जेठ १, २०८१ मंगलबार May 14, 2024

ओलीको मनोवैज्ञानिक मार्गचित्र- विष्णु सापकोटा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपाली राजनीतिका निरंकुश र लोकतान्त्रिक कालखण्ड दुवैले यसअघि नै थरीथरीका प्रधानमन्त्री दिई नै सकेका थिए । भ्रष्टाचार, अकर्मण्यता, निरंकुशताजस्ता प्रवृत्तिका आरोप त विगतका धेरै प्रधानमन्त्रीलाई लागेकै थियो ।

तर, दोस्रोपटक प्रधानमन्त्री भएर पनि साढे दुई वर्ष कटाइसकेका केपी ओलीको शासकीय शैली र प्रवृत्तिप्रति धेरै नेपालीको मनमा आक्रोश त छँदै छ, त्योसँगै एउटा कौतूहल पनि जागेको आभास हुन्छ । आफूलाई मन नपर्ने हरेक कुरा र व्यक्तिलाई ‘उडाउन’ आफैं अघि सर्ने, दुनियाँको हरेक विधाको ज्ञानको सुरुआत र अन्त्य नै आफैंमा हुन्छ जस्तो सोच्ने, हरेक गम्भीर मुद्दामा उडन्ते कथा भन्न सक्ने तर पनि महिनौंसम्म पार्टीको बैठकसम्म नबसालीकन टिकिराख्न सक्ने- साँच्चै यी ओली कस्ता मान्छे हुन् ?

नेपालको ‘राष्ट्रवाद’ ले खोजेको प्रधानमन्त्री यस्तै हो त, जो कोरोना भाइरस के हो र यसबाट बच्न के गर्नुपर्छ भनेर विश्व स्वास्थ्य संगठनलाई नै विज्ञ सल्लाह दिने (दुः)साहस राख्छन् ? एकताका नाममा पार्टी दर्ता गराइदिने कामबाहेक महाधिवेशनको त चर्चा पनि गर्नु नपर्ने । केन्द्रीय समिति भन्ने संरचना छ कि छैन, धेरैले बिर्सिसके, स्थायी समितिको बैठक बस्यो भने बैठक बस्ने कुरा नै समाचार बन्न योग्य हुन्छ । सम्पूर्ण पार्टी र सरकार भनेकै एक व्यक्तिजस्तो भएको यस्तो स्थितिमा के होला त ओलीको आगामी दिनका लागि मनोवैज्ञानिक मार्गचित्र ?

नेकपा पार्टीभित्र आफू एकछत्र हुन, उनकै सहपाठीका शब्दमा भन्दा, जस्ता ‘फन्डा’ पनि गर्न सक्ने मात्र होइन, सांसद र विपक्षीदेखि आफूलाई प्रश्न गर्ने हरेक व्यक्तिलाई व्यक्तिगत रूपमै ‘उडाउन’ आफैं प्रत्यक्ष तम्सने प्रधानमन्त्री सायद ओली नै पहिलो होलान् । सम्पूर्ण दुनियाँको ज्ञानको सुरुआत आफूले जानेको कुराबाट हुन्छ र प्रत्येक ज्ञानको अन्त्य आफूले जे जानेको छैन, त्यही विन्दुमा हुन्छ भन्ने अनौठो आत्मानुभूति भएका ओलीका अगाडि निकटको राजनीतिका सबैभन्दा ठूला खेलाडी भनिएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि कायल भएको सार्वजनिक रूपमै अनुभव गर्न सकिन्छ । यस्तै कारणले होला, जसले सार्वजनिक जीवन बिताएकै तीस वर्ष भइसक्यो, उसका बारेमा ‘यी मान्छे खास कस्ता हुन्’ भनेर उनका पहिलेका सहपाठी तर अहिले गुमनाम आरके मैनालीदेखि प्रदीप नेपालसम्मका ‘ओली-मूल्यांकन’ र धारणा कहिलेकाहीँ पत्रिकामा पढ्न पनि पाइन्छ । अब बिस्तारै धेरैको अभिरुचि उनको राजनीतिकभन्दा पनि मनोवैज्ञानिक मूल्यांकन गर्नेतर्फ ढल्केको प्रस्ट बुझिन्छ ।

ओलीलाई भित्रैदेखि आफूबाहेक सबै नालायक छन् भन्ने नै लाग्छ । आफ्नै बारेमा उनको मूल्यांकन त, प्रायः मान्छेको स्व-मूल्यांकनजस्तो, उनको पनि अति गलत छ । तर हुन सक्छ, आफ्नो पुस्ताका अरू नेताको निकम्मापन बुझ्नमा उनी गलत छैनन् ।

अहिले राजनीतिमा सक्रिय नेतामध्ये आफ्नो मार्गचित्र प्रस्ट भएका नेतामध्ये ओली एक हुन् । उनी एमाले–माओवादी एकताको प्रयास गर्दादेखि नै यसमा प्रस्ट थिए । माओवादीको ‘जनयुद्ध’ पूरै औचित्यहीन थियो भन्नेबारे जति प्रस्ट उनी पहिले थिए, त्यति नै प्रस्ट नेकपाको एकता गर्दाताका पनि थिए । एकताको घोषणा गरिदिने हो र आफूले सकुन्जेल सत्ता र सरकार आफैंले मात्र चलाउने हो भन्नेमा एकताको सोच पलाउँदाताका उनी जति प्रस्ट थिए, अहिले त्योभन्दा बढ्ता प्रस्ट छन् । ‘वरिष्ठ नेता’ माधवकुमार नेपालको निर्णयहीनताको जुन चारित्रिक आयाम छ र त्यसलाई जसरी प्रयोग गर्नुपर्ने हो, त्यसरी नै गरेका छन् । जबसम्म पार्टीमा वामदेव गौतमजस्ता पात्रको प्रभाव रहिरहन्छ, उनलाई कस्तो बेला के फन्डा फ्याँक्यो भने परिस्थितिलाई आफ्नो पक्षमा प्रयोग गर्न सकिन्छ, उनी त्यसमा पनि प्रस्ट छन् । ‘जति नै भए पनि’ एमाले पंक्तिले प्रचण्डलाई पार्टी सुम्पनुभन्दा ओलीलाई नै सहनु राम्रो भन्ने एमाले मनोविज्ञानलाई कसरी प्रयोग गर्ने, उनले राम्रोसँग त्यसको अभ्यास नै गरेका छन् ।

एक हिसाबमा भन्दा, ओलीले आफ्नावरिपरि जुन सम्भावना थिए तिनलाई प्रयोग मात्र गरेका हुन् । अब वस्तुगत यथार्थ नै त्यस्तै छ र आफ्नावरिपरि उपलब्ध पात्र नै त्यस्तै छन् त, त्यसलाई आफ्नो हितमा प्रयोग किन नगर्ने ? भारतले अतिक्रमण गरेको जमिन फिर्ता ल्याउन खासै केही गम्भीर प्रयास नगर्ने कुरा आफ्नै ठाउँमा छ । उनी त्यसमा पनि प्रस्ट छन् । तर पार्टीबाहिरका राष्ट्रवादी र राजावादीको सहानुभूति पाउन कस्तो राष्ट्रवाद कसरी खेल्नुपर्छ भन्ने उनलाई थाहा नहुने कुरै भएन ।

नेपालमा राष्ट्रवादको हतियार जसरी उपलब्ध छ, त्यही उपलब्ध साधनलाई उनले आफ्नो राजनीतिक हितमा प्रयोग मात्र गरेका न हुन् । त्यस्तो राष्ट्रवाद कति उपयोगी हुन्छ भने, सम्बन्धित व्यक्तिले अरू सबै काम राम्रोसँग नगरे पनि, ‘भैगो, ऊ राष्ट्रवादी हो’ भनेर सबै कुरा माफ गरिदिने एउटा पंक्ति नेपालमा सदाबहार हाजिर छ । त्यसैले, राजतन्त्र गएपछि राजनीतिक रूपमा टुहुरा भएका केही राष्ट्रवादी ‘बौद्धिक’ पंक्तिले ओलीमा एउटा आशा गर्न सकिने नायक खोजेकै हुन् । राजनीतिमा के हुनुपर्थ्यो भन्ने एउटा कुरा, तर के हुन्छ भन्ने कुरा जे उपलब्ध छ त्यसैबाट उत्पन्न हुने हो । ओलीको ‘उदय’ र अहिलेसम्मको निरन्तरता माथिका यिनै तत्त्वको सम्मिश्रणबाट सम्भव भएको हो ।

नेपालको लोकतन्त्रको प्रमुख ‘फल्टलाइन’ हाम्रा राजनीतिक दलहरूको प्रकृति र बनोटसँग सम्बन्धित छ । जे छ त्यो हेर्दाहेर्दै हामी सबैमा यस्तो बानी परिसके जस्तो छ, आफ्नै सम्मुख भएको त्यत्रो लोकतन्त्रको समस्या हामीलाई समस्याजस्तै लाग्दैन । यदि लाग्थ्यो भने, हाम्रा पार्टी किन यस्ता भएका छन् भन्ने विषय कम्तीमा निरन्तर राष्ट्रिय मुद्दा हुन्थ्यो, शासकीय सुधारका लागि । यदि पार्टीहरू आन्तरिक रूपमा लोकतान्त्रिक र चलायमान हुन्थे भने तिनीहरू निश्चित अर्थ-राजनीतिक स्वार्थ समूहका कब्जामा हुँदैनथे ।

राजतन्त्र गएपछि राजनीतिक रूपमा टुहुरा भएका केही राष्ट्रवादी ‘बौद्धिक’ पंक्तिले ओलीमा एउटा आशा गर्न सकिने नायक खोजेकै हुन् । राजनीतिमा के हुनुपर्थ्यो भन्ने एउटा कुरा, तर के हुन्छ भन्ने कुरा जे उपलब्ध छ त्यसैबाट उत्पन्न हुने हो । ओलीको ‘उदय’ र अहिलेसम्मको निरन्तरता माथिका यिनै तत्त्वको सम्मिश्रणबाट सम्भव भएको हो ।

यदि ती चलायमान हुन्थे भने क्षमता नभएकालाई क्षमता भएकाले विस्थापित गर्थे । इमान नभएका नेतृत्वलाई इमान भएकाले हटाउँथे । समाजलाई योगदान दिन सक्ने नयाँ ऊर्जा र क्षमता भएका नागरिकहरू दलमा आबद्ध हुन आउँथे । प्रत्येक पाँच–दस वर्षमा नयाँ भिजन भएका व्यक्तिहरू सरकार चलाउन आउँथे । अहिले सत्तामा टिक्न कुनै अर्को क्षमता चाहिन्छ र ? वामदेव गौतमलाई यता र उता चलाउन सक्यो भने एउटा खड्गो टर्छ, माधव नेपाल र प्रचण्डलाई यता र उता गर्‍यो भने अर्को टर्छ ।

नेपालको राजनीति र दलीय संरचनालाई जस्तो बनाइएको छ, त्यसमा ओलीले जे गरेका छन्, गर्ने त्यही नै हो । यस्तै संरचना, प्रणाली र अभ्यासलाई स्वीकार गरुन्जेल, सबै दलका ‘नेता’ ले त्यही नै गरिरहनेमा कुनै शंका छैन । त्यसमाथि के स्पष्ट देखिन्छ भने, ओलीलाई त भित्रैदेखि आफूबाहेक सबै नालायक छन् भन्ने नै लाग्छ । आफ्नैबारेमा उनको मूल्यांकन त, प्रायः मान्छेको स्व–मूल्यांकनजस्तो, उनको पनि अति गलत छ । तर हुन सक्छ, आफ्नो पुस्ताका अरू नेताको निकम्मापन बुझ्नमा उनी गलत छैनन् । सार्वजनिक जिम्मेवारीमा पुग्न विषयगत क्षमता, नैतिक आचरण र अन्य प्रतिस्पर्धी गुण चाहिने प्रणाली भए पो राजनीतिमा लाग्न र टिक्न मान्छेले मिहिनेत गर्थे । अहिले राजनीतिमा टिक्न के गर्नुपर्छ ? आफूले एउटा गुट चलाउन सके भयो वा कुनै गुटमा आफू परिराख्न सके पुगिहाल्यो ।

पञ्चायतकालमा प्रजातन्त्रवादी र वामपन्थी शक्तिहरू अलग रूपमा नेपाल राष्ट्र कस्तो हुनुपर्छ भनेर जनताका लागि वैकल्पिक विचारको काल्पनिकी प्रस्तुत गरिरहन्थे । प्रजातन्त्र आएपछिका केही वर्षमै जब शासकीय विकृतिका कारण जनतामा निराशा थियो, माओवादीले विकल्पको वैचारिकी प्रस्तुत गरेकै हुन् । त्यो काल्पनिकीमा अरू उपकाल्पनिकीहरू थपिँदै गएर जनआन्दोलन, मधेस आन्दोलन सबै भए । नयाँ संविधान जारी भएपछि निर्माण गरिएको वर्चस्वशाली भाष्यको सार थियो- सबै कल्पना अब यथार्थ भए । अब कल्पना गर्न बाँकी केही छैन । कल्पनाशीलतालाई राजनीतिक रूपमा बिदा गरिएको पाँच वर्षमा नेपाल अहिले कस्तो ठाउँमा आइपुगेको छ भन्ने धेरैले बुझिसके । यस्ता पात्र र प्रवृत्तिबाट केही हुनेवाला छैन । तर राजनीतिक, नागरिक र बौद्धिक वृत्त कसैसँग पनि अहिले कुनै वैकल्पिक काल्पनिकी नै छैन ।

नयाँ संविधान जारी भएपछि निर्माण गरिएको वर्चस्वशाली भाष्यको सार थियो- सबै कल्पना अब यथार्थ भए । अब कल्पना गर्न बाँकी केही छैन । कल्पनाशीलतालाई राजनीतिक रूपमा बिदा गरिएको पाँच वर्षमा नेपाल अहिले कस्तो ठाउँमा आइपुगेको छ भन्ने धेरैले बुझिसके ।

राजावादी, नस्लवादी, क्षेत्रीयतावादीदेखि लिएर लोकतन्त्रवादी र माओवादीसम्म अहिलेको संसारमा ‘प्रचलित’ सबै खालका वादका संवाहक हामीसँग अहिले पनि खडा छन् । तसर्थ समस्या त्यो होइन । समस्या अब गर्ने के हो त भन्नेमा कसैसँग पनि विकल्प नहुनु हो । अब युवराज खतिवडाले ल्याउने बजेट र रामशरण महतले ल्याउने नीति तथा कार्यक्रममा कुनै फरक हुनेवाला छैन । उनीहरूले ल्याएका बजेटमा गरिने टिप्पणीसमेत पुरानै दोहोर्‍याइदिए हुने स्थिति छ । निजी शिक्षाबारे त्यत्रो गुनासो सुनिन्छ सार्वजनिक रूपमा, तर कुन दल वा व्यक्ति आयो भने शिक्षा नीतिमा के सकारात्मक फरक होला, कुनै दल र व्यक्तिले कुनै विकल्पको चर्चा पनि गर्दैन । जनताले तिर्नुपर्ने विभिन्न प्रकारका अहिलेका कर कुन ठीक हुन्, कुन बेठीक, के धेरै हो के थोरै र भविष्यमा कुनै ‘डिपार्चर’ जरुरी छ कि छैन, त्यससम्बन्धी कुनै वैकल्पिक विचार नै छैन समाजसँग । किनकि दलहरूले नीतिगत तहमा नयाँ विचार निर्माण गर्ने संरचना नै बनाएका छैनन् ।

तसर्थ, हामीले हाम्रा राजनीतिक दल जस्ता बनाएका छौं वा जस्ता बन्न दिएका छौं, त्यो प्रणालीले दिने भनेको यस्तै हो । सुन्दा निराशाजनक लाग्ला, तर यस्तो लाग्छ दलहरूको संरचना लोकतान्त्रिक नबनाई, जब कुनै पनि व्यक्ति एउटै पद र समितिमा आजीवन रहन्छ, नयाँ नीति, विचार, आशा र विकल्प आउनेवाला छैन । त्यतिन्जेल जसले आफ्नो पार्टी र त्यहाँका अरू सदस्यलाई ‘घुमाउने’ क्षमता राख्छ, तीन करोड नेपालीलाई त्यस्तैले नै घुमाउने हो । यी सबै कारणले ओलीको भविष्यको मार्गचित्र प्रस्ट छ- नेकपाको महाधिवेशन आवश्यक नै छैन । अर्को चुनावसम्म जसोतसो, यस्तै चलाउने हो । त्यो बेला माओवादी फुटेर गए जान्छ, त्यसपछि बन्ने त्रिशंकु संसद्मा आलोपालो फेरि पनि हुने नै छ । उनी प्रस्ट छन्, प्रस्ट हुन बाँकी अरू हुन् । बीचमै प्रचण्डले आयोजना गरेर, ओली समूहले बहिष्कार गर्ने खालका स्थायी समितिका बैठक हुन थालेछन् भने सत्ता समीकरण त जता पनि जान सक्ने भई नै हाल्यो । कान्तिपुरबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चलचित्र  ‘सतीदेवी’ साउन ४ मा रिलिज हुने
२०८१ जेठ १, मंगलबार
नवनियुक्त राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश
२०८१ जेठ १, मंगलबार
प्रसूति तथा स्त्रीरोग अस्पतालमा मंगलबारदेखि इको कार्डियोग्राफी सेवा
२०८१ वैशाख ३१, सोमबार
सरकार छोडने निर्णय गरेका छैनौंः झलनाथ खनाल
२०८१ वैशाख ३१, सोमबार
भारतमा लोकसभाको चौथो चरणको मतदान सम्पन्न
२०८१ वैशाख ३१, सोमबार
हाफ म्याराथन प्रतियोगिता : महिलातर्फ प्रहरीका बुढा र पुरुषतर्फ आर्मीका राईलाई उपाधि
२०८१ वैशाख ३१, सोमबार
स्काउट पदाधिकारीहरुलाई दलको सदस्यता त्याग्न खेलकुद मन्त्रालयको चेतावनी
२०८१ वैशाख ३१, सोमबार