काठमाडौं । ‘प्रगतिशील लोकतन्त्र, उन्नतिशील राष्ट्र’ नारासहित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।
आइतबार राजजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत पार्टी अध्यक्ष परिषद्का सदस्यहरू सुदन किराती, दुर्गा सोब र सन्तोष परियार लगायतले संयुक्त रूपमा प्रतिबद्धतापत्र सार्वजनिक गरे ।
आगामी निर्वाचनमार्फत अग्रगामी वैकल्पिक शक्तिको सार्थक पहल सम्भव भएमा मुलुकको राजनीतिक पुनर्संरचनासहित सुशासन र समृद्धिको ढोका खुल्ने विश्वास प्रलोपाको छ ।
प्रदेशहरूको पुनर्संरचना, प्रत्यक्ष निर्वाचित राष्ट्रपति र मुख्यमन्त्री, एक व्यक्ति-एक पद र दुई कार्यकालको कानूनी व्यवस्था, पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गरी सांसदहरूलाई कानुन निर्माणमामात्र सीमित गर्नुपर्ने प्रलोपाको अवधारणा छ ।
पार्टीका केन्द्रीय सदस्य तथा भक्तपुर २ का उम्मेदवार जन्मदेव जैसीले संविधान व्यवहारतः कार्यान्वयन नहुँदा पूरा हुन नसकेका जनआकांक्षा तथा जेन-जी र नेपाल सरकारबीच भएको १० बुँदे सम्झौता कार्यान्वयनका यो चुनाव निर्वाचन कोसेढुंगा सावित हुने बताए ।
प्रलोपा नेतृत्वले हाल अभ्यासमा रहेको लोकतन्त्रले जनतालाई पाँच वर्षमा एक पटक मतदान गर्ने अधिकारमा मात्र सीमित गरेको टिप्पणी गरेको छ । लोकतन्त्रका नाममा दलतन्त्र, गुटतन्त्र र नेतातन्त्र मौलाएको जनगुनासो बढिरहेको उल्लेख गर्दै पार्टीले ‘प्रगतिशील लोकतन्त्र’ को अवधारणा अघि सारेको जनाएको छ ।
पार्टीका अनुसार यसको मूल आधार पूर्ण समावेशीता, सामाजिक न्याय र समता, जनसहभागितामूलक शासन, आर्थिक तथा सांस्कृतिक अधिकारको सुनिश्चितता, सुशासन, पारदर्शिता तथा अग्रगामी परिवर्तनमा आधारित हुनेछ ।
प्रलोपा नेतृत्वले पुराना दलहरू वर्तमान समस्याको समाधान र भविष्यका सम्भावनाको यथार्थ मूल्यांकन गर्न असफल भएको आरोप लगाउँदै आफूहरूसँग मुलुकलाई समृद्ध बनाउने स्पष्ट दृष्टिकोण, वैचारिक स्पष्टता, युवा तथा दूरदर्शी नेतृत्व, ठोस योजना र कार्यक्रम रहेको दाबी गरेको छ ।
प्रतिनिधिसभा निर्वाचनलाई राजनीतिक रूपान्तरणको ऐतिहासिक अवसरका रूपमा चित्रण गर्दै आफूलाई अग्रगामी वैकल्पिक शक्तिका रूपमा स्थापित गर्ने लक्ष्य सार्वजनिक गरेको छ । प्रलोपाको घोषणापत्र पूर्णपाठ यहाँबाट हेर्न सकिन्छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया