कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का धनगढी उपमहानगरपालिकाका संस्थापक नगर सभापति तथा अघिल्लो प्रतिनिधिसभा सदस्य निर्वाचनमा कैलाली–५ बाट प्रत्यक्ष उम्मेदवार बनेका ईश्वरी बिष्ट ले पार्टी परित्यागको घोषणा गरेका छन्।
बिष्टले पार्टीको केन्द्रीय कार्यालय, काठमाडौंलाई सम्बोधन गर्दै साधारण सदस्यबाट समेत अलग हुने गरी राजीनामा पत्र पठाएको जनाइएको छ। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा कैलाली–५ बाट उम्मेदवार बनेका उनले तीन हजार ४०५ मत प्राप्त गरेका थिए।
राजीनामा पत्रमा बिष्टले पछिल्लो समय पार्टीले अवलम्बन गरेको पद्धति, निर्णय प्रक्रिया र कार्यशैली स्थापना कालीन मूल्य, विधान तथा सार्वजनिक प्रतिबद्धताभन्दा विपरीत गएको अनुभूति भएको उल्लेख गरेका छन्। संगठनभित्र समर्पित नेता–कार्यकर्ताको उचित मूल्यांकन नभएको, विधि–विधान विपरीत गतिविधि बढेको तथा निर्णय प्रक्रियामा पारदर्शिता कमजोर बन्दै गएको अवस्थाले आफ्नो आत्मसम्मान र राजनीतिक मूल्यमाथि प्रश्न उठाएको उनको भनाइ छ।
उनले यस्तो परिस्थितिमा मौन बस्न नसक्ने निष्कर्षसहित पार्टी परित्यागको निर्णय गरेको बताएका छन्। बिष्ट आगामी प्रतिनिधिसभा निर्वाचनमा कैलाली–५ बाट उम्मेदवार बन्न इच्छुक थिए। तर रास्वपाले उक्त क्षेत्रमा आनन्द बहादुर चन्द लाई उम्मेदवार बनाएको असन्तुष्टिमा उनले स्वतन्त्र उम्मेदवारीसमेत दिएका थिए।
यस घटनालाई रास्वपाभित्रको आन्तरिक असन्तुष्टिको संकेतका रूपमा हेरिएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया