श्रावण २०, २०८३ बुधबार August 5, 2026

विगतका विजेतामाथि दबाब बढ्दै, काठमाडौं-७ मा कांग्रेसको नयाँ दाबेदारी मजबुत

काठमाडौं–७ मा पुराना अनुहारलाई चुनौती, नयाँ शिक्षित नेतृत्वतर्फ मतदाता मोडिँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । काठमाडौं–७ मा यसपटकको निर्वाचन विगतका चुनावभन्दा भिन्न माहोलमा प्रवेश गरेको छ। लगातार उही अनुहार र पुरानै अभ्यासबाट आजित मतदाता नयाँ सोच, नयाँ ऊर्जा र जवाफदेही नेतृत्वको खोजीमा देखिन थालेका छन्। यही परिवेशमा प्रमुख चार दलमध्ये नेपाली कांग्रेसले नयाँ अनुहार अघि सारेर चुनावी प्रतिस्पर्धालाई नयाँ मोड दिएको छ।

कांग्रेसबाट प्रमोदहरि गुरागाईं, एमालेबाट प्रकाश श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट गणेश पराजुली र नेपाली कम्युनिस्ट पार्टीबाट बसन्त मानन्धर उम्मेदवार छन्। तर यी चारमध्ये गुरागाईं बाहेक बाँकी तीनै जना पूर्व जनप्रतिनिधि हुन्। विगतमा संघ वा प्रदेशमा अवसर पाइसकेका नेताभन्दा यसपटक मतदाता नयाँ र शिक्षित नेतृत्वलाई प्राथमिकता दिन थालेको संकेत काठमाडौं–७ मा स्पष्ट देखिन थालेको छ।

काठमाडौं–७ मा १७ दल र १० स्वतन्त्र गरी २७ उम्मेदवार प्रतिस्पर्धामा छन्। यद्यपि वास्तविक प्रतिस्पर्धा कांग्रेस, एमाले, रास्वपा र नेकपाबीच नै सीमित देखिन्छ। यस क्षेत्रको मतदातामा पछिल्लो समय ‘विगतको प्रदर्शन’ भन्दा ‘भविष्यको सम्भावना’ निर्णायक बन्न थालेको राजनीतिक विश्लेषकहरूको ठम्याइ छ।

रास्वपाका गणेश पराजुली विगत निर्वाचनमा यही क्षेत्रबाट विजयी भएका व्यक्ति हुन्। एमालेका प्रकाश श्रेष्ठ र नेकपाका बसन्त मानन्धर प्रदेश सभा सदस्य हुँदै मन्त्री समेत बनिसकेका अनुभवी नेता हुन्। तर मतदाताबीच उनीहरूप्रति विगत पाँच–दस वर्षको कार्यसम्पादनलाई लिएर मिश्रित धारणा देखिन्छ। विकासका अपेक्षा पूरा नहुनु, निरन्तर उही व्यक्तिलाई अवसर दिँदा पनि परिवर्तन महसुस नहुनु र केन्द्रमुखी राजनीति हावी हुनुजस्ता विषयले मतदाता निराश देखिन्छन्।

यही निराशाबीच कांग्रेसले १० वर्षपछि पहिलोपटक आफ्नै उम्मेदवार अघि सारेको छ। संविधानसभा निर्वाचन २०६४ र २०७० पछि कांग्रेसले काठमाडौं–७ मा आफ्नै उम्मेदवार उठाएको थिएन। २०७४ र २०७९ का निर्वाचनमा अन्य दलका उम्मेदवारलाई समर्थन गरेको कांग्रेसका मतदाताले यसपटक आफ्नै दलको उम्मेदवारलाई मत दिने अवसर पाएका छन्, जसले पार्टीभित्र नयाँ उत्साह थपेको छ।

कांग्रेसका उम्मेदवार प्रमोदहरि गुरागाईं शिक्षण पृष्ठभूमिबाट आएका, राजनीति र बौद्धिक क्षेत्र दुवैमा चिनिएका व्यक्ति हुन्। सरस्वती क्याम्पसका पूर्व प्राध्यापक रहेका गुरागाईं नेविसंघको नेतृत्व तह हुँदै कांग्रेसको केन्द्रीय सदस्यसम्म आइपुगेका छन्। ५१ वर्षीय गुरागाईं स्नातकोत्तर अध्ययन पूरा गरेका, विवादरहित छवि भएका र संगठन तथा नीतिगत विषयमा स्पष्ट धारणा राख्ने नेताका रूपमा परिचित छन्।

काठमाडौं–७ मा युवा र शिक्षित मतदाताको संख्या उल्लेख्य छ। विश्वविद्यालय, कलेज, सरकारी तथा निजी सेवामा आबद्ध मतदाता रहेको यो क्षेत्रमा पछिल्लो समय ‘मर्यादित राजनीति’, ‘जवाफदेही नेतृत्व’ र ‘बौद्धिक क्षमता’ निर्णायक बन्दै गएको छ। गुरागाईंले अघि सारेको ‘विवेकशील मतदाता, जवाफदेही नेतृत्व’ भन्ने नाराले यही वर्गलाई प्रत्यक्ष सम्बोधन गरेको देखिन्छ।

विशेष महाधिवेशनपछि परिवर्तन, रुपान्तरण र पुस्तान्तरणको नारा सहित कांग्रेस अघि बढिरहेका बेला काठमाडौं–७ त्यसको परीक्षण क्षेत्रजस्तै बनेको छ। स्थानीय स्तरमा कांग्रेसको संगठन मजबुत हुँदै गएको छ भने आन्तरिक प्रतिस्पर्धालाई व्यवस्थापन गर्दै उम्मेदवारकै नेतृत्वमा चुनावी अभियान सञ्चालन भइरहेको छ। उम्मेदवारका आकांक्षी रहेका सविन तामाङ स्वयं निर्वाचन परिचालन समितिको संयोजक बनेर प्रचारमा सक्रिय हुनु कांग्रेसभित्रको एकताको संकेत मानिएको छ।

विगतका निर्वाचनमा दोस्रो स्थानमा सीमित रहेको कांग्रेस यसपटक मतदाताको मनोविज्ञान बदलिँदै गएको र नयाँ अनुहारप्रतिको आकर्षण बढेको आकलनका साथ मैदानमा उत्रिएको छ। निरन्तर अवसर पाएका नेताभन्दा पनि नयाँ शिक्षित र मर्यादित व्यक्तिलाई संसदमा पठाउने चाहना बलियो बन्दै जाँदा काठमाडौं–७ मा कांग्रेसको पक्षमा माहोल बन्दै गएको देखिन्छ।

यही कारण, यस क्षेत्रको निर्वाचन केवल दलबीचको प्रतिस्पर्धा मात्र नभई पुरानो अभ्यास र नयाँ सोचबीचको छनोटका रूपमा पनि हेरिन थालेको छ। यदि यही प्रवृत्ति कायम रह्यो भने काठमाडौं–७ मा यसपटक कांग्रेसले चुनाव जित्ने सम्भावना बलियो बन्दै गएको संकेत स्थानीय राजनीतिक वृत्तमा व्यापक रूपमा चर्चा हुन थालेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस्
२०८३ श्रावण २०, बुधबार
विश्वको उत्कृष्ट सूचीमा लायन्स ३२५ के, गर्भनर अधिकारीलाई पिआइडी बजोरियाको बधाइ सन्देश
२०८३ श्रावण २०, बुधबार
निर्वासनबाटै सक्रिय हसिना
२०८३ श्रावण २०, बुधबार
अन्ततः सलमानको अपोजिटमा ‘सर्वोत्कृष्ट खलनायक’ उपाधी जित्ने अभिनेता
२०८३ श्रावण २०, बुधबार
कोरियाली राजदूत पार्कद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट
२०८३ श्रावण २०, बुधबार
अमेरिकी नौसेनाद्वारा ७६.६ अर्ब डलरमा थप १४ आणविक पनडुब्बी बनाउँदै, कारण चीन
२०८३ श्रावण २०, बुधबार
केन्द्रीय बैंक ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै
२०८३ श्रावण २०, बुधबार