काठमाण्डौः जबरजस्ती करणी प्रयासबाट पीडित भएकी भनिएकी रोशनी शाहीको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकको बकपत्र गराउन जिल्ला अदालत काठमाण्डौले आदेश दिएको छ ।
तत्कालीन सभामुख कृष्णबहादुर महराविरुद्ध लागेको करणी प्रयास मुद्दाको आइतबार सुनुवाइ गर्दै काठमाण्डौ जिल्ला अदालतका न्यायाधीश अम्बरराज पौडेलको इजलाशले स्वास्थ्य परीक्षण गर्ने चिकित्सक लगायत अन्य प्रमाणसमेत जुटाउन यस्तो आदेश दिएको हो ।
रोशनी शाहीको स्वास्थ्य परीक्षण थापाथलीस्थित प्रसुतिगृहका तीनजना डाक्टरको टोलीले गरेको थियो । काठमाण्डौ जिल्ला अदालतले मंसिरको अन्तिम सातादेखी नै मुद्दासँग जोडिएका व्यक्तिहरुको बकपत्र गराउन सुरु गरेको थियो ।
रोशनी स्वयंको, महराका सुरक्षाकर्मी, घटनाबारे सुरुमा जानकारी पाएका सांसद, घटनास्थल पुगेका व्यक्ति लगायतको बकपत्र भएपनि चिकित्सकको बाँकी रहेकाले प्रमाण बुझ्ने कार्यलाई सक्न अदालतले आदेश दिएको हो ।
जिल्ला अदालत काठमाण्डौंका अनुसार घटनास्थलमा मुचुल्का हस्ताक्षर गर्ने केही व्यक्तिरुको पनि बकपत्र गराउन बाँकी रहेकाले त्यसलाई पूर्णता दिन भनिएको छ । मंसिर २९ र ३० गते अदालत पुगेर महराले आफूमाथि करणी प्रयास नगरेको भन्दै शाही होस्टाइल भएकी थिइन् ।
सुरुमा महानगरीय प्रहरी वृत्त कोटेश्वरमा महराले तीनकुनेस्थित आफ्नो कोठामै आएर जबरजस्ती करणी प्रयास गरेको जाहेरी दिएकी शाहीले पछि बोलि फेर्दै आफूमाथि करणी प्रयास नभएको भन्दै प्रहरी कार्यालय र अदालतमा समेत निवेदन दिएकी थिइन् ।
तत्कालिन काठमाण्डौं जिल्ला न्यायाधीश सुर्दशनराज पाण्डेको एकल इजलासले महरालाई कात्तिक १८ गते पुर्पक्षका लागी थुनामा पठाएको थियो । जिल्ला अदालतको थुनछेक आदेश विरुद्धको पुनरावेदनको सुनुवाइ गर्दै उच्च अदालत पाटनले जिल्ला अदालतकै आदेश सदर गरेको थियो । आदेश सदर गर्दै उच्च अदालतले प्रमाण संकलन भएको एक महिनाभित्र मुद्दाको फैसला गर्न पुस ४ गते आदेश दिएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया