काठमाडौंः नेपाल आयल निगमले अमलेखगञ्जदेखि चितवनको लोथरसम्मको पेट्रोलियम पाइप लाइनका लागि आवश्यक जग्गाको सर्वेक्षण अन्तिम चरणमा पुर्याएको छ । गत आर्थिक वर्षमा निगमले पाइप लाइनको प्रारम्भिक सर्वेक्षण सम्पन्न गरेको थियो भने अहिले जग्गाको सर्भे अन्तिम चरणमा पुर्याएको छ ।
निगमका निर्देशक वीरेन्द्र गोइतका अनुसार हाल पाइप लाइन तथा भण्डारण निर्माणको जग्गाको पूर्ण सर्भे भइरहेको छ । जग्गा सर्भेको नक्सा तयार भएपछि भारत र नेपालको सहसचिव स्तरीय संयुक्त कार्यसमूहलाई बुझाइने छ । गोइत भन्छन्, “पाइप लाइनको सर्भे सकिएको छ भने जग्गाको सर्भे अन्तिम चरणमा छ । सकिएपछि डीपीआर बन्छ, काम अघि बढिरहेको छ । ”अहिले प्रारम्भिक चरणको तथ्याङ्क लिने र नक्सा लेआउटको काम भइरहेको छ ।
निगमका अनुसार झापाको चारआलीसम्मको पाइप लाइनको सर्भेको काम पनि सुरु हुँदै छ । जग्गाको सर्भेपछि डीपीआर निर्माणको काम अघि बढ्नेछ । भारतको मोतीहारीबाट अमलेखगञ्जसम्म सञ्चालन भएको पेट्रोलियम पाइप लाइनलाई चिवतनको लोथरसम्म विस्तार गरिने भएको हो ।
६५ किलोमिटर लामो सो पाइप लाइन विस्तारका लागि सरकारले आर्थिक वर्ष २०७७/७८ का लागि वार्षिक बजेट विनियोजन गरेको छ । कोरोना महामारीको बन्दाबन्दीले गर्दा फिल्डमा गरिने काम प्रभावित भए पनि स्थगित नभएको निर्देशक गोइतको भनाइ छ । यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित भएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया