काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले बदलिएको कांग्रेसले विगतमा पार्टीले गरेका सबै सकारात्मक कामहरूको निरन्तरता बोकेर अघि बढेको बताउनुभएको छ । साथै, अतीतमा भएका कमजोरी र गल्तीहरूलाई समेत खुलेर स्वीकार गर्दै कांग्रेस नयाँ ढंगले अघि बढ्न तयार रहेको उहाँको भनाइ छ ।
गोकर्णश्वरमा आयोजित सर्लाहीका मतदातासँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति थापाले विगतका गल्तीका लागि कसैलाई दोषारोपण गर्नुको सट्टा सामूहिक जिम्मेवारी स्वीकार गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले आफू पनि पार्टीको नेतृत्व संरचनाभित्र नै रहेको भन्दै गल्तीको भागिदार आफू पनि भएको स्पष्ट पार्नुभयो ।
‘जे जति खराब कामहरू भए, त्यसको दोष म कसैलाई दिन्नँ । म पनि त्यहीँ भित्र थिएँ,’ उहाँले भन्नुभयो, ‘कुनै एक व्यक्ति वा पात्रलाई दोष दिएर हुँदैन । समाजमा एकले अर्कालाई दोषारोपण गर्दै तँ खराब, म असल भन्ने मानसिकताले देश अगाडि बढ्दैन । हामी एउटै समाजमा बसेका छौँ ।’
सभापति थापाले निर्वाचन केवल प्रतिस्पर्धा मात्र नभई देशलाई अगाडि बढाउने प्रक्रियाको हिस्सा भएको उल्लेख गर्दै चुनावपछि पनि सामाजिक सद्भाव, शान्ति र स्थायित्व कायम हुनुपर्नेमा जोड दिनुभयो । उहाँले चुनावपछिको अस्थिरता, हिंसा र आक्रोशले देशलाई पछाडि धकेल्ने चेतावनी दिनुभयो ।
‘चुनावपछि फेरि कहीँ कतै आगो लाग्नु हुँदैन,’ उहाँले भन्नुभयो, ‘चुनावपछि बनाएको सिंहदरबार जल्नु हुँदैन । नयाँ बनेको संसद् भवन जल्नु हुँदैन । सरकारको गोलीबाट कुनै युवा पनि मारिनु हुँदैन ।’
उहाँले चुनावपछि सडकमा आक्रोश पोख्ने अवस्था सिर्जना हुन नदिन सबै पक्ष जिम्मेवार हुनुपर्ने उल्लेख गर्दै रिस, उत्तेजना र घृणाले देश निर्माण सम्भव नभएको बताउनुभयो । सबैलाई समेटेर, मिलाएर अघि बढ्ने साहस कांग्रेसले देखाउने दाबी उहाँको थियो ।
सभापति थापाले बदलिएको कांग्रेस समावेशी, जिम्मेवार र सहकार्यको राजनीतिमा विश्वास गर्ने पार्टी भएको उल्लेख गर्दै चुनावपछि पनि सबै नागरिकलाई साथमा लिएर देशलाई स्थिरता र समृद्धिको दिशामा लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया