वैशाख २५, २०८१ मंगलबार May 7, 2024

कोरोना : असर र प्रभाव डा.गोविन्द टण्डन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कोरोना आतंकले विश्वव्यापी तहल्का मच्चाउँदा सबैतिर अहिले भय, सन्त्रास, निराशा र अब के हुने हो भन्ने अनिश्चितता र शंकाको वातावरण मडारिएको छ।केही समयअगाडिसम्म  लकडाउन नै कोभिड–१९ को सर्वौषधि हो कि भनी ठानिएकामा अहिले त्यसकै भरमा मात्र यसको कहर झेल्न सकिँदैन भन्ने एकातिर र अर्कोतिर लकडाउन हटाउन हतारिनु हुँदैन भन्ने चिन्तन छाएका छन् ।यसबाट मुक्ति पाउन खोपको विकल्प छैन भनेर त्यसतर्फ विश्वको ध्यान केन्द्रित हुँदै गएको छ ।खोप मिलेमा पछि त केही होला तर अहिले ?प्रश्न सबैमा यही छ। कोभिड–१९ का कारण विश्वव्यापी आर्थिक मन्दी त अब अकाट्य नै भइसक्यो।यसका असर र प्रभावबारे पनि विभिन्न तथ्याङ्क प्रक्षेपण भइरहेका छन्।

व्यापार ठप्प छ। खाद्यान्न कसरी जुटाउने भन्नेबारे बहस हुन थालिसकेका छन्। औषधि उत्पादन हुन नसके अरू रोगसमेत बढ्ने निश्चित छ। जीवन धान्न आवश्यक पर्ने न्यूनतम वस्तुहरूको माग र आपूर्तिबीच सन्तुलन भएन भने त्यसले संकट ल्याउनेमा सन्देह छैन। यसैले लकडाउनलाई आवश्यकताअनुसार तन्काउनु र खुम्चाउनु विश्वव्यापी मापदण्ड जस्तै बनेको देखिन्छ। लकडाउनको अवधिमा आवश्यकीय विषयहरूमा ध्यान जान नसक्दा परदेशबाट घर फर्केकाले सिमानामा पाएका दुःख, ज्यानकै बाजी लगाएर महाकाली नदी तरेका घटना, पाँच/छ दिन लगाइ पैदलै घर पुगेका सकसका विषय, सुत्केरी अस्पताल पुग्न परेका अप्ठेरो तथा स्याहार्नेलाई अस्पतालमा भएका निषेध, ड्यायोलोसिस गर्नुपर्ने बिरामीले प्रतिदिन भोग्नुपरेका कठिनाइ, बिरामीलाई अस्पताल पुर्‍याउन परेको कठिनाइ तथा अस्पतालका बिरामी हेर्ने/कुर्नेमाथि भइरहेको अप्ठेरो परिस्थितिउपर ध्यान दिन नसक्दा परेका दुःख/कष्टको ठूलै फेहरिस्त बन्न सक्छ।

यस्ता विषयहरू समस्या बनेर आउँदा कसले फुकाउने हो? स्पष्ट नहुँदा कोरोना आतङ्क अरू डरलाग्दो बनेको छ। लकडाउनले कोरोनालाई गलाउन र हटाउन सकिन्छ कि भनी संसारका केही मुलुक लागिरहेको अवस्था छ।अर्काथरि लकडाउन मानिसको बाँच्न पाउने स्वतन्त्रतामा बाधक बन्छ, त्यसको कुनै जरुरी छैन भनेर हठ गरिरहेका छन् ।युरोप, अमेरिकालगायत पाकिस्तान अहिले यही मोडेलमा छन्।सिङ्गापुर, जापान, दक्षिण कोरियालगायतका देशले सुरुमा यसप्रति सतर्कता अपनाएकाले केही राहत महसुस गरेका छन् ।तर पुराना दिन भने फर्किहालेका छैनन्। नेपालमा पनि अबको लकडाउन छरछिमेक अझ भनौँ विश्वपरिवेश हेरेर गर्नुपर्ने अवस्था छ।विश्व स्वास्थ्य संगठनको सहमति या मार्गनिर्देशनलाई पनि ध्यान राख्नुपर्ने अवस्था छ। कोरोनाभाइरसको महामारीको बेलाको यो लकडाउन नेपालका लागि निकै अनौठोसमेत सावित भयो किनकि यसले इन्द्रजात्रा, रामनवमी, बिस्केट जात्रा सपन तीर्थयात्रा आदिमा बाधा पुर्‍यायो ।नयाँ वर्ष खल्लो पार्‍यो भने आमाको मुख हेर्ने दिन पनि खल्लो पार्दैछ।

भविष्यमा लकडाउनको स्वरूप र शैली परिवर्तन गर्दै लगी जहाँ संक्रमण छ, त्यहीँ केन्द्रीकृत गरी सिल गर्ने र सीमा नाकाहरूलाई आवश्यकीय वस्तुहरूको आवतजावत तथा उत्पादनमा निश्चित मापदण्ड अपनाइ व्यवस्थित गर्दै जानेतर्फ पनि सोच्नु आवश्यक छ।

कोभिड–१९ ले गाँजेका मुलुकहरूको कथा/व्यथा सुन्दा, हेर्दा र देख्दा ओहो! जीवनमा यस्तो अवस्था पनि भोग्नुपर्ने रहेछ भन्ने जस्ता कहालीलाग्दो दृश्य आउँछ।यसले जोकोहीलाई मानिस त साँच्चै निरीह प्राणी पो रहेछ भन्ने पारिरहेको छ ।केही व्यक्ति अरूले थाहा पाउलान् र अस्पताल पुर्‍याउलान् भनेर घर/घरमै गुपचूप छन्। अस्पतालमा खटिने चिकित्सक, स्वास्थ्यकर्मीहरू अनवरत ज्यानको बाजी थापेर काममा खटिइरहेका छन्। अस्पतालको शैयामा मृत्यसँग लडिरहेका आफ्ना प्रियजनको सेवामा आफन्तजान सकिरहेका छैनन् ।सवारी साधन ग्यारेजमा थन्किएका छन्। आवतजावतमा बारबन्देज छ। मृत्युसँग जुध्दा जुध्दा हारेको व्यक्तिको शव उठाउने र व्यवस्थापन गर्ने मानिसको समेत अभाव छ ।लाग्छ, कोरोनाभाइरसको रौद्र रूप सामुन्ने छ।

यस्तो महामारीको अवस्थामा अग्रपंक्तिमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वयंसेवकहरूलाई कसरी उत्साह र मनोबल बढाउन सकिन्छ बढाउँदै साथ दिन सकियो भने अन्ततः कोरोनाभाइरस थाक्नै पर्छ। मानिसमा सर्न नसक्ने उपायहरूलाई अनुशासनकै रूपमा अवलम्बन गर्न सकियो भने कुनै एउटा निश्चित विन्दुमा पुगेपछि यो आफैँ निर्बल हुँदै जाने र यसको केही नलाग्ने दिन जरुर आउनेछ। यसलाई परास्त गर्ने कामयावी खोप या प्रभावकारी औषधि ननिक्लिउञ्जेलसम्म कुनै न कुनै रूपले यसको डर भइरहने कुरालाई विचार गर्नुपर्छ ।त्यसैले अस्पतालहरूलाई सुविधासम्पन्न बनाइ औषधोपचार सहज गर्नु नै लकडाउनको विकल्प हुन सक्छ। कोरोना भाइरसको अहिलेको आतङ्कले विश्व परिवेशमा धेरै कुरामा प्रभाव र असर छाड्ने कुरामा द्विविधै छैन।विस्तारै बजारको परम्परागत स्वरूपमा परिवर्तन भएर अनलाइन बजारहरू बढ्दै जानेछ। अनलाइन पढाइको बढोत्तरी हुनेछ ।घरमै बसेर काम गर्नेहरू बढ्ने छन्। खानपान, जीवनशैली, भ्रमण, तीर्थयात्रा, सार्वजनिक मेला/पर्व, उत्सव आदिमा आमूल परिवर्तन हुने स्थिति देखिँदैछ। फास्टफूड, जङ्कफुडप्रति मानिसको वितृष्णा बढ्दै जाने देखिन्छ।

त्यतिमात्र हैन, हवाईजहाजको यात्राका क्रममा अब टिकट, पासपोर्टभन्दा पनि यात्रुको ज्वरो नापेर या भाइरस नभएको प्रमाणपत्र देखाएपछि बल्ल यात्रा गर्न पाइने अवस्था नआउला भन्न सकिन्न। कुनै पनि व्यक्तिविशेषको ‘ट्रयाकिङ’  राख्ने प्रणाली विकास भए त्यो पनि आश्चर्य नहुने देखिन्छ। भविष्यमा लकडाउनको स्वरूप र शैली परिवर्तन गर्दै लगी जहाँ संक्रमण छ, त्यहीँ केन्द्रीकृत गरी सिल गर्ने र सीमा नाकाहरूलाई आवश्यकीय वस्तुहरूको आवतजावत तथा उत्पादनमा निश्चित मापदण्ड अपनाइ व्यवस्थित गर्दै जानेतर्फ पनि सोच्नु आवश्यक छ। त्यसैगरी खेतबारीमा संलग्न हुनुपर्ने किसान, मजदूरका लागि निश्चित मापदण्ड तोक्दै स्थानीय सरकारहरूले परिचयपत्रहरूको माध्यमबाट आआफ्नो काममा संलग्न हुने तथा उत्पादनलाई हतोत्साहित हुन नदिने वातावरण बनाउनु पनि त्यत्तिनै जरुरी देखिन्छ। नागरिक दैनिकबाट ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया