नेपाललाई साक्षर मुलुक बनाउने एउटा ऐतिहासिक संकल्प सरकारले गरेको छ । चेतना एवं जागरण फैलाएर समाजको प्रगतिशील रूपान्तरणका लागि चालिएको यो महत्वपूर्ण कदम हो । विद्वानहरूको एउटा भनाई छ कि कम्युनिष्टका कारणले नै विश्वमा अहिले यो स्तरको साक्षरता र शिक्षाको विकास भएको हो । कारण के हो भने कम्युनिष्टहरू आमूल सामाजिक रूपान्तरणको पक्षमा हुन्छन् र त्यस्तो समाज निर्माणका लागि आमनागरिक चेतनशील, जागरुक, स्वाभिमान, संघर्षशील र प्रगतिशील आचरणले युक्त हुनुपर्दछ । नत्र समाजको प्रगतिशील रूपान्तरण संभव छैन । त्यसकारण गुणस्तरीय शिक्षाको माध्यमबाट जागरुक नागरिक तयार पारी समाज परिवर्तनको अभियानलाई सशक्त र निर्णायक बनाउन सकिन्छ भन्ने दृष्टिकोण भएकाले नै विश्वभरका कम्युनिष्टहरूले शिक्षामा आमूल परिवर्तन चाहन्छन् । हुन पनि जहाँ कम्युनिष्ट पार्टीले शासनसत्ता चलायो र चलाइरहेको छ त्यहाँ शिक्षाक्षेत्रलाई प्राथमिकतामा पार्दै शिक्षालाई सबैको पहुँचमा पुर्याएको सजिलै देख्न र बुझ्न सकिन्छ ।

शिक्षालाई सस्तो र सर्वशुलभ पारेर शिक्षाको विकास गरी मुलुकमा चाहिने गुणस्तरीय जनशक्ति तयार पार्नु, सामाजिक न्याय र समानतामा आधारित समाज व्यवस्था स्थापनार्थ शिक्षा विकासमा केन्द्रित हुनु, वैज्ञानिक, जनमुखी र रोजगारमूलक शिक्षा प्रवद्र्धन गरी कृषिको आधुनिकीकरण एवं व्यवसायीकरण तथा औद्योगीकरण मार्फत मुलुकलाई आत्मनिर्भर र समृद्ध मुलुक बनाउन लोकतान्त्रिक विधिबाट कम्युनिष्ट सरकारले अग्रसरता लिनु सराहनीय कार्य हो । यो समाजवादउन्मूख अर्थतन्त्र निर्माणका लागि लिइएको महत्वपूर्ण कदम हो ।

यो वास्तविकता नै हो कि प्रत्येक देश र समाजमा अत्यधिक चासोसहित गोष्ठी, छलफल, अन्तरक्रिया र बहस गरिने विषयहरूमध्ये शिक्षा पनि एक हो । घर, विद्यालय, विश्वविद्यालय, सरकारी, गैर सरकारी र अन्तर्राष्ट्रिय गैर सरकारी संस्था सर्वत्र नै शिक्षा विस्तार बारेमा चर्चा र विमर्श हुन्छ । संसारमा धेरै संघसंस्थाहरूशिक्षाको विकास तथा विस्तार कसरी गर्न सकिन्छ भनेर अध्ययन अनुसन्धान गर्दै शैक्षिक उन्नयनका लागि क्रियाशील भइरहेका छन् । यसबाट के स्पष्ट हुन्छ भने शिक्षा समाजका निम्ति नभइ नहुने अतिआवश्यक विषय हो । त्यति ठूलो बहसको विषय हुँदा हुँदै पनि धेरै देशहरूमा आजसम्म सही र गुणस्तरीय शिक्षा प्राप्त हुनसकिरहेको छैन । फलस्वरूप ती देशहरू सुखि, सभ्य र समृद्धितर्फ दू्रतरूपमा उन्मुख बन्न सकिरहेका छैनन् । तर जुन देशमा शिक्षा क्षेत्रमा बढि जोड दिइयो र त्यसको कार्यान्वयन भयो त्यहाँ महिला हिंसा, सामाजिक विकृति विसंगति र छुवाछुत न्यूनीकरण हुँदै विकासको गतिलाई तिब्रता दिन सफलता मिलेको छ । कुनै आग्रह वा पूर्वाग्रह नराखी विश्लेषण गर्ने हो भने कम्युनिष्टहरुले शासनसत्ता संचालन गरिरहेका चीन, भियतनाम, क्युवाजस्ता समाजवादी मुलुकको शिक्षा तथा स्थास्थ्यको अवस्था राम्रो छ भने पूर्व समाजवादी मुलुकहरु रसिया, जर्मनीजस्ता मुलुकहरुमा पनि स्वास्थ्य तथा शिक्षाको अवस्था धेरै उन्नत रहेको छ ।

त्यसो त मानव सभ्यताको प्रारम्भदेखि नै शिक्षाको शुरुवात भएको हो । मानिस जन्मेपछि जीवनका विभिन्न चरणहरू पार गर्दैर सामाजिक क्रियाकलापमा सहभागि हुँदै अघि बढ्छ । मान्छे सामाजिक वातावरणमा सहभागी हुने प्रक्रियाबाट नै शिक्षा विकासको युग सुरु भएको हो । व्यक्तिलाई जन्मदेखि मृत्युसम्मका सजिला र अप्ठ्यारा दुबै प्रकृतिका घटनाहरूले उपयुक्त पाठ सिकाउँदै अघि बढ्न सक्ने प्रक्रियालाई नै शिक्षा भनिन्छ । मानिस जन्मेपछि घर–परिवार, समाज तथा समुदाय र विभिन्न वातावरणबाट नयाँ–नयाँ कुराहरू सिक्दै, ज्ञान आर्जन गर्दै, समाजमा घुलमिल हुँदै र अनुभव साटासाट गर्दै अगाडि बढ्छ । मानव मस्तिष्कले पनि उसको क्षमता र दक्षताका आधारमा वास्तविकताको खोजी गर्ने क्रममा औपचारिक शिक्षणसंस्थाहरूको विकास गर्दै ज्ञान लिने र दिने प्रक्रियालाई व्यवस्थित गर्दै गयो । यसकै आधारमा विभिन्न तहका शिक्षण संस्थाहरूको जन्म र विकास हुँदै गयो ।

शिक्षाले आमनागरिक एवं श्रमशक्तिमा सीप र ज्ञानको विकास गराउँछ । त्यसैले शिक्षामा गरिएको लगानी भनेको मानव पूँजीमा गरिएको लगानीको रूपमा लिने गरिएको छ । हुनत शिक्षामा लगानीको प्रश्नबारे विभिन्न दृष्टिकोणहरू समेत छन् । तर पनि शिक्षामा राज्यको लगानीलाई प्राथमिकता दिनु पर्दछ भन्ने विषयले स्थान पाउँदै आएको छ । शिक्षामा गरिएको लगानी कहिल्यै खेर जाँदैन यद्यपि यसको प्रतिफल प्राप्त गर्न केही समय लाग्छ । अब्राहम लिंकन भन्छन् – एउटा पुस्तामा कक्षा कोठाको दर्शन अर्को पुस्तामा सरकारको दर्शन हुनेछ । यस भनाइले शिक्षाको बहुआयामिक महत्वलाई स्पष्ट पार्दछ ।

शिक्षा आर्थिक बृद्धि, रोजगारी र आयआर्जनको महत्वपूर्ण आधार भएकाले पनि सरकारले बढि जोड दिनु परेको हो । शिक्षाले असल छिमेकी बनाउँछ र नागरिकको सामाजिक तथा राजनीतिक जीवनलाई स्वस्थ्य र अर्थपूर्ण तुल्याउँछ । शिक्षाले अर्थतन्त्रमा प्राविधिक परिवर्तन ल्याउँछ । उच्च शिक्षाले अनुसन्धानमा जोड दिन्छ । यसबाट नवप्रवर्तनतर्फको यात्रालाई सहज तुल्याउँछ । यसले उत्पादकत्व बढाउँछ र अन्ततः समाजलाई समृद्ध तुल्याउँछ । शिक्षाले स्वास्थ्य र पोषण बढाउन भूमिका खेल्दै बालबालिकालगायत सबै नागरिकको शारीरिकएवं बौद्धिक विकासमा महत्वपूर्ण योगदान पु¥याउँछ । प्राथमिक र माध्यमिक तहको शिक्षा देशको आर्थिक विकाससँग प्रत्यक्ष सम्बन्धीत नभए पनि प्राविधिक, व्यावसायिक र उच्च शिक्षा आर्थिक समृद्धिका लागि महत्वपूर्ण हुन्छ ।

शिक्षा मान्छेको दिमागलाई खुल्ला, तीक्ष्ण र चिन्तनशील बनाउने महत्वपूर्ण माध्यम हो । अनेकौँ विषयमा विश्लेषण गर्न सक्षम बनाउने, नैतिक मूल्य-मान्यता सिकाउने, उपयुक्त दृष्टिकोण बनाउन मद्दत गर्ने र सामाजिक नैतिकता तथा शिष्टाचार सिकाउने सशक्त र प्रभावकारी माध्यम शिक्षा नै हो । शिक्षाले मानिसलाई नयाँ-नयाँ तथ्य र सूचनाहरूको खोजी तथा अनुसन्धानतर्फ उन्मुख हुने प्रेरणाका साथै त्यसका लागि आवश्यक सीप र दक्षता पनि प्रदान गर्दछ । मानिसले शिक्षा औपचारिक तथा अनौपचारिक दुबै माध्यमबाट हासिल गर्न सक्दछ । शिक्षालयबाट अर्थात् विद्यालय र विश्वविद्यालयबाट निश्चित तह र विषयको शिक्षा लिने प्रक्रियालाई औपचारिक शिक्षा भनिन्छ भने यसदेखि बाहेकलाई अनौपचारिक शिक्षा भनेर बुझ्नुपर्ने हुन्छ । सही शिक्षा प्रणालीको अभावमा गुणस्तरीय मानव जीवन हासिल हुन सक्दैन । त्यसैले शिक्षाको महत्वलाई राम्रोसँग बुझेका राष्ट्रहरूले उपयुक्त शिक्षा व्यवस्था तर्जूमा गर्न अग्रसर हुन्छन् ।

शिक्षा त्यस्तो प्रक्रिया हो जसले व्यक्तिलाई आफ्नो आदर्श अनुरूप निश्चित लक्ष्य हासिल गर्न, ज्ञान उपार्जन गर्न र व्यवहारमा सामयिक परिवर्तन ल्याउनका साथै समायानुकूल समायोजन हुन सहयोग गर्दछ । त्यसैगरी शिक्षा ज्ञानको त्यस्तो सशक्त माध्यम र साधन हो जसले व्यक्ति, समाज र राष्ट्रलाई विकसित र व्यवहारिक बनाउन सहयोग गर्दछ । व्यक्तिलाई सबै किसिमको बन्धनबाट मुक्त पार्ने एउटा सशक्त माध्यम पनि सही शिक्षा नै हो । शिक्षाले व्यक्तिलाई गलत कुराको बिरुद्धमा संघर्ष गर्न र असल कुराको पक्षमा निर्धक्कसँग आफ्नो मत प्रकट गर्न सिकाउँछ । शिक्षा भनेको त्यो हो जो वास्तवमा शिक्षण संस्थापछिको जीवनलाई पनि सहज बनाउन सकोस् । शिक्षाको लक्ष्य भनेको देशको सामाजिक, आर्थिक तथा साँस्कृतिक विकास नै हो । शिक्षाले मानवीय जीवनलाई सुखी र समृद्धितर्फ उन्मुख गराउँदै राष्ट्रलाई आत्मनिर्भर बनाउँछ र राष्ट्रिय पहिचान विस्तार र सुदृढ पार्दछ । यही भएर कम्युनिष्टहरूले शैक्षिक विकासमा जोड दिँदै आएका हुन् ।

शिक्षाको महत्वका बारेमा शुरुदेखि नै कम्युनिष्टहरूले अत्यन्त सजग र सचेत बनिकन यसको विस्तार र विकासको निम्ति व्यापक पहल गरेको पाइन्छ । कम्युननिष्टहरूलेशिक्षालाई सधैँ श्रम र रोजगारीसँग जोड्न कोशिस गरेको देखिन्छ । किनकी शिक्षाको विस्तार र विकासले सामाजिक परिवर्तनको अभियानलाई सहज तुल्याउँछ र समाजलाई समुन्नत बनाउँछ भन्ने मान्यता कम्युनिष्टहरूमा रहेको छ । शिक्षा विस्तार एवं विकास प्रक्रियाको अभियानलाई प्राथमिकताका साथ अगाडि बढाउनु कम्युनिष्टहरूले आफ्नो युगिन दायित्व र आदर्श ठान्ने गरेका हुन् । त्यसैले आफू सत्तामा पुग्नासाथ कम्युनिष्टहरूले ठूलो महत्व दिइकन शिक्षणसंस्थाको सुदृढीकरणसहित शिक्षा विस्तारका लागि प्रयास गर्न पछि पर्दैनन् । वर्तमान सरकार त्यही दिशामा अग्रसर बनेको छ र यो नै दूरदृष्टियुक्त धारणा र व्यवहार पनि हो । चक्रपथबाट ।