बैसाख ५, २०८३ शनिबार April 18, 2026

ओपिडी दुई दिन बन्द : सरकारले दिन सकेन विकल्प

आइतबारका लागि तय गरिएका शल्यक्रियालगायतका सेवा बिरामीको अवस्था हेरी पुनः तालिका मिलाइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : सरकारले शनिबार र आइतबार सरकारी कार्यालय तथा शैक्षिक क्षेत्रमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय ग¥यो । इन्धन समस्याको कारण देखाउँदै दिइएको दुईदिने बिदा सरकारी स्वास्थ्य संस्थाका हकमा भने लागू गरिएन । ती संस्था आइतबार पनि खुल्ने निर्णय गरियो । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त अस्पतालले भने हप्तामा पाँच दिन मात्रै अस्पताल चलाए ।

नेपाल चिकित्सक संघलगायतको निरन्तर विरोधपछि सरकार एक सातामै निर्णय सच्याउन बाध्य भयो । निर्णय उल्टिएसँगै अब सरकारी अस्पतालहरूमा पनि बहिरंग (ओपिडी) सेवा आइतबार पनि बन्द हुनेछ ।

स्वास्थ्यमन्त्री निशा मेहता, स्वास्थ्य सचिव डा. विकास देवकोटा र १४ वटा पेसागत संगठनका प्रतिनिधिबीच मन्त्रालयमा भएको छलफलपछि सरकारले यो निर्णयमा लचकता देखाएको हो । स्वास्थ्य क्षेत्रमा क्रियाशील १४ वटा संयुक्त पेसागत संगठनको चर्को दबाबपछि सरकार निर्णय फेर्न बाध्य भएको हो । संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीको संयोजकत्वमा रहेको दबाब समूहले स्वास्थ्यकर्मी पनि अन्य सरकारी कर्मचारीसरह दुई दिन बिदाको हकदार हुनुपर्ने माग गर्दै आएको थियो । उनीहरूले बढ्दो कार्यबोझ र मानसिक तनावलाई कारण देखाउँदै आन्दोलनको चेतावनीसमेत दिएका थिए ।

ओपिडी सेवा बन्द हुने भएपछि हजारौं नागरिक सेवाबाट वञ्चित हुने भएका छन् । मौसमअनुसार प्रकोप फैलिरहने गरेकोमा ओपिडी सेवा बन्द गरिँदा नागरिक प्रभावित छन् । दुई दिन बिदा दिँदा नागरिकको स्वास्थ्यमा प्रभाव परे पनि स्वास्थ्य मन्त्रालयले भरपर्दो विकल्प दिन सकेको छैन ।

शनिबार र अन्य सार्वजनिक बिदामा सामान्य नागरिकले उपचार नपाएको गुनासो गर्छन्, ललितपुरका रोहित मानन्धर । उनको फलोअपको पालो आइतबार थियो । आइतबार बन्द हुने भएपछि उनी शुक्रबारै वीर अस्पताल गए । तर त्यो दिन डाक्टर नआएपछि उनी जाँच नगराई फर्किन बाध्य भए । ‘शनिबार उपचार गराउन जाँदा इमरजेन्सी होइन भनेर जाँच नै गर्दैनन्,’ उनले भने, ‘निजीमा गएर महँगो पैसा तिरेर उपचार गराउनुप¥यो ।  झन् दुई दिन ओपिडी बन्द हुँदा सामान्य नागरिकको अवस्था के होला ?’ उनले भने ।

स्वास्थ्य मन्त्रालयले भने स्वास्थ्य सेवा निरन्तर र व्यवस्थित रूपमा सञ्चालन हुने प्रबन्ध मिलाएको जनाएको छ । बिरामीको नियमित उपचार र निगरानी प्रभावित नहोस् भन्ने उद्देश्यले आकस्मिक तथा अन्तरंग सेवाहरू २४सै घण्टा सञ्चालनमा रहने व्यवस्था यथावत् राखिएको जनाएको छ ।

आइतबारका लागि तय गरिएका शल्यक्रियालगायतका सेवा बिरामीको अवस्था हेरी पुनः तालिका मिलाइनेछ । आपत्कालीन अवस्थामा बिरामीलाई आवश्यक परेमा नजिकको उपयुक्त अस्पतालमा रिफर गर्ने व्यवस्था तथा एम्बुलेन्स सेवा निरन्तर तयारी अवस्थामा रहने मन्त्रालयले जनाएको छ ।

आइतबार ओपिडी सेवा बन्द भए पनि आकस्मिक सेवा चौबीसै घण्टा खुला रहने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सूचना अधिकारी डा. भक्तबहादुर के.सी बताउँछन् । उनले भने, ‘ओपिडी सेवा थोरै पोस्टपोन्ड गरे पनि हुने सेवा हुन्, इमरजेन्सी सेवा त जतिबेला जहाँबाट लिए पनि हुन्छ ।’ उनी भन्छन्, ‘ओपिडी सेवाभित्र इमरजेन्सी हुन्छ, आइसियू हुन्छ, अन्तरंग सेवा, सिसियू आइसियू सेवा चौबीसै घण्टा सञ्चालन हुन्छ । आजका दिनसम्म सार्वजनिक बिदामा सेवा बन्द भएको छैन ।’ मध्यान्ह दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया