श्रावण २०, २०८३ बुधबार August 5, 2026

झापा–२ मा चर्चित उम्मेदवार र चुनावी मुद्दा

झापा–२ मा बहुआयामिक विकासका योजना, चर्चित उम्मेदवार र स्थानीयको उच्च अपेक्षाले सर्वत्र चासो बन्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भद्रपुर (झापा), २२ माघः आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा झापा क्षेत्र नं २ मा पनि चुनावी गतिविधि तीव्र बन्दै गएका छन् । निवर्तमान सभामुख र उपसभामुखसहित पूर्वमन्त्री, संविधानसभा सदस्य, कानुनविद् तथा युवा अभियन्तासम्म चुनावी मैदानमा उत्रिएपछि यस क्षेत्रको राजनीतिक वातावरण थप रोचक बनेको छ ।

यस क्षेत्रमा १५ वटा राजनीतिक दल र तीन स्वतन्त्र उम्मेदवार गरी १८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । नेकपा (एमाले) बाट निवर्तमान सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसबाट सरिता प्रसाईं, नेपाली कम्युनिष्ट पार्टीबाट धर्मशिला चापागाईं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निवर्तमान उपसभामुख इन्दिरा राना मगर, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भद्रप्रसाद नेपाल, जनमत पार्टीबाट रमेशकुमार राजवंशी, नेपाल मजदुर किसान पार्टीबाट चन्द्रकुमारी गारु, मङ्गोल नेसनल अगनाइजेसनबाट अकलबहादुर तामाङ, नेपाल जनमुक्ति पार्टीबाट मानबहादुर पुलामी मगर तथा नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) बाट श्रीप्रसाद सिटौला चुनावी प्रतिस्पर्धामा छन् ।

यसैगरी सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अमृता लावती, श्रम संस्कृति पार्टीबाट केशवकुमार भण्डारी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट अर्जुनकुमार पाण्डे, उज्यालो नेपाल पार्टीबाट चुडाकर्ण बेघा, जनता समाजवादी पार्टी, नेपालबाट तिलबहादुर राई तथा स्वतन्त्र रूपमा पुण्यप्रसाद आचार्य, रमेशकुमार कार्की र डा युवराज सङ्ग्रौला चुनावी मैदानमा छन् ।

यस निर्वाचन क्षेत्रअन्तर्गत अर्जुनधारा नगरपालिका, कन्काई नगरपालिका–८ र ९, बुद्धशान्ति गाउँपालिकाको वडा नं १, २ र ३ तथा बिर्तामोड नगरपालिकाको वडा नं १ देखि ९ सम्म पर्दछन् । निर्वाचन आयोगका अनुसार यहाँ एक लाख ४७ हजार ५२२ मतदाता रहेका छन्भने ४९ मतदानस्थलमा १६५ मतदान केन्द्र तोकिएका छन् ।

गत विसं २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेका घिमिरे २८ हजार ७१६ मत प्राप्त गरी विजयी हुनुभएको थियो । उक्त निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिनुभएका भद्रप्रसाद नेपालले २६ हजार ४५५ मत प्राप्त गर्दै उपविजेता बन्नुभएको थियो ।

यहाँ तत्कालीन नेकपा (माओवादी केन्द्र) का हरिकुमार राना मगरले १३ हजार ९३० मत प्राप्त गर्नुभएको थियो भने रास्वपाका रुद्रप्रसाद गिरीले आठ हजार ७८१ मत पाउनुभएको थियो । यसपटक गत निर्वाचनका उपविजेता भद्रप्रसाद नेपाल राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पुनः चुनावी मैदानमा हुनुहुन्छ ।

आयोगको तथ्याङ्कअनुसार गत विसं २०७९ को निर्वाचनमा प्रतिनिधिसभाको समानुपातिकतर्फ एमालेले सबैभन्दा बढी २६ हजार ४९० मत प्राप्त गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीले २२ हजार ५१७, नेपाली कांग्रेसले १५ हजार ४९८, राष्ट्रिय प्रजातन्त्र पार्टीले सात हजार ८८०, नेकपा (माओवादी केन्द्र) ले तीन हजार ३८६ तथा नेकपा (एकीकृत समाजवादी) ले एक हजार १६९ मत प्राप्त गरेका थिए ।

गत निर्वाचनमा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच तालमेल भएको थियो भने माओवादी केन्द्रका उम्मेदवारलाई कांग्रेस र नेकपा (एकीकृत समाजवादी) ले समर्थन गरेका थिए ।

यस क्षेत्रको निर्वाचन इतिहास हेर्दा विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा एमालेकी पवित्रा खरेल निर्वाचित हुनुभएको थियो । दोस्रो संविधानसभा निर्वाचन २०७० मा (एमालेका प्रेम गिरी र पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा माओवादीका धर्मशिला चापागाईं निर्वाचित हुनुभएको थियो । यहाँ विसं २०४७ पछि विसं २०६४ भन्दा अघिका निर्वाचनमा पनि एमाले विजयी हुँदै आएको थियो ।

निवर्तमान सभामुख रहनुभएका एमाले उम्मेदवार घिमिरेले तीन वर्षको छोटो कार्यकालमा धेरै अधुरा विकास कार्यहरू अघि बढाएको र ती पूरा गर्न पुनः जनताको समर्थन आवश्यक रहेको बताउनुभएको छ । उहाँले भन्नुभयो, “हात्ती प्रभावित क्षेत्रमा सुरक्षाका लागि देउनिया खोलामा फेन्सिङ तार जडान गरियो, बिर्तामोड–अर्जुनधारा–बुद्धशान्ति मुख्य चोकहरूमा सडक विस्तार भयो र भद्रपुर–बिर्तामोड चार लेन सडक अन्तिम चरणमा पुगेको छ । म सधैँ सुकुम्वासी, किसान र विपन्नसँग नजिक रहेर काम गर्दै आएको छु ।”

रास्वपा उम्मेदवार एंव निवर्तमान उपसभामुख राना मगरले यसै क्षेत्रमा जन्मेर हुर्किएको र सहाराविहीन र टुहुरा बालबालिकालाई सहयोग गर्दै आएको अनुभवका आधारमा आफ्नो उपस्थिति बलियो रहेको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “उपप्रमुखको हैसियतमा सुरु गरेका विकासका कामलाई निरन्तरता दिन र संविधान निर्माणमा बाँकी रहेका महत्त्वपूर्ण काम पूरा गर्न उम्मेदवारी दिएको हुँ । संविधानमार्फत सामाजिक न्याय र समावेशिता अझ बलियो बनाउने मेरो प्रतिबद्धता छ ।”

नेपाली कम्युनिष्ट पार्टीकी उम्मेदवार एंव पूर्वमन्त्री चापागाईंले बिर्तामोडलाई उपमहानगरपालिका बनाउँदै ‘स्मार्ट सिटी’ बनाउने योजना रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “बिर्तामोडमा महिला अस्थायी आवास गृह स्थापना गरी सहाराविहीन महिला र दिदीबहिनीका लागि सुरक्षित आवास निर्माण गर्न लागिपरेकी छु । केचनादेखि कञ्चनजङ्घासम्म सडक जोड्दै युवालाई पर्यटनसँग संलग्न गराउने, साथै साधुटार जलेश्वर धाम र गारामुनिको दुर्गा मन्दिरलाई धार्मिक पर्यटनसँग जोड्ने लक्ष्य छ ।”

नेपाली कांग्रेसकी उम्मेदवार प्रसाईंले अब नेतृत्व युवा पुस्ताले लिनुपर्ने बताउँदै युवामैत्री कानुन र नीतिनिर्माणमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले महिला र युवालाई कृषि क्षेत्रमा संलग्न गरी आत्मनिर्भर बनाउने योजना रहेको उल्लेख गर्नुभयो ।

स्वतन्त्र उम्मेदवार पूर्वमहान्यायाधिवक्ता डा सङ्ग्रौलाले कानुनी सुधार र संविधान संशोधन आवश्यक रहेको बताउँदै देशलाई सही दिशामा लैजान संसद्मा पुग्न उम्मेदवारी दिएको बताउनुभयो । राप्रपा उम्मेदवार नेपालले आफ्नो मुख्य ‘एजेन्डा’ हिन्दू राज्य र सनातन धर्मको संरक्षण रहेको बताउनुभयो ।

उम्मेदवारहरूले आ–आफ्नो जितको दाबी गरिरहँदा स्थानीय नागरिकले भने नयाँ प्रतिनिधिले कृषि, ऊर्जा र उद्योगमा लगानीको वातावरण बनाउनेमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् । अर्जुनधारा–८ निवासी मेहर मगरले भन्नुभयो, “कृषि क्रान्ति र साना उद्योगमा लगानी बढाउन सके अर्जुनधारा, बिर्तामोड र पहाडी भूगोल समृद्ध बन्नेछ । शिक्षा, स्वास्थ्य र साना उद्योगमा लगानी प्रवर्द्धन गर्ने र किसानका समस्या नजिकबाट बुझ्ने सांसद चाहिन्छ ।”

यस्तै, बिर्तामोड–४ का कृष्ण चुडालले पनि व्यवसाय अनुभवका आधारमा बिर्तामोडको समग्र विकासका लागि मेडिकल हब, शैक्षिक विकास र चारपाने क्षेत्रमा औद्योगिक पार्क स्थापना गर्न सक्ने दूरदर्शी सांसदको आवश्यकता रहेको बताउनुभयो ।

झापा–२ मा बहुआयामिक विकासका योजना, चर्चित उम्मेदवार र स्थानीयको उच्च अपेक्षाले यस निर्वाचनलाई सर्वत्र चासोको केन्द्र बनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस्
२०८३ श्रावण २०, बुधबार
विश्वको उत्कृष्ट सूचीमा लायन्स ३२५ के, गर्भनर अधिकारीलाई पिआइडी बजोरियाको बधाइ सन्देश
२०८३ श्रावण २०, बुधबार
निर्वासनबाटै सक्रिय हसिना
२०८३ श्रावण २०, बुधबार
अन्ततः सलमानको अपोजिटमा ‘सर्वोत्कृष्ट खलनायक’ उपाधी जित्ने अभिनेता
२०८३ श्रावण २०, बुधबार
कोरियाली राजदूत पार्कद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट
२०८३ श्रावण २०, बुधबार
अमेरिकी नौसेनाद्वारा ७६.६ अर्ब डलरमा थप १४ आणविक पनडुब्बी बनाउँदै, कारण चीन
२०८३ श्रावण २०, बुधबार
केन्द्रीय बैंक ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै
२०८३ श्रावण २०, बुधबार