काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले नयाँ दल खोल्ने भएका छन्।
पार्टी स्थापनाको उद्देश्यले उनले आफ्नै संयोजकत्वमा ‘हाम्रो नेपाल हामी नेपाली’ अभियानको घोषणा गर्न लागेका हुन्।
बिहीबार काठमाडौँमा एक कार्यक्रम गर्दै सो अभियानको घोषणा गर्ने खरेलले तयारी गरिरहेका छन्। अहिले अभियानका नाम दिइए पनि त्यसैलाई राजनीतिक दल बनाउने उनको तयारी रहेको छ।
खरेलले सो अभियान भ्रष्टाचारको विरोध, सुशासन, राष्ट्रहित, नागरिकका हक अधिकारलाई केन्द्रमा राखेर सञ्चालन गर्ने बताएका छन।
सुरुमा ६ महिनासम्म संगठनलाई अभियानको रुपमा जनतामाझ लैजाने र त्यसपछि प्राप्त सल्लाह, सुझावअनुसार राजनीतिक दलका रुपमा अघि बढाउने योजना रहेको खरेलले बताएका छन।
खरेलले आफ्नो दलमा पूर्वप्रशासक, पूर्वसुरक्षाकर्मी, पूर्वप्राध्यापकलगायतलाई सहभागी बनाउन छलफल भइरहेको जानकारी दिएका छन।
सो दलमा रक्षा मन्त्रालयका पूर्वकायममुकायम सचिव देवेन्द्र सिटौला, आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता बताउने ज्ञानेन्द्र शाही पनि सहभागी हुने बताइएको छ।
सरकारले आफूभन्दा जुनियर सर्वेन्द्र खनाललाई २०७४ माघ २८ प्रहरी महानिरीक्षक बनाएको भन्दै पदबाट राजीनामा दिएका खरेल बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीका सहभागी हुने चर्चा समेत चलेको थियो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया