बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

राजविराजका अधिकांश विद्यालय सञ्चालनमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कोरोना भाइरसको सङ्क्रमण रोकथाम गर्न गरिएको सरकारी निर्णयलाई राजविराजका अधिकांश निजी विद्यालयहरूले अवज्ञा गरेको पाइएको छ ।

कोरोना सङ्क्रमणको दोस्रो लहर चलेपछि गत सोमबार मन्त्रिपरिषद् बैठकले देशभरका विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्रमा वैशाख मसान्तसम्म भौतिक रुपमा उपस्थित नगराएर भर्चुअल वा वैकल्पिक शिक्षण सिकाई मात्र सञ्चालन गर्न निर्णय गरेको थियो ।
स्थानीय प्रशासनले पनि गत मङ्गलवार (वैशाख ७ गते) सूचना जारी गर्दै भौतिक रुपमा उपस्थित नगराएर भर्चुअल वा वैकल्पिक शिक्षण सिकाई मात्र विद्यालय सञ्चालन गर्न वा शैक्षिक संस्थाहरू बन्द गर्न भनेको छ । तर राजविराज नगरपालिकाका अधिकांश निजी विद्यालयहरू निर्बाध रुपमा सञ्चालन हुँदै आएको छ ।
राजविराजका नोबेल एकेडेमी, ह्यापील्याण्ड, रोज पब्लिक, होलिक्रश, शिव इन्टरनेशन लगायतका निजी विद्यालयहरू निर्बाध रुपमा सञ्चालन हुँदै आएको छ । केही विद्यालयहरूले त सरकारी निर्णय छल्न ‘अफ ड्रेस’मा पनि विद्यार्थी बोलाएर पठनपाठन गर्दै आएको अभिभावकहरू बताउँछन् ।
नोबेल एकेडेमी राजविराजका प्रिन्सिपल प्रविण ठाकुरले अन्य विद्यालयहरू सञ्चालन भइरहेकोले आफूहरू पनि सञ्चालन गरेको प्रक्रिया दिनुभयो । ‘सबैतिर विद्यालय चलेकै छ, अनि हामीले पनि सञ्चालन गरेका हौँ’ उहाँले भन्नुभयो, ‘सबैलाई भन्नु न बन्द गर्न अनि हामी पनि बन्द गरिहाल्छौँ  ।’
प्रमुख जिल्ला अधिकारी फनिन्द्रमणि पोखरेलले निर्णय कार्यान्वयन गराउने विषयमा अनुगमन थालिएको बताउनुभयो  ।
उहाँले निर्णय विपरीत कार्य गर्नेहरूमाथि कानुनी प्रक्रिया अघि बढाउने तयारीमा रहेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी पोखरेलले महामारीलाई रोकथाम गर्न सबैलाई सहयोग गर्न अपिल समेत गर्नुभयो  ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया