वैशाख २५, २०८१ मंगलबार May 7, 2024

भविष्यको फराकिलो क्षितिज- दीनानाथ शर्मा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कोरोनाभाइरस कोभिड १९ एक्काइसौँ शताब्दीको पूर्वाद्र्धमा वैश्विक महामारीको रूपमा फैलिँदैछ । अदृश्य दुश्मनले लाखौँ मानिसको ज्यान लिइसकेको छ । मानवजातिको विनाश गर्नसक्ने महामारीको रूपमा फैलिएको कोभिड १९ लाई पराजित गर्न विश्व मानवसमुदाय साझा सङ्कल्पका साथ अघि बढ्नुपर्ने आवश्यकता छ । सन् २०१९ को अन्त्यमा चीनको वुहानबाट सुरु भएको कोभिड १९ को वंश खोजी हुँदैछ । यसको उपचारविधि, औषधि र खोपको विकासको अनुसन्धानमा चिकित्सक र जीव वैज्ञानिक लागिपरेका छन् ।

इतिहासको विभिन्न कालखण्डमा सङ्क्रामक रोग आउने र मानवसंहार गरेर सुस्ताउने गरेका छन् । हैजा, बिफर, प्लेग, औलो, मलेरिया, टाइफाइड जस्ता रोगबाट हाम्रो समाज अछुतो छैन । म सानै छँदा बिफरको महामारी आयो । बिफरलाई माई भन्थे गाउँघरतिर । बिफरको लक्षण देखिएको व्यक्तिलाई गाउँबाट एकान्तमा सारिन्थ्यो । गाउँले उपचारबाट कति निको हुन्थे । बिफरबाट उत्रिएका कति विरूप ट्याके हुन्थे । बिफरबाट निको भएका पुरानो पुस्ताका केही मानिस अझै छन् । पछि बिफरको खोप आयो र यो रोग उन्मूलन भयो । त्यस्तै औलो पनि अहिले छैन । नुनतेलका लागि बटौली (बुटवल) गएकाहरूमध्ये उतै हैजा लागेर तीन जना एकै खेप भएको मैले बिर्सेको छैन ।

मानवजातिको विश्वव्यापी संहार दुई प्रकारले हुँदैछ । प्रथम मानव र मानवबीचको अन्तरविरोधबाट उत्पन्न विनाशकारी युद्धका कारण, दोस्रो मानिस र प्रकृतिबीच उत्पन्न अन्तरविरोधले पैदा गरेका डरलाग्दा प्राकृतिक प्रकोप र खतरनाक सङ्क्रामक महामारी रोगका कारण । विज्ञान र प्रविधिको विकासले एकातिर मानवजीवनलाई सहज, सुरक्षित र आरामदायी बनाएको छ भने अर्कोतिर मानव संहारको बाटो पनि फराकिलो बनाउँदै लगेको छ । शक्ति सञ्चयका लागि भएको आणविक हतियारको अस्वस्थ प्रतिस्पर्धाले मानव संहारको खतरा बढाएको छ भने प्राकृतिक स्रोत साधनको दोहन, अतिक्रमण र एकाधिकारका लागि भएको अस्वस्थ अति होडबाजीले पनि मानव संहारको खतरा बढ्दैछ । यी दुवै अतिका बीचबाट मानवसमुदायकै नाश गर्ने गरी नयाँनयाँ महामारी पैदा भएका छन् ।

युरोप र अमेरिकाको विकाससँगै नयाँनयाँ रोगहरू पनि देखा परे ती देशमा । चौधौँ शताब्दीको मध्यतिर पश्चिम र उत्तर युरोपमा कालो मुसा र झिँगाको महामारी फैलियो । १३४६ देखि ५० को बीच प्लेगले युरोपको सम्पूर्ण जनसङ्ख्याको एकतिहाई सखाप पार्यो । अमेरिकाको फिलाडेल्फियामा मच्छरद्वारा सङ्क्रमित ‘एलो फिबर’ले १७९३ मा एकैचोटी पाँच हजार अमेरिकीको ज्यान लियो । त्यो अफ्रिका, दक्षिण अमेरिका, केन्या र सेनेगलसम्म फैलियो । १९१९ मा बोलिभियामा पनि देखापर्यो । पौने शताब्दीमा विश्वमा ६५ लाख सङ्क्रमित भए र २५ लाखको ज्यान गयो । प्लेग र इबोलाजस्ता महामारीले पनि छोडेनन् विश्व मानव जातिलाई ।

नयाँनयाँ महामारीका विरुद्ध विजय प्राप्त गर्न औषधिविज्ञान र चिकित्साविज्ञानले नयाँ अनुसन्धान गर्दै गयो । त्यसैअनुसार औषधि र खोपको पनि विकास भएको छ । तर नयाँ अज्ञात सङ्क्रामक रोग देखापर्न छोडेको छैन ।

इतिहासको विभिन्न कालखण्डमा विकसित तथा अविकसित राष्ट्रहरूमा सङ्क्रामक रोगहरूले विभिन्न चरणमा लाखौँ करोडौँ जनताको ज्यान लिँदै आए पनि विश्वको कतिपय भूगोललाई त्यति बढी प्रभावित गरेका थिएनन् । तर यसपटक कोभिड १९ ले संसारका सम्पूर्ण देशलाई लपेटिसकेको छ । विशेषगरी संसारका विकसित र शक्तिसम्पन्न राष्ट्र अमेरिका र युरोपलाई बढी प्रभावित गरेको छ । आर्थिक र राजनीतिक वैश्विकरणसँगसँगै मानवजातिको दुश्मन सङ्क्रामक महामारीको पनि वैश्विक चरित्र प्रकट भएको छ । यो विज्ञान विपरीत छैन । डार्विनको विकासवादी सिद्धान्तको विपरीत छैन ।

अहिले विश्व आर्थिक सामाजिक र राजनीतिक रूपले दुई धु्रवमा विभाजित छ । समाजवाद चरणबद्ध विकासक्रममा छ । पुँजीवाद विकासको चरमोत्कर्षमा पुगको छ । जहाँ जति ठूलो विकास हुन्छ त्यही अनुपातमा विनाश पनि निश्चित छ । ०७२ को भूकम्पले सानो झुपडीलाई भन्दा अग्ला महललाई हल्लायो । जहाँ जति औषधिविज्ञानको विकास हुन्छ त्यसको विपरीत रोगले पनि त्यत्तिकै प्रतिरोधी क्षमताको विकास गर्छ । अहिले कोरोना भाइरसको वंशको खोजी हुँदैछ भनिएको छ । अहिलेसम्म विश्वमा देखापरेका भाइरसहरूको उन्नत र बढी प्रतिरोधी क्षमतासहितको शक्तिशाली जीवाणु हो कोरोना भाइरस भन्न सकिन्छ ।

बेलायती लेखक क्रिस पाटेनले अब के ? भन्ने पुस्तकमा लेख्नुभएको छ– कफ र हाच्छ्युँ बारेको निबन्धको एकठाउँमा ‘प्रत्येक मानिस र उनीहरूका शत्रुसँग फरकफरक विकासवादी रणनीति छ । मानिस धेरै बलियो र धेरै प्रतिरोधात्मक क्षमता भएको जीव हो । तर भाइरस र ब्याक्टेरियाहरूसँग गतिशील र अनुकूल क्षमता हुन्छ । तिनीहरूमा मानिसमा भन्दा क्रूरताका साथ प्रतिरोध गर्ने क्षमता छ ।’ हो, सङ्क्रमित रोगहरू समयसमयमा आँधी तुफान बनेर आउँछन् । जनसङ्ख्याको ठूलो भागलाई बढार्छन् । मानिसले त्यसका विरुद्ध उपचारविधि पत्ता लगाउँछ शमन गर्छ फेरि नयाँ रूपमा देखापर्छन् ।

कोभिड १९ जस्ता महामारीले विश्वका ठूला साना कसैलाई छोडेन । यो साझा दुश्मन हो । मानव जातिको साझा दुश्मनसँग लड्न संसारका सबै मानिसको साझा प्रयत्न आवश्यक छ । तर शक्तिराष्ट्रले आफ्नो राष्ट्रका जनताको जीवन रक्षाभन्दा पनि बजार अर्थतन्त्रलाई सबभन्दा बढी महत्व दिन्छ । कोरोनाबाट बच्न विश्व स्वास्थ्य सङ्गठनले गृहवन्दी (क्वारेन्टाइन) र सामाजिक पृथकीकरणको प्राथमिक सुझाव दियो । यो साम्राज्यवादी स्वार्थका प्रतिकूल भयो । मानिसलाई बलिवेदीमा चढाएर वैभव लुट्ने क्रूर र निर्दयी शासन सत्ताले मानवता र मानवजातिको जीवनरक्षा जस्ता संवेदनशील विषयलाई उपहास र उपेक्षा गर्छ । हतियारको व्यापार गरेर आयआर्जन गर्न विश्वमा युद्ध थोपर्नेहरूका लागि महामारीबाट दुई–चार लाख कामदार, आप्रवासीको ज्यान गएर केही फरक पर्दैन  ।

यो महामारी कहिलेसम्म नियन्त्रणमा आउने हो, थाहा छैन । तत्काल सजिलै शान्त हुने छाँटकाँट देखिँदैन । कोभिड १९ विरुद्धको युद्धमा मानव जातिले ठूलो मूल्य चुकाउनुपर्नेछ । पुराना सम्बन्ध धमाधम भत्कँदैछन् । पुराना सोच म्याद गुजे्रका तमसुक जस्तै हुँदैछन् । नयाँ विश्वव्यवस्थाको ढोका खुल्दैछ ।

विश्व कोरोनाको स्वतःस्फूर्त कैदी बनेको छ । संसारका शक्तिशाली देशमा तालाबन्दी गरिदियो अदृश्य दुश्मनले । मानिस घरबाहिर निस्कन र अरूको नजिक पर्न तर्सेको छ । कसको साथ लागेर कतिखेर कोरोना छिर्ने हो भन्ने सन्त्रास भएको छ सबैलाई । हाम्रा योजनाहरू भत्काइदिएको छ कोरोनाले ।

हामी बन्दी छौँ । हाम्रो चेतनाको आँखीझ्यालबाट उज्यालो भविष्यको फराकिलो क्षितिज देखिँदैछ । विश्व पुनर्निर्माणको चरणमा प्रवेश हुँदैछ । मानव जातिबीचको अस्वस्थ प्रतिस्पर्धा मेटिने चरणमा पुगेको छ । आग्रहको ओखती छैन । पुरानो आग्रह बोकेर बाँच्न सम्भव छैन । प्रकृतिसित समन्वय र तालमेल गर्दै ‘वसुधैव कुटुम्बकम्’ को शाश्वत नीति वचनको सत्यापन स्थापित हुँदैछ विश्वमा । उदात्त विचार र चौडा छाती हुनेले मात्रै विश्वको अगुवाइ गर्न सम्भव छ । समुद्र विशाल छ किनकि समुद्रले नदीहरूलाई निषेध गर्दैन । चोखो आत्मा चोरी गरेर समृद्ध कोही हुन सक्दैन ।

कोरोना महामारीले जति ठूलो क्षति पुर्याउने छ, महान अवसरका ढोकाहरू पनि खुल्नेछन् । विश्व समाजवादी अर्थराजनीतिको ढोका खुल्नेछ । मानिस एक अन्तर्राष्ट्रिय जाति हो र मानव जातिको रक्षाका लागि आपसमा झगडिएर होइन, हातमा हात मिलाएर अगाडि बढ्नुपर्छ भन्ने सन्देश दिएको छ कोभिड १९ले ।

मानव जातिको दुश्मन महामारी यसपटक वैश्विक चरित्र बोकेर उपस्थित भएको छ । आर्थिक, सामाजिक, राजनीतिक र वातावरणीय वैश्विकरणलाई वशीभूत गर्न त्यसै अनुसारको भाइरस विकास हुँदै गएको हो । मानव जातिको विनाश गर्न सक्छु भन्ने धक्कु लगाएर विश्वमा एकछत्र शासनसत्ता अक्षुण्ण राख्ने जैविक हतियारको भण्डारण गर्नेलाई वैश्विक महामारीले घुँडा टेकायो । विश्व मानव जातिको साझा घर हो र प्राकृतिक सम्पत्तिमाथि सबैको समान अधिकार छ । सबैले एकपेट खान र सुन्दर भविष्य निर्माणका लागि सामूहिक प्रयत्न अनिवार्य छ । सबै बाँचौँ, सबैलाई बचाउँ र मानवमात्रको साझा दुश्मनविरुद्ध विजय प्राप्त गर्न मानव मानवबीचको दुराग्रह र अन्तरविरोधलाई विसर्जन गर्ने समय आएको छ । विश्व कोरोना जस्तो महामारीको चपेटामा पटकपटक पर्नेछ भन्ने कुरा पनि हेक्का राख्नुपर्छ । कोरोना वैश्विकरण र समयको उपज हो । गोरखापत्र दैनिकबाट ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया