काठमाडौं । फागुन २१ गते भएको प्रतिनिधिसभा चुनावको अन्तिम मतपरिणाम नआउँदै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र सोही पार्टीका वरिष्ठ नेता बालेन्द्र साहसँग टेलिफोनमार्फत कुराकानी गर्नुभएको थियो । प्रधानमन्त्री मोदीले भारत र नेपालबीचको सम्बन्ध आगामी वर्षहरूमा अझ नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो । चुनावबाट झण्डै दुईतिहाइ बहुमत ल्याएको रास्वपाले बालेन्द्र साहको नेतृत्वमा चैत १२ गते सरकार गठन गर्यो । नयाँ सरकार बनेसँगै नेपाल-भारत सम्बन्धबारे निकै चासोहरू सार्वजनिक भए । बालेन्द्र साहको नेतृत्वमा नयाँ सरकार बनेसँगै नयाँ दिल्लीले विदेशसचिव विक्रम मिश्रीलाई काठमाडौं पठाउने निर्णय गरेको थियो ।
भारतले प्रधानमन्त्री बालेन्द्र साहलाई नै भ्रमणको निम्तो पठाएको थियो । तर, गत १८ वैशाखमा भारतको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै कैलाश मानसरोवर यात्रा चीन सरकारसँगको समन्वयमा सञ्चालन हुने घोषणा गरेसँगै विरोधमा नेपालले कूटनीतिक नोट पठाएपछि दुई देशबीच कूटनीतिक टीका टिप्पणी सुरु भयो । सीमा विवाद बल्झेसँगै भारतीय विदेश सचिव मिश्रीको दुई दिने नेपाल भ्रमण स्थगन भयो । सीमा विवादसँगै प्रधानमन्त्री साहले द्विपक्षीय भेटवार्ता गर्न नमानेकाले मिश्रीको भ्रमण रद्द भएको स्रोतको दाबी छ ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जिओ गोरलाई पनि प्रधानमन्त्री साहले भेट्न अस्वीकार गर्नुभएको थियो । नयाँ सरकारका प्राथमिकता र द्विपक्षीय सम्बन्धलाई नयाँ आयाम दिने तरिकाले हुने तय गरिएको मिश्री भ्रमण स्थगित भएसँगै दुई देशबीचको कूटनीतिक संवाद ठप्प छ । साथै, प्रधानमन्त्री साहको दिल्ली भ्रमणको अनिश्चितता कायम छ ।
भारतसँगको कूटनीतिक सम्बन्धमा देखिएको अनिश्चितताबीच सरकारको नेतृत्व गरिरहेको दल रास्वपाका सभापति रवि लामिछाने नयाँदिल्ली जाने हुनुभएको छ । भारतीय विदेश सचिवको नेपाल भ्रमण रद्द हुनु र नेपालका नवनिर्वाचित प्रधानमन्त्रीको परम्परागत भारत भ्रमण पनि टुंगो नलाग्नुले दक्षिणी छिमेकीसँगको सम्बन्धलाई लिएर प्रश्न उठ्न थालेका बेला सभापति लामिछाने यही जेठ तेस्रो साता भारत भ्रमणमा जान लाग्नुभएको हो । सभापति लामिछाने जेठ १८ गते भारतको राजधानी नयाँदिल्ली जान लागेको रास्वपाले जनाएको छ । उहाँ २० गते फर्कने बताइएको छ । फागुन २१ को निर्वाचनपछि प्रतिनिधिसभामा झण्डै दुई तिहाइको बहुमत प्राप्त गरेको रास्वपाका तर्फबाट पार्टी प्रमुखको हैसियतले हुन लागेको यो पहिलो विदेश भ्रमण हो ।
भ्रमणको क्रममा लामिछानेले भारतीय विदशेमन्त्री एस.जयशंकर र अन्य मन्त्रीहरू, विदेश सचिव विक्रम मिश्रीसहित उच्च अधिकारीहरूसँग भेट तय भएको रास्वपाका नेताहरूले जानकारी दिएका छन् । लामिछानेको यो भ्रमण पार्टीगत भएकाले भारतको सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) को मुख्यालयमा स्वागत गर्ने तयारी छ । जहाँ उहाँले भाजपाका अध्यक्ष नितिन नवीनसँग भेटवार्ता गर्ने कार्यक्रम छ । भारतले सत्तारूढ पार्टीका प्रमुख नेताहरूलाई विदेश मन्त्रालयको निमन्त्रणामा भ्रमण गराउँदै आएको छ । यसअघि नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा, तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भारतीय विदेश मन्त्रालयको निमन्त्रणामा भ्रमण गरिसक्नु भएको छ । देउवा र दाहाल दुवै भाजपा मुख्यालय पनि पुग्नुभएको थियो ।
यसअघि संसद्को चौथो पार्टी र दुईपटक गृहमन्त्री भए पनि लामिछाने भारत भ्रमणमा जानुभएको थिएन । नयाँ सरकार गठनपछि पहिलो पटक सभापति लामिछानेको नेतृत्वमा रास्वपाको प्रतिनिधिमण्डल भारत भ्रमणमा जान लागेको हो । यसबीच भारतको राजधानी नयाँदिल्लीमा बाघ, चितुवा लगायतका वन्यजन्तु संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय अन्तरसरकारी समूह ‘बिग क्याट अलायन्स’ को पहिलो सम्मेलनमा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनाल जाने तय भएको थियो । भारतीय प्रधानमन्त्री मोदीले उद्घाटन गर्ने यो सम्मेलन जेठ १९ र २० गते चल्ने भनिएको थियो । तर, विश्वव्यापी इबोला संक्रमणको चिन्ताबीच भारतले अहिलेलाई सम्मेलन स्थगित गरेको छ । त्यही सम्मेलनका क्रममा परराष्ट्रमन्त्री खनालले भारतीय विदेशमन्त्री एस जयशंकर र वाणिज्यमन्त्री पियूष गोयलसँग साइडलाइन वार्ता गर्ने तयारी भइरहेको थियो । भारतीय विदेशमन्त्री जयशंकरलाई नेपाल भ्रमणको औपचारिक निम्तो दिने तयारी पनि थियो ।
झण्डै दुईतिहाइ बहुमतसहित आएको नयाँ दलको नयाँ सरकारसँग भारतीय संस्थापनको सम्बन्ध विस्तारमा महत्त्वपूर्ण कूटनीतिक खुड्किलो बन्नसक्ने अपेक्षा गरिएको थियो । तर, सम्मेलन स्थगनसँगै नेपाल-भारत सम्बन्धमा देखिएको अनिश्चितता हटाउने कूटनीतिक पहल लिन नयाँ बाटो खोज्नुपर्ने बेला सत्तारूढ दलका सभापतिको भारत भ्रमणलाई निकै महत्त्वका साथ हेरिएको छ । भारत र चीनले लिपुलेक नाका हुँदै पुनः व्यापार थाल्ने घोषणा गरेपछि नेपालले दुवै देशलाई कूटनीतिक नोट पठाएर त्यसको विरोध जनाएको छ । बालेन्द्र सरकार बनेयता नेपाल भारत सम्बन्धमा कुनै नयाँ प्रगति हुन सकेको छैन ।
रास्वपा सभापति रवि लामिछानेको दुई दिने भारत भ्रमणबारे भारतीय मिडियाले चासो देखाएका छन् । लामिछानेको आसन्न भारत भ्रमणसम्बन्धी समाचार भारतीय मिडियाले चासो र उत्सुकताका साथ प्रकाशन गरेका हुन् । भारतीय अखबार नवभारत टाइम्सले सभापति लामिछानेलाई नेपालको शक्तिशाली व्यक्ति र बालेन्द्र साहलाई प्रधानमन्त्री उल्लेख गर्दै भ्रमणको महत्त्वबारे समाचार छापेको छ । अमर उजाला र हिन्दुस्तान समाचार एजेन्सीले पनि लामिछानेको भ्रमणबारे समाचार प्रकाशित गर्दै उच्च अधिकारी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ताको सम्भावना औँल्याएका छन् । यद्यपि, केही भारतीय सञ्चारमाध्यमले भ्रमणको मिति तय हुन बाँकी रहेको जनाएका छन् । भारतीय अखबार नवभारत टाइम्सको अनलाइन संस्करणमा लामिछानेको भ्रमणबारे विस्तृत समाचार प्रकाशन भएको छ ।
भ्रमणबारे अनलाइन संस्करणको लेखिएको छ, ‘लामिछाने यतिबेला नेपालको सबैभन्दा शक्तिशाली व्यक्तिका रूपमा कहलिएका छन् । देशमा उनको पार्टी रास्वपाको सरकार छ र बालेन साह प्रधानमन्त्री छन् । उनको दिल्ली भ्रमण यसर्थ पनि अहम् छ कि काठमाडौंमा रास्वपाको सत्ता आएपछि र बालेन साह प्रधानमन्त्री भएपछि नेपाल र भारतका बीच कुनै उच्चस्तरीय भ्रमण भएको छैन ।’
गत फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट रास्वपा सत्तामा आएपछि र बालेन साह प्रधानमन्त्री भएपछि काठमाडौं–दिल्ली सम्बन्ध सुधार हुने संकेत मिलेको तर त्यस्तो हुन नसकेको पनि नवभारत टाइम्सको अनलाइन संस्करणमा प्रकाशित समाचारमा उल्लेख छ । पछिल्लो समय लिपुलेकमाथि विवाद बढेको र व्यापारिक मुद्दामा पनि विवाद बढेको जिकिर गर्दै समाचारमा केही अधिकारीहरूको भ्रमण रद्द भएको परिस्थितिमा रवि लामिछानेको भ्रमण महत्त्वपूर्ण मानिएको उल्लेख छ ।
अर्को चर्चित भारतीय दैनिक अखबार अमर उजालाको अनलाइन संस्करणमा पनि लामिछानेको भ्रमणबारे समाचार प्रकाशन भएको छ । लामिछानेले भारत भ्रमणका क्रममा उच्च अधिकारीहरू र भारतीय जनता पार्टीका शीर्ष नेतृत्वसँग भेटवार्ता गर्नसक्ने समाचारमा उल्लेख छ । हिन्दुस्थान समाचार एजेन्सीले पनि रवि लामिछानेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता हुनसक्ने सम्भावना औँल्याइएको छ ।हिमालय टाइम्स
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया