभएका खण्डमा विधानअनुसार एक वर्ष कार्यकाल थप गर्न सकिन्छ । त्यो समय पनि आगामी मंसिरमा सकिनेछ । त्यसैले मंसिरभित्रै महधिवेशन गरिसक्नुपर्ने बाध्यता रहेको विश्वकर्माको भनाइ छ । गत पुसमा भएको विशेष महाधिवेशनमा तत्कालीन संस्थापन पक्ष सहभागी भएको थिएन ।

संस्थापनइतर पक्षले चुनदेवीमा सम्पर्क कार्यालय खोलेर समानान्तर गतिविधि गर्दै आएको छ । सर्वोच्च अदालतले विशेष महाधिवेशनसम्बन्धी मुद्दामा पुनरवलोकन अनुमति दिएकोले त्यसको टुंगो नहुँदासम्म १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति नै आधिकारिक रहने दाबी निवर्तमान संस्थापन पक्षको तर्क छ । साउन २९ देखि ३१ गतेसम्म राष्ट्रिय भेला गरी संस्थापनइतर पक्षले देउवाकै नेतृत्वमा १५औँ महाधिवेशन हुनुपर्ने निर्णयसमेत गरेको थियो ।

हङकङ र सिंगापुरमा पाँच महिना उपचार गराएर साउन २८ मा देउवा स्वदेश फर्किनुभएको थियो । त्यसपछि देउवा पनि चुनदेवी सम्पर्क कार्यालयमा बेलाबेला जाने गर्नुभएको छ । दुवै पक्षका पछिल्लो गतिविधिले नेपाली कांग्रेसकै नाममा दुईवटा महाधिवेशन हुने अवस्था सिर्जना भएको छ ।

संस्थापन पक्षको महाधिवेशन कार्यतालिका यथावत्

नेपाली कांग्रेसको संस्थापन पक्षले भने सार्वजनिक महाधिवेशन कार्यतालिका यथावत् राखेको छ । संस्थापन पक्षले यसअघि नै १५औँ महाधिवेशनको मिति तोकिसकेको छ । कांग्रेस केन्द्रीय समितिको साउन २४ गतेदेखि भदौ १ गतेसम्म बसेको बैठकले पूर्व–निर्णयअनुसार १५औँ महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा सम्पन्न गर्ने निर्णय यथावत् राखेको थियो । सोही निर्णयअनुसार भदौ २४ गते देशभरका ६ हजार ७४३ वडामा अधिवेशन गरी क्षेत्रीय प्रतिनिधि चयन गर्ने कार्यतालिका छ । भदौ २७ गते गाउँ तथा नगर अधिवेशन, भदौ ३१ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन गर्ने कांग्रेसको कार्यतालिका छ । यस्तै, असोज ७ गते जिल्ला अधिवेशन र असोज १० गते प्रदेश अधिवेशन गर्ने तालिका सार्वजनिक गरिएको छ । असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्नेगरी कांग्रेसले कार्यतालिका अघि बढाइसकेको छ । पार्टी प्रवक्ता देवराज चालिसेले महाधिवेशन पूर्वनिर्धारित कार्यतालिकाअनुसार नै हुने दाबी गर्दै भन्नुभयो,‘निर्धारित प्रक्रियाअनुसार हामी तोकिएकै मितिमा महाधिवेशन गर्ने गरी तयारी गरिसकेका छौँ ।’

संस्थापनइतर पक्षको समानान्तर गतिविधिप्रति सोधिएको प्रसंगबाट प्रवक्ता चालिसेले भन्नुभयो, ‘पार्टीको कानुनी वैधानिकता रहेको पक्षले नै महाधिवेशन सम्पन्न गर्छ । यताउता हामी चिन्दैनौँ । पार्टी त एउटै छ, कानुनी वैधानिकता छ । सानेपाबाहेक हामी उताका कसैलाई चिन्दैनौँ ।’ सर्वोच्च अदालतको निर्णयको सम्मान गर्न पनि सबै महाधिवेशन प्रक्रियामा जोडिनुपर्ने उहाँको तर्क छ । पार्टीको आन्तरिक विवाद समाधानका लागि आफूहरू सकारात्मक रहेको र सबैलाई आह्वान गरिएको उल्लेख गर्दै चालिसेले महाधिवेशनको सौहार्दपूर्ण वातावरण बनाउन संस्थापन पक्ष तयार रहेको दाबी गर्नुभएको छ ।

कांग्रेसमा करिब आठ लाख जनाले क्रियाशील अद्यावधिक गरिसकेका छन् । छुटेकाहरूलाई क्रियाशील अद्यावधिक गर्न अन्तिम अवसरका रूपमा भदौ १९ गतेसम्मको समय दिइएको केन्द्रीय कार्यालयले जनाएको छ । भदौ १५ देखि १९ गतेसम्म क्रियाशील नवीकरण र अद्यावधिक गर्न सकिने जानकारी दिँदै कांग्रेस केन्द्रीय कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसका सभापति गगन थापाको समुपस्थितिमा महामन्त्री एवं सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा भदौ १४ गते बसेको समितिको बैठकले पार्टीको बृहत्तर हित, एकता र साथीहरूको अनुरोधलाई ध्यानमा राखी नवीकरण र अद्यावधिक गर्न छुट हुनुभएका क्रियाशील सदस्यहरूले २०८३ भदौ १५ देखि १९ गतेसम्ममा आफ्नो क्रियाशील सदस्यता नवीकरण र अद्यावधिक गर्न सकिने गरी समयावधि कायम गर्ने निर्णय गरेको छ ।’

निवर्तमान सभापति शेरबहादुर देउवासहित अधिकांश पूर्वपधिकारीहरू र संस्थापनइतर पक्षका केही जिल्ला सभापतिसहित कार्यकर्ताले क्रियाशील सदस्यता अद्यावधिक गरेका छैनन् । उनीहरूले गत पुस १० गतेभित्रै नवीकरण भने गरेका थिए । गत पुसमा भएको विशेष महाधिवेशनमा सहभागी नरहेका कतिपय नेताहरूले क्रियाशील अद्यावधिक गरेका छैनन् । गत पुसमा नियमित महाधिवेशन गर्ने कि विशेष भन्नेमा मतभेद हुँदा कांग्रेसमा विवाद सुरु भएको हो । हिमालय टाइम्स

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया