वैशाख २५, २०८१ मंगलबार May 7, 2024

जसले बसेको होटेलबाट उठाएर लग्यो, उसले पो अपहरण ग-यो होला ? – सर्वेन्द्र खनाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

डा. सुरेन्द्र यादवसँग तपाईंको सम्बन्ध कहिले देखिको हो ? 

म जनकपुरमा हुँदादेखिकै सम्बन्ध हो । उहाँ मन्त्री हुँदा पनि मलाई एकदम राम्रो मान्नुहुन्थ्यो । किनकि जनकपुरमा वा अन्यत्र बस्दा मैले जनताका लागि काम गरेको छु । कसैका दुःखमा काम गरेको छु । कसैले दुःख नपाओस् भन्नेमा छु ।

तपाईंको पुरानो सम्बन्ध रहेछ, तर अहिले यो लकडाउनको वेला अचानक त्यो पनि राजनीतिक दलका सांसदहरूलाई लिएर तपाईं महोत्तरी किन पुग्नुभयो ?

खासमा लकडाउनका वेला हामी भक्तपुरमा सामाजिक काम गर्दै थियौँ । भक्तपुरबाट यात्रुहरू बाहिर जाने क्रममा बसहरू घुइँचो लागेको, अनियन्त्रित अवस्था थियो । त्यस्तो देखेपछि स्थानीय प्रशासन र प्रहरीलाई खबर ग-र्यौँ, मिलाउन भन्यौँ । भक्तपुरको रोडमा बालबच्चाहरूको पनि बेहाल भएको अवस्था देखेपछि ‘भोलेन्टियर’ गर्ने, खाना खुवाउनेजस्ता काम गर्दै थियौँ । त्यही सन्दर्भमा डा. सुरेन्द्र यादवको कुरा चल्यो । अनि साथीहरूले सुरेन्द्र यादव भन्नेलाई तपाईंले नि चिन्नुभएको छ, केही कुरा गरौँ न त भनेर छलफल सुरु भयो । त्यहीबीचमा सुरेन्द्र यादवसँग फोनमा संवाद भयो । भेटेर गफ गर्न त मन छ, तर लकडाउनका वेला आउन अप्ठ्यारो छ भन्नुभयो । बरु, तपाईंहरू आउनुस् कुरा गरौँ भन्नुभयो । बाहिर जान लागेका यात्रुहरूका लागि स्थिति सहज बनाउँदै हामी त्यहाँ गएका हौँ । उहाँका पार्टीका नेताहरूबीच पटक–पटक कुरा भएको थियो । कति जना सांसद हो, कति पु-याउने भन्ने कुरा चलेको थियो । त्यो उहाँहरूको कुरा हो ।

तपाईंहरू जनकपुर कहिले जानुभयो ? कसरी यस्तो भयो ?

हिजो (बुधबार) बिहान ९ बजे हामी डा. यादवको घरमा पुग्यौँ । दिउँसो उहाँले विभिन्न परामर्श गर्नुभयो । डा. सूर्यनारायण यादवसँग पनि सल्लाह गर्नुभयो । त्यसपछि प्रमुख सचेतक उमाशंकर अरगरियासँग दुई–तीन घन्टा कुरा गर्नुभयो । हाँसीखुसी आउनुभएको हो । तर, बिहान त उहाँ अर्कै ठाउँमा गएर अपहरण गरेको भन्नेसम्मको कुरा आयो । उहाँको मनस्थितिमा के परिवर्तन भयो, थाहा छैन । हामीले बुझ्दा उहाँहरूको पार्टी र राजपा मर्ज भयो, अब फुट्नु उपयुक्त छैन भन्नेतिर लाग्नुभयो रे भन्ने गाइँगुइँचाहिँ सुनेका हौँ । तर, अपहरणमा परेको भन्ने गलत हो । अपहरणमा परेको मान्छे हो भने म्यारियट होटेलमा बस्छ ? अनि अपहरण गर्ने मान्छे घरमा आएर बस्छ ? जसले बसेको होटेलबाट उठाएर लग्यो, उसले पो अपहरण ग-यो होला त ।

तर, सरकारले अचानक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको छ । त्यहीवेला समाजवादी पार्टी फुट्ने गृहकार्य पनि भइरहेको छ । त्यसमा पनि समाजवादीका सांसदलाई रातारात काठमाडौं ल्याउन सत्तारुढ दलका सांसद किसन श्रेष्ठ र महेश बस्नेत महोत्तरी पुग्नुभयो । उहाँहरूको भूमिकालाई नेपाली राजनीतिले आफैँ मूल्यांकन गर्ला । तर, तपाईं त फौजी संगठन नेतृत्व गरेको मान्छे, तपाईं पनि त्यही खेलमा सहभागी हुनु त अनौठो भएन र ? 

म अहिले पुलिसमा बसिरहेको अवस्था पनि होइन, एउटा स्वतन्त्र नागरिक हुँ । फौजको हिसाबले त हिजो बसेँ, त्यसअनुसार हिजै काम गरेँ । अहिले त स्वतन्त्र नागरिक भएर आफ्नै किसिमले काम गरिरहेको छु । काम गर्न पाउँछु नि मैले पनि । मैले त सामाजिक काम न गरेको हो । मलाई राम्रो लागेको काम गर्न सक्छु, जुन समाजका लागि राम्रो हुन्छ । तर, फौजमा थियो रे भन्नुको के अर्थ ? नचाहिने काम गर्न गएको हो र ? गजब लाग्छ । निकै राजनीति गरेका, म ठूलै हुँ भन्नेहरू, विद्वान् हुँ भन्नेहरू चैँ कुन भाषामा बोल्दै हुनुहुन्छ ? भूपू प्रधानमन्त्री, के-के हुँदाखेरि कति कुरा गर्दै हिँड्नुभएन ? कोसँग कसरी काम गर्नुभयो, के-के गर्नुभयो सबैमा जगजाहेर छ नि । के पोलिटिकल डायलग (वार्ता) हुँदैनन् । मानौँ ल, म राजनीति नै गर्न गएँछु भने पनि मेरो अधिकार छैन ? उहाँहरू (महेश बस्नेत, किसन श्रेष्ठ) पनि राजनीतिक हिसाबले जानुभयो होला । उहाँहरूले पनि के बिगार्नुभएको छ त ?

तर, आफ्नै पार्टीभित्र असन्तुष्टि राख्ने, विद्रोह गर्ने र पार्टी फुटाउने पनि हुन्छ होला । तर, अर्काको पार्टी फुटाउन यति सक्रिय हुने कुरा लोकतन्त्रमा पनि गलत नै मानिन्छ । यो सब खेलका लागि सुरेन्द्र यादवलाई काठमाडौं ल्याउन लागिएको हो भन्ने ज्ञान तपाईंलाई थिएन र ? 

मलाई त्यहाँसम्म थाहा थिएन । तपाईंलाई ‘भेरी अनेस्ट’ भन्दा कुन पार्टीका भन्ने पनि त्यति ख्याल गर्ने मान्छे होइन । तर, जनकपुरमा बस्दा काम गरेको हिसाबले त्यहाँ धेरैले मलाई मान्छन् । जो प्रदेश सांसद आउनुभयो, उहाँले पनि दाइ नै भन्नुहुन्थ्यो । असाध्यै रिगार्ड (आदर) गर्नुहुन्थ्यो । मेरो रोलमोडल हो, नेपालको हिरो, के–के भन्नुहुन्थ्यो । तपाईं आउँदा खुसी लाग्यो भन्नुभयो । उहाँ (डा. सुरेन्द्र)लाई चित्त बुझेन भने त बालिग मान्छे, मन्त्री भइसकेको मान्छे ठीक लागेन जान्नँ भन्न सक्नुहुन्थ्यो नि ।

सामाजिक कामका लागि गएका थियौँ भन्नुभयो, कतिजना मान्छेलाई उद्धार गर्नुभयो त भनेर पनि प्रश्न गर्न सकिन्छ नि । 

हेर्नुस्, मान्छे गन्दै हिँड्ने कुरा होइन । भक्तपुरमा धेरै बस थिए, जाम थियो, केटाकेटी पनि थिए । मैले एसपीलाई पनि टेलिफोन गरेँ । जाम छ, मान्छेको भीड छ, हेर्दिनुप-यो भनेँ । उहाँ (महेश बस्नेत) को पनि संसदीय क्षेत्र भयो । यी सन्दर्भ जोडिँदै गएपछि ती कुराहरू आए, त्यत्ति हो । तर, उहाँहरूले जसरी नचाहिने कुरा बोल्नुभएको छ, म पनि राम्रैसँग बोल्छु । म नागरिक हो नि । जथाभावी बोलेर आरोप लगाउने ? मनपर्दी बोल्न पाइन्छ ? त्यही भएर त मुलुक बिग्रेको त । यो सपार्नुपर्छ भन्ने हो ।

यातायातको अव्यवस्था छ, जाम लागेको छ भने त तपाईंले एक जिम्मेवार नागरिकको रूपमा ट्राफिक अथवा प्रहरी नेतृत्वलाई सिकायत गर्ने होला, कि आफैँ फिल्डमा जाने हो ?

भूपू आइजिपीले अब कुरै गर्न हुन्न, वहालवाला एसपीलाई भन्नै हुन्न भन्ने हो भने त अर्कै कुरा भयो । होइन नागरिकको दुःखको विषयमा कुरा भनियो, जे गर्न सकिन्छ स्थानीय प्रशासनले ग-यो । त्यसपछि अलि खुला पनि भयो, मान्छेलाई जान पनि सजिलो भयो । तलसम्म हेर्दै पनि गयौँ । आफैँ गएर काम गर्छु खुलाउँछु भन्ने होइन, तर अहिलेको अवस्था हेर्दा नियमभित्र बसेर मोनिटरिङ गर्ने भन्ने त हुन्छ नि ।

तपाईं अख्तियारको आयुक्त हुने भन्ने चर्चा छ, त्यसका लागि प्रधानमन्त्रीलाई गुन लगाउन तपाईं यसरी खटिनुभयो भन्ने छ नि ?

कतिलाई रमाइलो लाग्यो होला । डर पनि होला । कसरी आयो अख्तियारको आयुक्त हुने भन्ने कुरा ? यस्तो हुन्छ भनेर आफैँ अनुमान गर्नेहरू छन् । अब सर्वेन्द्र त अख्तियारको आयुक्त हुन्छ कि भनेर त्यसको विरुद्धमा लाग्नेहरू होलान् । म कता जान्छु, केमा जान्छु, के इच्छा छ, सबै उहाँहरूलाई भन्दै जानुपर्ने ? उहाँहरूले नै सबै कुरा सोचे भयो त । उहाँहरूको विषयमा त मैले सोचेको छैन । होला, सर्वेन्द्र केही बन्दै छ रे, त्यसैले ग-यो रे । के मेरा चाहना हुँदैनन् ? मैले प्रधानमन्त्रीज्यूलाई राम्रो छ भने राम्रो भन्न पाउँदिनँ । मुलुकमा कुनै काम भएको छ भने राम्रो भएको छ भन्न पाउँदिनँ ? त्यो अधिकार छैन ? उहाँहरूले जे पनि मनपर्दी भन्न पाउने, मैले राम्रो पनि भन्न नपाउने ?

तर, यस्तो घटनामा नाम जोडियो, यसले तपाईंको व्यक्तित्वमा क्षति पुर्‍यायो अथवा झन् बलियो बनायो, के छ तपाईंको आत्ममूल्यांकन ? 

नाम जोडियो होइन, जोडदियो । जोडदिनेले नचाहिने गर्‍यो नि । म नागरिकको सेवामा समर्पित हुन्छु । भूमिका मलाई केही छैन । कसैको लोभलालच होइन । कसैले तर्साउनुपर्दैन । मेरो आफ्नो किसिमले काम गर्दै जाने हो । भोलि मैले कुनै राजनीति गरौँ कि, सामाजिक काम गरौँ कि, कतै नियुक्ति नै लिएर जाऊँ कि, त्यसमा अरूले साह्रै टाउकै दुखाएर हिँड्नुपर्छ जस्तो मलाई लाग्दैन । मैले अहिलेसम्म गरेको कामको हिसाबले यसो गरौँ, यसो गर्दा होला भन्ने सल्लाह सुझाब छ भने लिन्छु ।

निर्मला पन्तलाई बलात्कार गरेर हत्या गर्नेलाई समात्न पो गाह्रो, सांसदलाई पकडमा ल्याउन त सजिलो छ भनेर तपाईंको विषयमा सामाजिक सञ्जालमा टिप्पणी भएको छ, त्यो हेर्नुभएको छ ? 

ल हेर्नुस् त, कस्तो वाहियात ! कति घटनामा अपराधी समातेँ मैले, थाहा छ ? कस्ता घटनामा ज्यान जोखिममा राखेर काम गरेँ, हेर्नुभएको छ ? मुलुकमा संकट पर्दाको अवस्थामा कसरी काम गरेको छु, चाहे संविधानसभा, चाहे दुई-दुईवटा वार्ताका क्रममा । हेर्नुस् न अब धेरै कुरा भन्दै जान्छु । कसका लागि गरेको थिएँ त त्यो ? हामी सबैको लागि थिएन ? मैले कसैको केही खाएको होला त ? अपराधीसँग भिड्दै कसका लागि गएको थिएँ त ? म के पूर्वराज्यमन्त्रीजीलाई समात्न गएँ ? त्यस्तो सहृदय साथी भनिरहेको छु । रमाइलो कुरा होइन नि यो त । उहाँहरू राजनीति गर्नुहुन्छ त राजनीतिको होला नि एउटा पाटो । म त त्यो पनि निष्ठाको राजनीति हुनुपर्छ भन्ने मान्छे हो । भन्नुहुन्छ भने भोलि राजनीतिमा गएको अवस्थामा पनि त्यही कुरा गरेर जाने हो । नयाँपत्रिका बाट ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया