कार्तिक ५, २०८३ बिहिबार October 22, 2026

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

धरानमा खरिद बिक्री हुने खसीबोका छिमेकी देश भारतसम्म निर्यात हुने गरेको खुलाशा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सुनसरी, ५ कात्तिकः बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष रु २६ करोड २५ लाख बराबरको खसीबोका कारोबार भएको छ ।

कोशी प्रदेशका पहाडी जिल्लाबाट किसान तथा व्यापारीले बिक्रीका लागि ल्याएका खसीबोकाको माग बढेपछि गत वर्षको तुलनामा यसवर्ष करिब १५ प्रतिशतले कारोबार वृद्धि भएको कृषिउपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले बताउनुभयो ।

गत वर्ष २०८२ को दसैँमा कृषिउपज बजारबाट रु २३ करोड बराबरको खसीबोका कारोबार भएको थियो । दसैँमा मासुको खपत बढ्ने भएकाले धरानको खसीबोका बजारमा हरेक वर्ष कारोबार बढ्ने गरेको व्यवस्थापक भट्टराईले बताउनुभयो ।

कोशी प्रदेशका पहाडी जिल्ला तथा तराईका विभिन्न स्थानबाट खसीबोका खरिद बिक्रीका लागि व्यापारी तथा किसान यहाँ आउने गरेका छन् । धरान कृषिउपज बजारमा दैनिक उपभोग्य वस्तुका साथै खसीबोकाको किनबेच हुने गरेको छ । हप्तामा विशेषगरी बिहीबार र शुक्रबारका दिन खसीबोकाको बजार लाग्ने भएकाले उल्लेख्य  सङ्ख्यामा व्यापारी तथा किसान यहाँ आउने गरेका छन् ।

धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथर, तेह्रथुमलगायत पहाडी जिल्ला तथा इटहरी, मोरङको कानेपोखरी, बेलबारीसहित तराई क्षेत्रबाट पनि किसान तथा व्यापारी खसीबोका खरिदबिक्रीका लागि यहाँ आउने गरेको व्यवस्थापक भट्टराईले जानकारी दिनुभयो ।

धरानमा खरिद बिक्री हुने खसीबोका छिमेकी देश भारतसम्म निर्यात हुने गरेको बजार व्यवस्थापन समितिले जनाएको छ । कोशी प्रदेशकै व्यवस्थित खसीबजारका रूपमा रहेको धरान कृषिउपज बजारले पहाडी जिल्लाका किसानलाई बजार उपलब्ध गराउनुका साथै स्थानीय व्यापार र रोजगारीमासमेत योगदान पु¥याएको व्यवस्थापक भट्टराईले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया