असोज २३, २०८३ शुक्रबार October 9, 2026

गुट अन्त्य गर्ने कांग्रेसको सङ्कल्प

आगामी छ महिनालाई पार्टी निर्माण तथा सङ्गठन सुदृढीकरणमा केन्द्रित गर्ने कार्यदिशा पनि तय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, असोज २२ गते । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनले पार्टीभित्रको गुटगत राजनीति अन्त्य गर्दै सङ्गठन पुनर्संरचना, नयाँ पुस्ताको सहभागिता र नागरिकलाई राजनीतिक उपलब्धिको प्रत्यक्ष प्रतिफल दिने दिशामा अगाडि बढ्ने सङ्कल्प गरेको छ ।

महाधिवेशनको बन्दसत्र समापन समारोहलाई सम्बोधन गर्दै सभापति गगनकुमार थापाले विगतमा रहेका गुट–उपगुट र विभिन्न समूह अब समाप्त भएको घोषणा गर्नुभयो । उहाँले अब कांग्रेसलाई एकढिक्का बनाएर अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “विगतमा अनेक नेताका नाममा गुट–उपगुट थिए, यी सबै गुट आजकै दिनदेखि सकिए । कुनै समूह नभई पार्टी अब एकढिक्का भएर अगाडि बढ्ने छ ।” सभापति थापाले कांग्रेसलाई आन्तरिक समूह व्यवस्थापनमा सीमित नराखी नीति, विचार र मुलुकका प्रमुख सवालमा समाज तथा जनताबिच बहस गर्ने पार्टीका रूपमा विकास गरिने बताउनुभयो ।

कांग्रेस एउटा परिवार जस्तै भएको उल्लेख गर्दै उहाँले पार्टीमा सबैको हैसियत बराबर हुने र जिम्मेवारी मात्र फरक हुने स्पष्ट पार्नुभयो ।

सभापति थापाले प्रस्तुत गर्नुभएको ‘राष्ट्रिय पुनर्जागरण तथा समुन्नति’ सम्बन्धी राजनीतिक प्रस्ताव महाधिवेशनले सर्वसम्मतिले पारित गरेको छ । प्रस्तावमा लोकतन्त्र, शान्ति, गणतन्त्र र संविधान निर्माणबाट प्राप्त उपलब्धिको प्रतिफल नागरिकको जीवनमा पुर्‍याउने, राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई समयानुकूल पुनः परिभाषित गर्ने तथा कांग्रेसलाई निर्वाचन र सत्ताकेन्द्रित दलबाट परिणाममुखी राष्ट्रिय शक्तिका रूपमा रूपान्तरण गर्ने लक्ष्य लिइएको छ ।

प्रस्तावले मुलुकको राजनीतिक यात्रालाई ‘राष्ट्रिय शक्तिको छैटौँ अध्याय’ का रूपमा अगाडि बढाउँदै गन्तव्य ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ तय गरेको  छ । युवा विद्रोह तथा भदौ २३ र २४ गतेका घटनाको स्वतन्त्र छानबिन, निर्वाचनपूर्व गठबन्धन नगरी आफ्नै उम्मेदवार उठाउने, परिणाममुखी प्रतिपक्षको भूमिका निर्वाह गर्ने र सङ्गठनलाई योग्यतामा आधारित बनाउने विषय पनि प्रस्तावमा समेटिएका छन् ।

वडादेखि केन्द्रसम्म सङ्गठन तथा नेतृत्व छनोट प्रक्रिया सुधार गर्ने, सबै पदाधिकारी र केन्द्रीय सदस्यलाई जिम्मेवारी दिने, नयाँ पुस्ता तथा विदेशस्थित नेपाली कांग्रेसका कार्यकर्तालाई सङ्गठनमा समेट्ने तथा पाँच पुस्ताबिच सहकार्य र राष्ट्रिय मेलमिलापलाई प्राथमिकता दिने निर्णय महाधिवेशनले गरेको छ ।

आगामी छ महिनालाई पार्टी निर्माण तथा सङ्गठन सुदृढीकरणमा केन्द्रित गर्ने कार्यदिशा पनि तय गरिएको छ । उपसभापति विश्वप्रकाश शर्माले महाधिवेशनबाट पार्टीमा एकता र सद्भावको भावना विकास हुने विश्वास व्यक्त गर्दै चुनावी प्रतिस्पर्धालाई व्यक्तिगत वैमनस्यमा परिणत गर्न नहुने बताउनुभयो । उहाँले प्रस्तुत गर्नुभएको ‘राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा’ सम्बन्धी समसामयिक प्रस्ताव पनि महाधिवेशनले पारित गरेको छ ।

कांग्रेस नेता भीष्मराज आङ्देम्बेले १५ औँ महाधिवेशन विगतभन्दा फरक र ऐतिहासिक भएको बताउनुभयो । नीति, सिद्धान्त र भावी कार्यदिशामाथि गम्भीर छलफल भएकाले यसले कांग्रेसको नीति र सोचमा परिवर्तन ल्याउने उहाँको भनाइ थियो ।

सभाले महामन्त्री गुरुराज घिमिरेले प्रस्तुत गर्नुभएको सङ्गठनात्मक प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पनि महाधिवेशनले सर्वसम्मतिले पारित गरेको छ ।

आज मतदान 

यसैबिच कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान हुने भएको छ । मतदानमा सात हजार २५५ महाधिवेशन प्रतिनिधिले भाग लिने छन् ।

केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा गरी सात मतदान केन्द्र तोकिएको छ ।  निर्वाचन आयोगका अनुसार वरिष्ठ उपाध्यक्षमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसालको मात्र उम्मेदवारी परेका कारण उहाँहरू निर्विरोध निर्वाचित हुनुभएको छ । यद्यपि औपचारिक घोषणा भने बाँकी छ ।

राष्ट्रिय सभागृहमा बागमती प्रदेश, प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी तथा खुलामञ्चमा कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिले मतदान गर्ने छन् । भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि बनेकाका लागि पनि खुलामञ्चमै मतदान गर्ने व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ ।गोरखापत्र दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
उखु किसानलाई एक अर्ब ५० करोड अनुदान
२०८३ असोज २३, शुक्रबार
शिक्षा नियमावलीः शिक्षकलाई गाडी किन्न सहुलियत
२०८३ असोज २३, शुक्रबार
अझै बेचैन छन्–बाढीले खोसेका राष्ट्रसेवकका परिवार
२०८३ असोज २३, शुक्रबार
अस्ट्रेलियाको न्यु साउथ वेल्सका प्रिमियर र परराष्ट्रमन्त्री खनालबीच भेटवार्ता
२०८३ असोज २३, शुक्रबार
आजदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला, नयाँ बसपार्कमा बिहानैदेखि यात्रुको घुइँचो
२०८३ असोज २३, शुक्रबार
युवा शक्तिलाई नवप्रवर्तन र उद्यमशीलतामा जोड्ने सरकारको लक्ष्य : सञ्चारमन्त्री डा. तिमिल्सिना
२०८३ असोज २३, शुक्रबार
कोरलानाकाबाट ५४३ टन फलफूल आयात
२०८३ असोज २३, शुक्रबार