श्रावण २०, २०८३ बुधबार August 5, 2026

आज ३०औँ जनयुद्ध दिवस : क्रान्ति र शान्तिको सुरुआतस्थल रुकुमपूर्वमा जनयुद्ध दिवस मनाउँदै नेकपा

प्रचण्डले आज पहिलोपटक रुकुमपूर्वमा जनयुद्ध दिवस मनाउदैं

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रुकुमपूर्व। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रुकुमपूर्वमा ३०औँ जनयुद्ध दिवस मनाउँदै छ । जनयुद्धको सुरुआत भएको रुकुमपूर्वमा सहिद तथा बेपत्ता परिवार, घाइते, अपाङ्ग र रुकुमेलीसँग जनयुद्ध दिवस मनाउन पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार साँझ रुकुमपूर्व आइपुग्नुभएको छ ।

विसं २०५२ फागुन १ गते तत्कालीन माओवादीले सुरु गरेको जनयुद्ध दश वर्षसम्म चलेको थियो । जनयुद्धका प्रमुख नेता प्रचण्ड पहिलोपटक रुकुमपूर्वमा जनयुद्ध दिवस मनाउन आउनुभएको हो । रुकुमपूर्व जनयुद्धको उपलब्धि सङ्घीयतापछि बनेको कान्छो जिल्ला हो । सङ्घीयताले जन्माएको रुकुमपूर्वबाट उहाँ प्रतिनिधिसभा सदस्य उम्मेदवार हुनुहुन्छ ।

भूमे गाउँपालिका–२ खाबाङ बगरमा आज आयोजना हुने जनयुद्ध दिवसमा नेकपाका संयोजक प्रचण्डले सहिद परिवारलाई सम्मान गर्नुहुने कार्यक्रम रहेको नेपाली कम्युनिष्ट पार्टी रुकुमले जनाएको छ । रुकुमपूर्वमा २५२ जना सहिद छन् ।

क्रान्ति र शान्ति सुरुआत गर्ने रुकुम

राजतन्त्रको अन्त्य र नयाँ जनवादी व्यवस्था कायम गर्ने उद्देश्यका साथ तत्कालीन नेकपा (माओवादी)ले २०५२ फागुन १ गते जनयुद्धको सुरुआत गरेको थियो । रुकुमको आठबीसकोट प्रहरी चौकी, रोल्पाको होलरी प्रहरी चौकी, सिन्धुलीको सिन्धुलीगढी प्रहरी चौकी र गोरखाको च्याङ्लीको कृषि विकास बैंकमा आक्रमण गरी माओवादीले जनयुद्ध सुरुआत गरेको थियो ।

imgजनयुद्ध अगाडि बढाउन माओवादीले रुकुम (पश्चिम र पूर्वी) र रोल्पालगायत जिल्लालाई आधार इलाका बनाएको थियो । रुकुमपूर्वलाई आधार इलाका बनाउन जिल्लामा रहेका प्रहरी कार्यालयहरूमाथि चरणबद्ध आक्रमण गरेर सफलता पाएको थियो ।

विसं २०५३ वैशाख २३ मा उपल्लो सेराको छेरावाङमा माओवादीले एक प्रहरीको ज्यान जाने गरी प्रहरीलाई पहिलोपटक एम्बुस धरापमा पारेको थियो । विसं २०५४ माघ १६ गते क्युवाङमा एम्बुस आक्रमण गरेर माओवादीले नेपालमै पहिलोपटक थ्रीनट राइफल कब्जा गरेको थियो ।

माओवादीले २०५६ असोज ५ महतमा रहेका प्रहरीमाथि आक्रमण गरेर कब्जा गर्नुका साथै प्रहरी नायब उपरीक्षक ठूले राईसहितका प्रहरी जवानहरूलाई नियन्त्रणमा लिएको थियो । राई जनयुद्धमा माओवादी नियन्त्रणमा परेका उच्च प्रहरी अधिकारी थिए । माओवादीले आफ्ना शीर्षनेता देव गुरुङसँग राईलाई साटफेर गरेको थियो । विसं २०५७ चैतमा रुकुमकोट चौकी आक्रमण गरी पूर्ण कब्जा गरेको थियो । त्यस आक्रमणमा ३२ प्रहरी र आठ छापामार गरी ४० जनाको ज्यान गएको थियो ।

विसं २०६१ माघमा रुकुमको लाबाङमा बसेको माओवादी पोलिटब्यूरो बैठकले डा बाबुराम भट्टराईलाई पार्टीबाट कारबाही गरेको थियो । विसं २०६२ असोजमा रुकुमको चुनवाङमा बसेको तत्कालीन नेकपा (माओवादी)को केन्द्रीय समितिको बैठकले लोकतान्त्रिक गणतन्त्रको कार्यदिशा पारित गर्दै शान्तिपूर्ण राजनीतिक यात्रा तय गरेको थियो ।

माओवादीको चुनवाङ बैठकको निर्णय कार्यान्वयनका क्रममा सात राजनीति दलबीच १२ बुँदे सहमति भएको थियो । सो सहमतिअनुसार जनयुद्ध र जनआन्दोलनको संयोजनबाट राजतन्त्रको अन्त्य हुनुका साथै गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता र सामाजिक न्यायसहितको समानुपातिक प्रणाली स्थापना भई शान्ति स्थापना भएको थियो ।

क्रान्ति र शान्ति स्थापनाको सुरुआत भएको रुकुमपूर्वबाट नेकपाका संयोजक प्रचण्ड प्रतिनिधिसभा सदस्य उम्मेदवार हुनुहुन्छ । आज जनयुद्ध दिवस मनाउनुअघि संयोजक प्रचण्डले छापामारले प्रहरी नायब उपरीक्षक ठूले राईलाई नियन्त्रणमा लिएको महतगाउँ र बाबुराम भट्टराईलाई कारबाही गर्नेगरी बैठक बसेको लावाङगाउँको भ्रमण गर्नुहुने छ । उहाँले ती गाउँमा जनभेटघाट गर्नुहुनेछ । प्रचण्ड आजै चुनवाङ पुग्नुहुने कार्यक्रम छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस्
२०८३ श्रावण २०, बुधबार
विश्वको उत्कृष्ट सूचीमा लायन्स ३२५ के, गर्भनर अधिकारीलाई पिआइडी बजोरियाको बधाइ सन्देश
२०८३ श्रावण २०, बुधबार
निर्वासनबाटै सक्रिय हसिना
२०८३ श्रावण २०, बुधबार
अन्ततः सलमानको अपोजिटमा ‘सर्वोत्कृष्ट खलनायक’ उपाधी जित्ने अभिनेता
२०८३ श्रावण २०, बुधबार
कोरियाली राजदूत पार्कद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट
२०८३ श्रावण २०, बुधबार
अमेरिकी नौसेनाद्वारा ७६.६ अर्ब डलरमा थप १४ आणविक पनडुब्बी बनाउँदै, कारण चीन
२०८३ श्रावण २०, बुधबार
केन्द्रीय बैंक ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै
२०८३ श्रावण २०, बुधबार