काठमाडौँ । चीनको हुबेइ प्रान्तको वुहानसहितका विभिन्न ६ शहरबाट उद्धार गरी ल्याएर खरिपाटीमा क्वारेन्टाइनमा राखिएकाहरुको नमूना परीक्षणको रिपोर्ट सोमबार बेलुकासम्म प्राप्त हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
क्वारेन्टाइनमा राखेको १४ दिन पूरा भएपछि शनिबार सबैको नमूना संकलन गरिएको थियो । आइतबारदेखि त्यसको परीक्षण सुरु भएकोमा अहिलेसम्म आधा भन्दा बढीको परीक्षण सकिएको राष्ट्रिय प्रयोशाला तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भने, ‘ढिलोमा सोमबार बेलुकासम्म सबैको परीक्षण रिपोर्ट आउँछ ।’ क्वारेन्टाइनमा राखिएको दिन संकलन भएको नमूनामा कसैलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको थिएन । अब शनिबार संकलित नमूनाको रिपोर्ट आउँदा पनि कोरोना संक्रमण नेगेटिभ देखिएमा क्वारेन्टाइनमा रहेकाहरुलाई घर जान दिइने छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. देवकोटाले भने, ‘आज साँझसम्म सबै रिपोर्ट आउने छ । औपचारिक कार्यक्रम गरेर क्वारेन्टाइनमा बसेकालाई बिदा गर्ने कुरा भएको थियो । तर अहिले त्यसमा फेरबदल भएको छ । नेगेटिभ देखिएकाहरु रिपोर्ट आउने बित्तिकै त्यहाँबाट बाहिरिन वा घर जान सक्नु हुन्छ ।’
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया