रोल्पा। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) परित्याग गरी ३५ जना नेता–कार्यकर्ता नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्।
चुनावी घरदैलो अभियानमा रहेका नेकपा नेता वर्षमान पुन ‘अनन्त’ ले सुनछहरी गाउँपालिका–६ फगाममा आयोजित कार्यक्रममा उनीहरूलाई पार्टीमा स्वागत गरेका हुन्। पुन आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार हुन्।
विप्लव नेतृत्वको नेकपाबाट पदम पुनको नेतृत्वमा ३५ जना कार्यकर्ता पार्टी प्रवेश गरेका छन् भने मंगोल नेशनल अर्गनाइजेशन का जिल्ला सदस्य भुलबहादुर पुन पनि नेकपामा समाहित भएका छन्। पदम पुन २०७९ को स्थानीय तह निर्वाचनमा वडाअध्यक्षका उम्मेदवार थिए। यसअघि विप्लव नेकपाका जिल्ला इन्चार्ज प्रवेश सुवेदी पनि गत महिना नेकपामा प्रवेश गरिसकेका छन्।
नेता वर्षमान पुनले नवप्रवेशीहरूलाई पार्टीमा सम्मानजनक जिम्मेवारी दिइने बताउँदै जिल्लाको विकासका लागि अघि सारिएका चालु योजनाहरू सम्पन्न गर्न सहयोग आवश्यक रहेको उल्लेख गरे। उनले मतदातासँग आफूलाई विजयी गराई विकास निर्माणलाई तीव्रता दिन आग्रहसमेत गरेका छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया