काठमाण्डौं । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ नुवाकोटका सांसद डा. विक्रम तिमिल्सिनाले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन्। उनले निर्वाचन आयोगसमक्ष बुझाएको विवरण अनुसार निर्वाचन अभियानमा कुल १६ लाख ४७ हजार २ सय ५४ रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।
पेश गरिएको खर्च विवरणअनुसार सबैभन्दा बढी रकम प्रचार–प्रसार सामग्री (प्रिन्टिङ, छपाइ तथा स्टेसनरी) मा खर्च भएको छ। उक्त शीर्षकमा ६ लाख ३२ हजार २ सय ५४ रुपैयाँ खर्च भएको देखाइएको छ।
यस्तै, सवारी साधन तथा ध्वनि भाडा शीर्षकमा ३ लाख रुपैयाँ, प्रतिनिधि तथा स्वयंसेवक परिचालन र घरदैलो कार्यक्रमका लागि ३ लाख ५ हजार रुपैयाँ खर्च गरिएको विवरणमा उल्लेख छ। त्यसैगरी छहरेस्थित सम्पर्क कार्यालय सञ्चालन तथा चिया–नास्ता, पानी र स्टेसनरीका लागि २ लाख १० हजार रुपैयाँ खर्च गरिएको छ।
त्यस्तै, मनोनयन दर्ता शुल्कका लागि १० हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरिएको छ। उक्त खर्च विवरण प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ तथा निर्वाचन आयोगले स्वीकृत गरेको आचारसंहिताअनुसार जिल्ला निर्वाचन कार्यालय नुवाकोटमा पेश गरिएको जनाइएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया