श्रावण १४, २०८३ बिहिबार July 30, 2026

भारतबाट एक लाख मजदुर नेपाल भित्रने तयारीमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः भारत सरकारले लकडाउनकै बीचमा मंगलबारदेखि रेलसेवा सञ्चालन गरेलगत्तै भारतका विभिन्न राज्यमा रोजगारीका लागि गएका झन्डै १ लाख मजदुरले नेपाल भित्रने तयारी गरेका छन् । सम्भवतः दुई-तीन साताभित्र उनीहरू नेपाल आउन सक्ने जनाइएको छ ।

उनीहरू नेपाल भित्रिएसँगै सरकारले बोर्डर क्षेत्रमा व्यवस्थित क्वारेन्टाइन र आइसोलेसनको व्यवस्था गर्न नसकेमा नेपालमा कोरोना भाइरसको संक्रमण भयावह हुन सक्ने चिकित्सकले बताएका छन् । भारतले आफ्ना विभिन्न राज्यमा १५ वटा रेलसेवा सञ्चालनमा ल्याएको छ । विशेषगरी, नेपाली मजदुर र आफ्नै देशका मजदुरलाई घर फर्काउन भारतले रेलसेवा सुरु गरेको हो । भारतमा कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढ्दै गइरहेको छ ।

नेपालका विभिन्न जिल्लाबाट भारतका उत्तर प्रदेश, विहार, उडिसा, गुजरात र महाराष्ट्रमा रोजगारीका लागि गएका नेपाली मजदुरले स्वदेश फर्कन लखनउ र नेपालनजिक पर्ने विभिन्न स्थानसम्मको टिकट बुकिङ गर्न थालेका छन् । गुजरातको अन्दाबादमा रहेका नेपाली मूलका चिकित्सक डा. सागर विश्वकर्माका अनुसार भारतले केही समयका लागि रेलसेवा खुलाएलगत्तै धेरै नेपाली स्वदेश फर्कने तयारीमा छन् ।

कोरोना भाइरससम्बन्धी अध्ययन गरिरहेका नेपाली चिकित्सक डा. रमेशकुमार आचार्यले भारतबाट तीन साताभित्रमा १ लाख मजदुर नेपाल भित्रने तयारी गरिरहेको बताए । उनले स्वदेश फर्कन खोज्ने ती नेपाली मजदुरलाई सीमा क्षेत्रमा नै क्वारेन्टाइन र आइसोलेसन बनाएर व्यवस्थापन गर्न नसकिएमा नेपालमा संक्रमणको दर भयावह रूपमा बढ्ने बताए । अहिले नेपालमा कोरोना भाइरसको संक्रमण अत्यधिक रूपमा बढिरहेको छ । पछिल्लो समयमा भारतीय नाका क्षेत्रमा नै संक्रमण भएका व्यक्तिको संख्या बढेको छ ।

डा. आचार्यले नेपाल सरकारले अहिलेदेखि नै भारत सरकारसँग समन्वय गरेर नेपाल फर्कन खोज्नेहरूको अद्यावधिक विवरण लिएर व्यवस्थापनको तयारी थाल्नुपर्ने बताए । डा. आचार्यका अनुसार नेपाल फर्कन खोज्ने ती सबै मजदुर बिना परीक्षण नेपाल आएमा अत्यधिक जोखिम बढ्नेछ । उनीहरूले भारतबाट भाइरसको संक्रमण लिएर फर्केको हुन सक्ने भएकाले विशेष सतर्कता अपनाएर उनीहरूलाई निर्बाध रूपमा प्रवेश गर्न दिन नहुने डा. आचार्यले बताए ।

सरकारले भने विषयमा खासै तयारी गरेको छैन । भारतबाट नेपाली सीमामा आएका नेपालीलाई भारत सरकारले नै क्वारेन्टाइनमा राख्ने र नेपालबाट भारत जान लागेका भारतीयलाई नेपालकै क्वारेन्टाइनमा राख्ने गरी दुई देशबीच सहमति भएको थियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सहसचिव वसन्त अधिकारीले यसअघि दुई देशबीच भएको सहमतिअनुसार नेपालको नाकामा आएका नेपालीलाई भारत सरकारले नै क्वारेन्टाइनमा राख्नुपर्ने बताए । तर, भारतको रेलसेवा सुरु भएसँगै नेपाल फर्कने तयारीमा रहेका भनिएको नेपालीबारे कुनै योजना नबनेको सहसचिव अधिकारीले बताए ।

‘यो गम्भीर विषय हो । त्यसरी नेपालीहरू फर्कने अवस्था आएमा सरकारले उचित व्यवस्थापन गर्नैपर्छ । यसबारे अब हामी गम्भीर छलफल थाल्ने छौं,’ मन्त्रालयका प्रवक्ता अधिकारीले भने । राजधानी दैनिकबाट ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिँदै
२०८३ श्रावण १४, बिहिबार
‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक’ स्वीकृत
२०८३ श्रावण १४, बिहिबार
दूरसञ्चार सेवा सुधार र सार्वजनिक सञ्चार संस्थाको पुनःसंरचनामा जोड
२०८३ श्रावण १४, बिहिबार
सद्भाव र भ्रातृत्व जोगाउन सबै पक्षलाई राष्ट्रपति पौडेलको आग्रह
२०८३ श्रावण १४, बिहिबार
धनुषामा शुक्रबार सबै निजी विद्यालय बन्द, कर्फ्युका कारण पठनपाठन स्थगित
२०८३ श्रावण १४, बिहिबार
सामाजिक सद्भाव कायम राख्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह
२०८३ श्रावण १४, बिहिबार
हिंसा र विभाजनको राजनीति रोक्न ओलीको सबै पक्षलाई आह्वान
२०८३ श्रावण १४, बिहिबार