जेठ ६, २०८१ आइतबार May 19, 2024

भारतबाट एक लाख मजदुर नेपाल भित्रने तयारीमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः भारत सरकारले लकडाउनकै बीचमा मंगलबारदेखि रेलसेवा सञ्चालन गरेलगत्तै भारतका विभिन्न राज्यमा रोजगारीका लागि गएका झन्डै १ लाख मजदुरले नेपाल भित्रने तयारी गरेका छन् । सम्भवतः दुई-तीन साताभित्र उनीहरू नेपाल आउन सक्ने जनाइएको छ ।

उनीहरू नेपाल भित्रिएसँगै सरकारले बोर्डर क्षेत्रमा व्यवस्थित क्वारेन्टाइन र आइसोलेसनको व्यवस्था गर्न नसकेमा नेपालमा कोरोना भाइरसको संक्रमण भयावह हुन सक्ने चिकित्सकले बताएका छन् । भारतले आफ्ना विभिन्न राज्यमा १५ वटा रेलसेवा सञ्चालनमा ल्याएको छ । विशेषगरी, नेपाली मजदुर र आफ्नै देशका मजदुरलाई घर फर्काउन भारतले रेलसेवा सुरु गरेको हो । भारतमा कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढ्दै गइरहेको छ ।

नेपालका विभिन्न जिल्लाबाट भारतका उत्तर प्रदेश, विहार, उडिसा, गुजरात र महाराष्ट्रमा रोजगारीका लागि गएका नेपाली मजदुरले स्वदेश फर्कन लखनउ र नेपालनजिक पर्ने विभिन्न स्थानसम्मको टिकट बुकिङ गर्न थालेका छन् । गुजरातको अन्दाबादमा रहेका नेपाली मूलका चिकित्सक डा. सागर विश्वकर्माका अनुसार भारतले केही समयका लागि रेलसेवा खुलाएलगत्तै धेरै नेपाली स्वदेश फर्कने तयारीमा छन् ।

कोरोना भाइरससम्बन्धी अध्ययन गरिरहेका नेपाली चिकित्सक डा. रमेशकुमार आचार्यले भारतबाट तीन साताभित्रमा १ लाख मजदुर नेपाल भित्रने तयारी गरिरहेको बताए । उनले स्वदेश फर्कन खोज्ने ती नेपाली मजदुरलाई सीमा क्षेत्रमा नै क्वारेन्टाइन र आइसोलेसन बनाएर व्यवस्थापन गर्न नसकिएमा नेपालमा संक्रमणको दर भयावह रूपमा बढ्ने बताए । अहिले नेपालमा कोरोना भाइरसको संक्रमण अत्यधिक रूपमा बढिरहेको छ । पछिल्लो समयमा भारतीय नाका क्षेत्रमा नै संक्रमण भएका व्यक्तिको संख्या बढेको छ ।

डा. आचार्यले नेपाल सरकारले अहिलेदेखि नै भारत सरकारसँग समन्वय गरेर नेपाल फर्कन खोज्नेहरूको अद्यावधिक विवरण लिएर व्यवस्थापनको तयारी थाल्नुपर्ने बताए । डा. आचार्यका अनुसार नेपाल फर्कन खोज्ने ती सबै मजदुर बिना परीक्षण नेपाल आएमा अत्यधिक जोखिम बढ्नेछ । उनीहरूले भारतबाट भाइरसको संक्रमण लिएर फर्केको हुन सक्ने भएकाले विशेष सतर्कता अपनाएर उनीहरूलाई निर्बाध रूपमा प्रवेश गर्न दिन नहुने डा. आचार्यले बताए ।

सरकारले भने विषयमा खासै तयारी गरेको छैन । भारतबाट नेपाली सीमामा आएका नेपालीलाई भारत सरकारले नै क्वारेन्टाइनमा राख्ने र नेपालबाट भारत जान लागेका भारतीयलाई नेपालकै क्वारेन्टाइनमा राख्ने गरी दुई देशबीच सहमति भएको थियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सहसचिव वसन्त अधिकारीले यसअघि दुई देशबीच भएको सहमतिअनुसार नेपालको नाकामा आएका नेपालीलाई भारत सरकारले नै क्वारेन्टाइनमा राख्नुपर्ने बताए । तर, भारतको रेलसेवा सुरु भएसँगै नेपाल फर्कने तयारीमा रहेका भनिएको नेपालीबारे कुनै योजना नबनेको सहसचिव अधिकारीले बताए ।

‘यो गम्भीर विषय हो । त्यसरी नेपालीहरू फर्कने अवस्था आएमा सरकारले उचित व्यवस्थापन गर्नैपर्छ । यसबारे अब हामी गम्भीर छलफल थाल्ने छौं,’ मन्त्रालयका प्रवक्ता अधिकारीले भने । राजधानी दैनिकबाट ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया