काठमाडौँ, फागुन १७ गते । पूर्वमन्त्री रन्जिता श्रेष्ठमाथि थुनामा राखी मुद्दाको पुर्पक्ष गराउन सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार हाल विघटित प्रतिनिधि सभा सदस्य रन्जिता श्रेष्ठविरुद्ध ७८ लाख रुपियाँ बिगो कायम गरी दर्ता भएको भ्रष्टाचार मुद्दा दायर भएको थियो ।
मिति २०८२ असोज २२ मा आरोपपत्र दायर गरिएको प्रस्तुत मुद्दामा विशेष अदालत काठमाडौँबाट निज प्रतिवादीलाई जम्मा पाँच लाख रुपियाँ धरौटी लिइ मुद्दाको पुर्पक्ष गर्ने गरी २०८२ फागुन १० गते थुनछेक आदेश भएकोमा उक्त आदेश बेरीतको देखिएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिवादी श्रेष्ठलाई विशेष अदालत ऐन, २०५९ को दफा ७ को देहाय (ङ) बमोजिम थुनामा राखी मुद्दाको पुर्पक्ष गरी पाउन मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को परिच्छेद ७ अन्तर्गतको दफा ७३ तथा न्याय प्रशासन ऐन, २०७३ को दफा १५ बमोजिम सर्वोच्च अदालतमा आइतबार निवेदनपत्र दर्ता गरिएको आयोगले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया