काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपाल (रामुपाने)ले आसन्न आमनिर्वाचनलाई लक्षित गर्दै आफ्नो चुनावी घोषणापत्र–२०८२ सार्वजनिक गरेको छ । ‘स्वदेशवादीको आह्वान, जाँतो छापमा मतदान’ नारासहित पार्टीका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोले घोषणापत्र सार्वजनिक गर्नुभएको हो ।
मंगलबार (माघ २७) काठमाडौंमा आयोजित घोषणापत्र सार्वजनिक कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष कमला गुरुङ, महासचिवद्वय केशव झा र अनिल महासेठ, सचिव शेरबहादुर शाह लगायत पार्टीका शीर्ष नेताहरूको उपस्थिति रहेको थियो ।
घोषणापत्र सार्वजनिक गर्दै अध्यक्ष महतोले मुलुकमा बढ्दो आर्थिक निर्भरता, राष्ट्रिय स्वाधीनताको चुनौती र जनजीवनमा देखिएको असमानतालाई अन्त्य गर्न स्वदेशमुखी नीति अपरिहार्य भएको बताउनुभयो । उहाँले पार्टीको घोषणापत्रले राष्ट्रिय स्वाधीनता, स्वदेशी उत्पादनको संरक्षण, आर्थिक आत्मनिर्भरता, सामाजिक न्याय र समावेशी लोकतन्त्रलाई केन्द्रमा राखेको उल्लेख गर्नुभयो ।
रामुपानेको घोषणापत्रमा स्वदेशी उद्योग प्रवर्द्धन, कृषिमा आत्मनिर्भरता, रोजगारी सिर्जना, भ्रष्टाचार नियन्त्रण, सुशासन, संघीयताको प्रभावकारी कार्यान्वयन र सीमावर्ती क्षेत्रका समस्याको समाधान जस्ता विषयलाई प्राथमिकताका साथ समेटिएको पार्टीले जनाएको छ । साथै, मधेस, पहाड र हिमालबीचको आर्थिक तथा सामाजिक असन्तुलन अन्त्य गर्ने नीति पनि घोषणापत्रमा समावेश गरिएको बताइएको छ ।
कार्यक्रममा बोल्दै पार्टीका नेताहरूले घोषणापत्र केवल चुनावी दस्तावेज नभई राष्ट्रिय मुक्ति, पहिचान र स्वाभिमानको राजनीतिक दस्तावेज भएको दाबी गरे । उनीहरूले जनताको मतबाट वैकल्पिक राजनीतिक धार स्थापित गर्ने विश्वाससमेत व्यक्त गरे ।
राष्ट्रिय मुक्ति पार्टी नेपालले आगामी निर्वाचनमा जाँतो छापमार्फत जनताको समर्थन प्राप्त गरी संसद्मा प्रभावकारी उपस्थिति जनाउने लक्ष्य लिएको जनाएको छ ।
रामुपानेको चुनावी घोषणापत्र पढ्नोस्ः
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया