काठमाण्डौं । रौतहट क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा सदस्य पदका लागि नेपाली काँग्रेसका उम्मेदवार डा. मोहम्मद फिर्दो आलम औपचारिक रूपमा चुनावी मैदानमा उत्रिनुभएको छ । यस क्षेत्रको यसपटकको निर्वाचनलाई साधारण हार–जितको प्रतिस्पर्धाभन्दा पनि जनविश्वास, विकासको दृष्टिकोण र राजनीतिक परिपक्वताको परीक्षण का रूपमा हेरिएको छ ।
स्वर्गीय शेख ईद्रीशपछि यस क्षेत्रको राजनीतिक नेतृत्व सम्हाल्दै आउनुभएका पूर्वमन्त्री स्वर्गीय मोहम्मद अफताब आलमको राजनीतिक विरासत अहिले उहाँका जेठा छोरा डा. फिर्दो आलमको काँधमा आएको छ । तर, राजनीतिक विश्लेषकहरूका अनुसार यसपटकको निर्वाचन केवल विरासत जोगाउने विषय मात्र नभई त्यसलाई समयअनुकूल जनअपेक्षाअनुसार रूपान्तरण गर्ने अवसरका रूपमा समेत लिइएको छ ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार किरण कुमार साहसँग पराजित भए पनि डा. आलमले २८ हजार २४८ मत प्राप्त गर्नुभएको थियो । उक्त परिणामलाई उहाँले पराजयभन्दा पनि आत्मसमीक्षा र राजनीतिक परिपक्वताको पाठका रूपमा लिएको स्थानीय काँग्रेस नेताहरू बताउँछन् । त्यसयता उहाँ क्षेत्रका जनतासँग निरन्तर सम्पर्कमा रहँदै जनसमस्या बुझ्ने प्रयासमा सक्रिय रहनुभएको जनाइएको छ ।
यसपटक डा. आलमको चुनावी अभियान भाषण र नारामा सीमित नरही घरदैलो कार्यक्रम, चौतारी संवाद, युवासँग प्रत्यक्ष छलफल तथा महिलासँग जीवनस्तर सुधारका विषयमा खुला संवादमा केन्द्रित रहेको उहाँका सहयोगी नौसाद आलमले जानकारी दिनुभयो । उहाँका अनुसार शिक्षा, स्वास्थ्य, कृषि आधुनिकीकरण, सिँचाइ विस्तार, ग्रामीण सडक निर्माण, रोजगारी सिर्जना तथा सीमावर्ती क्षेत्रको समग्र विकास डा. आलमका मुख्य चुनावी एजेन्डा रहेका छन् ।
राजनीतिमा प्रवेश गर्नुअघि नेपाल प्रहरीको स्वास्थ्य सेवामा चिकित्सकका रूपमा सेवा दिनु भएका डा. आलमले जनताको दुःख–पीडा नजिकबाट बुझेको व्यक्तिका रूपमा आफूलाई स्थापित गर्नुभएको स्थानीय युवा समीर आलमले बताउनुभयो । “चिकित्सकका रूपमा सेवा दिँदा उहाँले गरिब, मजदुर र ग्रामीण समुदायका समस्यालाई प्रत्यक्ष अनुभूति गर्नुभएको छ,” उहाँको भनाइ छ ।
स्थानीयवासीहरूका अनुसार रौतहट क्षेत्र नम्बर–२ विकासका हिसाबले अझै पनि पछाडि परेको क्षेत्र हो । यहाँ सडक सञ्जाल, सिँचाइ सुविधा, गुणस्तरीय विद्यालय, अस्पताल तथा रोजगारीका अवसरको अभाव गम्भीर समस्या बनेको छ । डा. आलमले यस क्षेत्रलाई भोट बैङ्कका रूपमा मात्र नभई विकासको नमुना क्षेत्र बनाउने समय आएको स्पष्ट पार्दै आउनुभएको छ ।
काँग्रेस नेतृत्वको सरकार बने र आफू निर्वाचित भए योजनाको होइन, कामको राजनीति देखिने दाबी गर्दै डा. आलमले विकासलाई परिणाममुखी बनाउने प्रतिबद्धता जनाउनुभएको छ । उहाँका अनुसार यसपटकको चुनाव व्यक्ति–व्यक्तिको प्रतिस्पर्धा मात्र नभई विकासको दृष्टिकोण र राजनीतिक जिम्मेवारी बोधको परीक्षा हो ।
स्थानीय तहमा बढ्दो राजनीतिक चासो र जनसहभागिताले रौतहट क्षेत्र नम्बर–२ को चुनावलाई यसपटक झनै चासोपूर्ण बनाएको छ
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया