काठमाडौं । गगनकुमार थापा ले सार्वजनिक यातायात सुधारका प्रारम्भिक योजनाहरू सार्वजनिक गरेका छन्। नेपाली कांग्रेसका सभापति थापाले सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै सार्वजनिक यातायात व्यवस्थामा व्यापक संरचनागत सुधार आवश्यक रहेको बताएका हुन्।
उनले सार्वजनिक यातायात सञ्चालन र व्यवस्थापनका लागि एकीकृत प्राधिकरण (Integrated Transport Authority) गठन गर्ने अवधारणा अघि सारेका छन्। उनका अनुसार सरकार, सार्वजनिक निकाय तथा निजी क्षेत्रबीच सहकार्यको मोडेलमा यातायात सेवा सञ्चालन गर्न सके मात्र दीर्घकालीन सुधार सम्भव हुनेछ।
थापाले हालको सार्वजनिक यातायात प्रणालीलाई अव्यवस्थित, असुरक्षित र अविश्वसनीय भएको टिप्पणी गर्दै नागरिकले भोगिरहेको समस्याप्रति राज्य पर्याप्त संवेदनशील नदेखिएको बताएका छन्। “घण्टौँको जाम, सडकमा उड्ने धुलो र असुरक्षित यात्रा हाम्रो सार्वजनिक यातायातको यथार्थ हो,” उनले भने।
उनका अनुसार साना तथा अव्यवस्थित सवारी साधनमा निर्भरता, एकीकृत नभएको रुट परमिट प्रणाली, असंगठित भाडा संरचना तथा प्रभावकारी नियमन अभावले समस्या जटिल बनेको छ। राजधानीमै कामकाजी नागरिक समयमै कार्यालय पुग्न नसक्ने अवस्था रहेको उल्लेख गर्दै उनले सार्वजनिक यातायात सुधारलाई प्राथमिक राष्ट्रिय एजेन्डाका रूपमा लिनुपर्नेमा जोड दिएका छन्।
थापाले सार्वजनिक यातायातलाई सुरक्षित, भरपर्दो र व्यवस्थित बनाउने गरी आफूहरू ठोस कार्ययोजना तयार पारिरहेको जानकारी दिए। उनले प्रविधिमैत्री व्यवस्थापन, डिजिटल टिकटिङ प्रणाली, स्पष्ट रुट संरचना, वैज्ञानिक भाडा निर्धारण तथा दीर्घकालीन पूर्वाधार विकासमार्फत सुधार सम्भव रहेको धारणा व्यक्त गरे।
सार्वजनिक यातायात सुधारलाई सुशासन, शहरी व्यवस्थापन र आर्थिक उत्पादकत्वसँग जोड्दै उनले यसलाई समग्र शहरी जीवनस्तर सुधारसँग सम्बन्धित विषयका रूपमा हेर्नुपर्ने बताएका छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया