श्रावण २३, २०८३ शनिबार August 8, 2026

कांग्रेसभित्रको शक्ति संघर्ष थप पेचिलो

सभापति गगनकुमार थापाले पूर्णबहादुर खड्का र शेखर कोइरालालाई वरिष्ठ नेता बनाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद र शक्ति संघर्ष थप पेचिलो बन्दै गएको छ । गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको नेतृत्वलाई चुनौती दिँदै पार्टीभित्र आफ्नो उपस्थिति बलियो बनाउने उद्देश्यका साथ कांग्रेसको संस्थापनइतर पक्षले विराटनगरमा बृहत् एकता भेलाको तयारी गरेको छ । नेतृत्वलाई दबाब दिन र आफ्ना मागहरू सम्बोधन गराउन कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा, डा. शेखर कोइराला र पूर्णबहादुर खड्का पक्षधरले आगामी जेठ ३१ गते विराटनगरको होटल मनास्लुमा ठूलो भेला आयोजना गर्न लागेका हुन् । यस कार्यक्रमका लागि आवश्यक सम्पूर्ण तयारीहरू तीव्र पारिएको छ ।

डा. शेखर कोइरालाको प्रमुख आतिथ्यमा हुने यस भेलामा डा. शशांक कोइराला, कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार, डा. मीनेन्द्र रिजाल, एनपी साउद, राजीव कोइराला लगायतका पूर्वकेन्द्रीय सदस्यहरू र हाल समितिमा रहेका केही नेताहरूको सहभागिता रहने निश्चित भएको छ । हालसम्मका भेला तथा बैठकहरूमा यी सबै शीर्ष नेताहरू एउटै मञ्चमा बिरलै मात्र उपस्थित भएका थिए, जसले गर्दा यो भेलालाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ ।

नेपाली कांग्रेस विराटनगर महानगर समितिका सभापति दीपक चापागाईंका अनुसार पार्टीलाई एकताबद्ध बनाउने मूल उद्देश्यका साथ यो भेला आयोजना गर्न लागिएको हो । ‘पार्टी एक बनाऔँ भन्ने उद्देश्यले भेला गर्न लागिएको हो, दुवै पक्षलाई एकै ठाउँमा ल्याउने योजनाअनुरूप नै हामीले यो कदम चालेका हौँ ।’ सभापति चापागाईंले स्पष्ट पार्नुभयो । उहाँका अनुसार कार्यक्रम गर्न केन्द्रीय समितिको अनुमति आवश्यक नपर्ने र पालिकास्तरबाटै पनि शीर्ष नेताहरूलाई आमन्त्रण गरेर पालिकाकै ब्यानरमा कार्यक्रम गर्न सकिने वैधानिक व्यवस्था छ ।

यद्यपि, प्रदेश समिति भने यो कार्यक्रमप्रति पूर्णरूपमा अनभिज्ञ देखिएको छ । कांग्रेस कोसी प्रदेशका सभापति उद्धव थापाले आफूहरूलाई यस कार्यक्रमबारे कुनै आधिकारिक जानकारी नआएको बताउनुभएको छ । ‘हामीलाई यो कार्यक्रमबारे आधिकारिक जानकारी छैन, कुनै औपचारिक च्यानलबाट मलाई जानकारी आएको छैन’ उहाँले भन्नुभयो । यसले पार्टीभित्रको समानान्तर गतिविधि र तल्लो तहसम्म पुगेको संवादहीनतालाई थप छताछुल्ल पारेको छ ।

सदस्यता नवीकरणमा चर्को विवाद

पछिल्लो समय कांग्रेसभित्र क्रियाशील सदस्यता नवीकरण र अद्यावधिक गर्ने विषयले ठूलो विवादको रूप लिएको छ । सभापति गगन थापा नेतृत्वको संस्थापन पक्षले चुनावमा नागरिकबाट अपेक्षित अनुमोदन नपाएको र पार्टीलाई भोट नहाल्नेहरूको कुनै पनि हालतमा सदस्यता कायम राख्न नसकिने भन्दै सदस्यता अद्यावधिक गर्ने अडान लिएको छ । चुनावमा कसले भोट हालेनन् भन्ने तथ्यांक निकाल्न पनि अद्यावधिक गर्नुपर्ने दाबी संस्थापन पक्षको छ ।

तर, इतर पक्षले भने १४औँ महाधिवेशनबाटै नवीकरण भइसकेकाले १५औँ महाधिवेशनसम्मका लागि पुनः अद्यावधिक गर्न नपर्ने अडान राख्दै आएको छ । संस्थापन पक्षले तल्लो तहका इमानदार कार्यकर्तामाथि झोक पोखेको र वडा सभापतिहरूको जिम्मेवारी खोसेर अर्कै व्यक्तिलाई सदस्यता नवीकरण गर्न दिएको भन्दै इतर पक्ष आक्रोशित छ । यही असन्तुष्टिलाई लिएर जेठ २२ गते मोरङ जिल्ला पार्टी कार्यालयमा क्रियाशील सदस्यता नवीकरणकै विषयमा भएको छलफलमा विवाद हुँदा सह-महामन्त्री डिना संग्रौलाविरुद्ध नाराबाजीसमेत भएको थियो ।

यसअघि पनि संस्थापनइतर पक्षले वैशाख २९ गते विराटनगरमै कोसी प्रदेशस्तरीय बृहत् भेला आयोजना गरेको थियो । त्यसैगरी, सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशमा पनि इतर पक्षले समानान्तर भेलाहरू गर्दै आएको छ । जेठ ७ गते विराटनगरमा सम्पन्न वडा सभापतिहरू र नेताहरूको भेलाले त क्रियाशील सदस्यता अद्यावधिक (इन्ट्री) नै नगर्ने औपचारिक निष्कर्ष निकालेको थियो ।

चुनावी पराजयसम्मको बाछिटा

कांग्रेसको यो चरम विवादको बीजारोपण गत २०८२ भदौ २४ गते भएको ‘जेन-जी’ आन्दोलन र त्यसपछिका राजनीतिक घटनाक्रमसँग जोडिएको छ । उक्त आन्दोलनपछि तत्कालीन सभापति शेरबहादुर देउवाले असोज २८ गते पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिनुभएको थियो । त्यसलगत्तै पार्टीभित्र ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर बुझाउँदै विशेष महाधिवेशनको माग गरे ।

लामो रस्साकस्सी र केन्द्रीय समितिको विवादपछि गत पुस मसान्तमा गगन थापाको नेतृत्वमा विशेष महाधिवेशन सम्पन्न भयो, जसलाई निर्वाचन आयोग र सर्वोच्च अदालतले समेत आधिकारिकता प्रदान गरिसकेको छ । तर, खड्का र कोइराला पक्षले विशेष महाधिवेशनको प्रक्रियाप्रति असहमति जनाउँदै आफूहरूमाथि कारबाही गरिएको र संवादका नाममा धोका दिइएको आरोप लगाउँदै आएका छन् ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा चुनावमा सय सिट कटाउने अपेक्षा गरेको कांग्रेसले जम्मा ३८ सिट मात्रै ल्याएर लज्जास्पद हार व्यहोरेपछि दुवै पक्षबीच आरोप-प्रत्यारोप थप उत्कर्षमा पुगेको छ । प्रवक्ता देवराज चालिसेका अनुसार पार्टीले कम्तीमा २१ वटा निर्वाचन क्षेत्रमा पार्टीभित्रकै अन्तर्घातका कारण पराजय भोगेको निष्कर्ष निकालेको छ । पाँच हजारदेखि १० हजारसम्मको ठूलो मतान्तरमा पराजित भएका क्षेत्रमा अन्तर्घात, कमजोर चुनावी क्याम्पेन र प्रतिकूल भाष्यले पार्टीलाई रक्षात्मक बनाएको संस्थापनको दाबी छ । तर, पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले भने चुनावको मुखमा गरिएको विशेष महाधिवेशनले पार्टीलाई ऊर्जा दिनुको साटो नेतृत्व कब्जा गर्ने नियत राखेका कारण नै कांग्रेस ३८ सिटमा खुम्चिएको दाबी गर्नुभएको छ ।

सहमति कि विभाजन ?

पार्टी विभाजनको डिलमा पुगेको भन्दै दुवै पक्षबाट बेलाबखत चेतावनीयुक्त अभिव्यक्तिहरू आइरहेका छन् । संस्थापनइतर पक्षका नेता मीन विश्वकर्माले आफूहरू महाधिवेशन तयारीका लागि ‘नयाँ घर’ (सम्पर्क कार्यालय) को खोजीमा रहेको बताउनुभएको छ । ‘मिलाउन सकियो भने साझा सम्पर्क कार्यालय हुन्छ, मिलाउन सकिएन भने के हुन्छ भन्न सकिँदैन’ उहाँले चेतावनी दिनुभएको छ । इतर पक्षले आफूहरूले उठाएको सदस्यता पुनः नवीकरणको विषयमा संस्थापन एकलौटी अगाडि बढे अर्को बाटो समात्ने र अर्को पार्टी बनाउने अभियानमा लाग्ने चेतावनीसमेत दिएको छ ।

विवाद समाधानका लागि सभापति गगनकुमार थापाले पूर्णबहादुर खड्का र शेखर कोइरालालाई वरिष्ठ नेता बनाउने, १४औँ महाधिवेशनबाट निर्वाचित भएर आएकाहरूलाई केन्द्रीय समितिमा मनोनीत गर्ने सहितको आठ बुँदे सहमतिको प्रस्ताव पठाउनुभएको छ । उहाँले देउवा र शेखरनिकट कैयौँ नेताहरूलाई आफ्नो पक्षमा ल्याएर महत्त्वपूर्ण जिम्मेवारीसमेत दिइसक्नु भएको छ ।

यता, खड्काले भने १४औँ महाधिवेशन र विशेष महाधिवेशनबाट निर्वाचित समितिहरूलाई ‘मर्ज’ गरेर १५औँ महाधिवेशन आयोजक समिति बनाउनुपर्ने, सदस्यता अद्यावधिकलाई अनिवार्य गर्न नहुने र पार्टीका विभिन्न तहमा भइरहेका नियुक्तिहरू रोक्नुपर्ने प्रतिप्रस्ताव अघि सार्नुभएको छ । नेपालमा जहानियाँ राणा शासन र निर्दलीय पञ्चायतविरुद्धको आन्दोलनको शंखघोष गर्ने नेपाली कांग्रेसको उद्गम थलो विराटनगर नै हो । त्यही ऐतिहासिक भूमिबाट इतर पक्षले जेठ ३१ गते संस्थापन पक्षलाई विपक्षीहरू एकताबद्ध भएको सन्देश दिन खोजेको छ ।हिमालय टाइम्स

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
झापामा राष्ट्रिय परिचयपत्रमार्फत नयाँ मतदाता थप
२०८३ श्रावण २३, शनिबार
कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण
२०८३ श्रावण २३, शनिबार
माङसेबुङका ११ विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य
२०८३ श्रावण २३, शनिबार
राष्ट्र बैङ्कद्वारा आजका (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ श्रावण २३, शनिबार
सरकारी सेवा प्रवाहमा प्रगति
२०८३ श्रावण २३, शनिबार
लायन्स डिस्ट्रिक्ट ३२५ के नेपालको प्रथम क्याबिनेट बैठक आजदेखि काठमाडौंमा
२०८३ श्रावण २३, शनिबार
रास्वपा सांसदकै घेराबन्दीमा सरकार
२०८३ श्रावण २३, शनिबार