जेठ १, २०८३ शुक्रबार May 15, 2026

चलचित्रमा सङ्घर्ष र बलिदानका कथा चित्रण गर्नुपर्नेमा जोड

चलचित्र व्यापार मात्रै नभई समाजप्रतिको उत्तरदायित्व हो भन्ने बोध गराउन खुला छलफल आवश्यक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, जेठ १ गते । चलचित्रमा चित्रण गरिएका पात्रको जीवनमै मेलखाएमा के गर्ने भन्ने विषयमा सरोकार भएकाहरूले चासो व्यक्त गरेका छन् । आज मार्टिन चौतारीमा आयोजित ‘नेपाली चलचित्रमा जातको चित्रण र यसको सामाजिक-राजनीतिक प्रभाव’ विषयमा भएको छलफलमा सहभागीले कुनै पनि जाति, समुदाय वा वर्गको दुःख र बेदनाभन्दा सङ्घर्ष र बलिदानका कथा चित्रण गर्नुपर्नेमा जोड दिएका हुन् ।

कुनै जाति लिङ्ग या धर्मका विषयलाई नाटक तथा चलचित्रमा पात्र चित्रण गर्दा कसरी गर्ने रु, कतै यस्ता चित्रणले व्यक्ति वा जातिका परम्परा तथा संस्कारमाथि आँच आउँदैनन् रु लगायत विषयमा ध्यान पुर्याउनुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका हुन् ।

हुन त चित्र या चलचित्रमा यस्तो चित्रण कुनै व्यक्तिको वास्तविक जीवनमा मिल्न गएमा संयोग मात्रै हुनेछ भनिएको हुन्छ । तर, त्योभन्दा यस्ता चित्रणले कुनै जाति वा वर्गको मानसिकता र परम्परामा ठेस भने पूराइरहेका हुन्छन् ।

यस्तै, एउटा उदाहरण हो चलचित्र ‘लालीबजार’ १ लालीबजारले यतिबेला विरोध र प्रशंसा दुवै पाइरहेको छ । बादी समुदायको देह व्यापारलाई मुख्य केन्द्र बनाएर चलचित्र निर्माण गरिएकाले त्यस समुदायले विरोध जनाइरहेका छन् । समुदायको संवेदनालाई वास्ता नगरी नकारात्मक दृष्टिले चलचित्र पस्किएको भन्ने बादी समुदायको आरोप छ ।

उक्त चलचित्रको विरोध गरिरहनुभएका बादी समुदायका गोपाल नेपाली बादीले भन्नुभयो, “लालीबजार चलचित्र हेरेपछि मेरी आमा र दिदिबहिनीको इज्जत उदाङ्गो पारिएको महसुस भयो । म चलचित्र हेरेपछि रुदै हलबाट फर्किएँ । मेरो रोदनमा मेरो समुदायमाथि गरिएको अपमान र नकारात्मक चित्रणको वेदना थियो ।”

उहाँका अनुसार बादी समुदायका महिलाले इतिहासमा राज्य क्रान्तिका बेला दिएको योगदानका सहासीपूर्ण कथाहरू छन् । बादी समुदायले संरक्षण गर्दै आएको कला, सङ्गीत र साहित्यको इतिहाससमेत छ । ती छायाँमा पारेर मात्रै देह व्यापारको पाटो देखाइ चलचित्रले बजारीकरण गरेको उहाँको गुनासो छ ।

गोपालले चलचित्रमा जात वा कुनै समुदायको विषय उठान गर्दा त्यसका पात्रलाई सकारात्मक र रचनात्मक ढङ्गले उठान गर्ने कला नेपाली चलचित्र निर्मातामा कम देखिएको बताउनुभयो ।

अनुसन्धानकर्ता विनीता नेपालीका अनुसार चलचित्र समाजको ऐना मात्रै नभई समाजको धारणा निर्माण गर्ने मञ्च पनि हो । जहाँ खास गरी दलित समुदायका पात्रलाई चलचित्रमा प्रस्तुत गरिने शैली गरिबी, दुःखी, दिनहीन पात्रको रूपमा हुने गरेकामा यसलाई परिवर्तन गरी सङ्घर्ष र बलिदानका विषय समेट्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

अनुसन्धानकर्ता द्वेय विनिता र अमर विश्वकर्माले डिग्निटी इनिसिएटीभले मार्टिच चौतारीमा आयोजना गरेको ‘नेपाली चलचित्रमा जातको चित्रण र यसको सामाजिक–राजनीतिक प्रभाव’ अध्ययनको निष्कर्षले दलित समुदायलाई कमजोर  पात्रमा मात्रै सीमित राखेको प्रष्ट पारेको उहाँले जानकारी दिनुभयो ।

आज मार्टिन चौतारीमा विनिताले अध्ययनपत्र प्रस्तुत गर्दै भन्नुभयो, “दलित क्रान्तिका थुप्रै सङ्घर्षशील र बलिदानी पात्रहरू छन्, जुन चलचित्रमा देखाइँदैन । समुदायको भावना बुझ्ने र न्याय दिने चलचित्र निर्माताको अभाव छ । यसलाई सकारात्मक संवाहकका रूपमा चित्रण गर्नुपर्ने आवश्यकता छ ।”

दलित समुदायको पात्रको पिडा बिक्री गरेरै नेपाली चलचित्रमा अहिलेसम्म सबैभन्दा बढी आम्दानी गर्ने चलचित्र हो, ‘पूर्णबहादुरको सारङ्गी’ । उक्त चलचित्रमा सारङ्गी बजाउने गाइने समुदायले छोरा पढाउन गरेको सङ्घर्षलाई मूल कथा बनाइएको छ । चलचित्रमा पूर्णबहादुरलाई मगन्ते समुदायको पात्रका रूपमा बारम्बार परिभाषित गर्न खोजिएको अनुसन्धानकर्ता विनीताको बुझाइ छ । “दैवले दिएको नियति भन्दै यी पात्रले आफूमाथि भएको विभेद्लाई स्वीकार गरेको देखाइएको छ । जुन यर्थाथमा राज्यले नीति व्यवस्था ल्याएर समुदायमाथि गरेको विभेद्को कुनै चर्चा गरिएको छैन”, उहाँले भन्नुभयो ।

अनुसन्धानकर्ता विनिताले थप्नुभयो, “पञ्चायतकालमा दलित पात्रलाई यतिधेरै निरीह देखाइँदैन थियो । जति अहिलेका चलचित्रले देखाएका छन् ।” नेपालको पहिलो चलचित्र ‘आमा’पछि ‘माइतीघर’, ‘परालको आगो’, ‘पण्डित बाजेको लौरी’, ‘कालो पोथी’, ‘प्रकाश’ लगायत चलचित्रमा अप्रत्यक्ष रूपमा दलित पात्रको दृश्य देखाइएको छ । त्यसपछि दलितकै मुद्दामा बनेको चलचित्र ‘सिमाना’ (सन् १९९६), ‘बाटो मुनीको फूल’ (सन् २०१०), ‘प्रसाद’, ‘सुनपानी’, ‘प्रसाद–२’, ‘पुजार सार्की’, ‘वसन्त’ हुन् ।

दलित पात्र उभाइएका चलचित्रमा हालसम्म ‘छड्के’ (२०१३), ‘कब्बडी’ र ‘ऊनको स्वीटर’ रहेका छन् । अनुसन्धानकर्ता विनिताको अनुसन्धानले यी सबै चलचित्रमा जात व्यवस्थाको गहिरो अध्ययन नभई बजारीकरणको हिसाबले दलित पात्रलाई उभ्याइएको बताउनुभयो । “कतिपय प्रसङ्गमा दलित पात्र नउभाए पनि चलचित्र बन्ने स्थिति रहन्छ । तर, त्यहाँ दलितको गरिमा घट्ने गरी पात्र राखिएको पाइन्छ”, उहाँले भन्नुभयो ।

उदारहणका रूपमा विनिताले चलचित्र ‘प्रसाद’ मा दलित पुरुषले गैरदलित महिलालाई विहे गरेको र बलात्कारमा परी बच्चा जन्माएकी ती महिला पात्रको सन्तान प्रसाद सम्झी ग्रहण गरेको दृश्य देखाइएको बताउनुभयो । “जुन, कथा देखाउन दलित पुरुष पात्र राख्न जरुरी नै थिएन”, उहाँले भन्नुभयो ।

मार्टिन चौतारीका अनुसन्धानकर्ता कैलाश राईले चलचित्र बनाउँदा सरोकार भएका व्यक्ति वा समुदायसँग छलफल गरी समुदायको गहिराइ बुझ्नै पर्ने बताउनुभयो । “एउटा चलचित्रले समाजमा ठूलो प्रभाव पर्छ । चलचित्र व्यापार मात्रै नभई समाजप्रतिको उत्तरदायित्व हो भन्ने बोध गराउन खुला छलफल आवश्यक छ”, उहाँले भन्नुभयो ।

अनुसन्धानकर्ता विश्वकर्माका अनुसार दलित वा कुनै सिमान्तकृत समुदायका मुद्दा उठान गर्नु लगत भने होइन । समाजमा लगत भाष्य निर्माण गर्ने खालका चलचित्र बनाउन नमिल्ने बताउँदै उहाँले कुनै पनि समुदाय वा वर्गको त्याग, सङ्घर्ष र बलिदानको कथा समेटेर सकारात्मक सन्देशसहित चलचित्र बनाउन सकिने धारणा राख्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया