जेठ २७, २०८३ बुधबार June 10, 2026

प्लास्टिकमा ‘प्याकेजिङ’ प्रचलनले रोगको जोखिम

‘फाउन्डेसन’ को अध्ययनमा प्लास्टिक तयार पार्न १२ हजारभन्दा बढी रसायन प्रयोग हुने गरेको उल्लेख

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, जेठ २७ गते । खाद्यपदार्थ प्लास्टिकमा प्याकेजिङ गर्ने प्रचलन बढेसँगै यसले जनस्वास्थ्यमा जोखिम बढाएको देखिएको छ । सजिलो र सस्तोका लागि जथाभावी प्लास्टिकमा प्याकेजिङ गरेर बिक्री गर्ने चलनले नसर्ने रोगको जोखिम बढाउने विभिन्न अध्ययनले देखाएका छन् ।

उचित तापक्रम व्यवस्थापन हुन नसक्दा प्लास्टिकका भाँडा वा प्याकेटमा राखिएका खानेकुराले मानव शरीरमा गम्भीर रोगको जोखिम निम्त्याउने विज्ञहरू बताउँछन् । ‘हेल्थ इन्भारोमेन्ट क्लाइमेट एक्सन फाउन्डेसन’ ले केही समयअगाडि गरेको अध्ययनमा कम गुणस्तरका प्लास्टिक र उच्च तापक्रममा गुणस्तरीय प्लास्टिकमै पनि प्याकेजिङ गरिएका खाद्यवस्तु उपभोग गर्नेमा नसर्ने रोगको जोखिम बढी हुन्छ । परम्परागत रूपमा प्रयोग हुँदै आएका पात, कपडा र माटोका भाँडाको सट्टा आधुनिकता र सहजताका लागि प्लास्टिक प्रयोग बढिरहेको छ ।

खाद्य वैज्ञानिक जीवनप्रभा लामाका अनुसार बजारमा पाइने रङ्गीचङ्गी (हरियो, पहेँलो आदि) प्लास्टिकमा खाद्यवस्तु राख्दा त्यसको रसायन खानेकुरामा सर्ने (केमिकल माइग्रेसन) सम्भावना उच्च हुन्छ । ‘फुड ग्रेड’ प्लास्टिकमा प्याकेजिङ गरिएको खाद्यवस्तुको महìवबारे जोड दिँदै उहाँले दर्ता नभई खाद्यवस्तु उत्पादन गरेर कम गुणस्तरको प्लास्टिकमा खाद्य वस्तुको प्याकेजिङमा ठुलो समस्या रहेको बताउनुभयो । “जस्तो कि प्लास्टिकको कपमा तातो चिया पिउँदा प्लास्टिकका ससाना कण चियासँगै शरीरमा मिसिन पुग्छ, प्लास्टिकका बोतल वा भाँडा पटक पटक प्रयोग गर्दा पनि स्वास्थ्यका लागि घातक हुन सक्छ,” उहाँले भन्नुभयो ।

लामाका अनुसार दर्ता भएका र खाद्य अनुज्ञापत्र लिएका उद्योगले ‘फुड ग्रेड प्याकेजिङ मेटेरियल मिक्स’ भएको प्लास्टिक प्रयोग गर्छन् । यस्तो प्लास्टिकमा हानिकारक रसायन खानेकुरामा सर्ने (केमिकल माइग्रेसन) जोखिम सामान्य वा रङ्गीचङ्गी प्लास्टिकको तुलनामा कम हुन्छ । फुड ग्रेड प्लास्टिकमा प्याकिङ गरिएका दुग्धजन्य पदार्थ वा अन्य खाद्यवस्तु सुरक्षित रहनका लागि निश्चित तापक्रम व्यवस्थापन हुनु अनिवार्य हुन्छ । अन्यथा यसमा प्याकेजिङ गरिएका खाद्यवस्तुले पनि स्वास्थ्यमा असर पार्ने उहाँ बताउनुहुन्छ ।

नेपालमा खाद्यवस्तुको गुणस्तर र सुरक्षासम्बन्धी मापदण्ड खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले निर्धारण गर्छ । सामान्यतया अन्तर्राष्ट्रिय अभ्यास र विभागको निर्देशिका अनुसार दुध जस्ता चाँडै बिग्रने वस्तुका लागि ‘कोल्ड चेन’ (४ डिग्री सेल्सियसआसपास) कायम राख्नुपर्ने प्रावधान छ । तेल वा बोसोयुक्त खाद्यवस्तु र अम्लीय पदार्थमा प्लास्टिकबाट रसायन मिसिने सम्भावना सुक्खा पदार्थको तुलनामा बढी हुन्छ । यी रसायन शरीरमा प्रवेश गर्दा हर्मोनमा असन्तुलन ल्याउने, प्रजनन स्वास्थ्यमा असर गर्ने र दीर्घकालीन रूपमा अन्य गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्ने जोखिम रहन्छ ।

विभागको खाद्य सुरक्षा मापदण्ड अनुसार फुड ग्रेड प्याकेजिङ मेटेरियल मिक्स भएको प्लास्टिकमा दुध र दही जस्ता खाद्यवस्तुलाई ४ डिग्री सेल्सियस (४० डिग्री फरेनहाइट) भन्दा कम तापक्रममा राख्नु सुरक्षित मानिएको छ । ठोस वा सुक्खा खाद्यवस्तु पाउरोटी, बिस्कुट र चामल जस्ता खाद्यवस्तुलाई कोठाको सामान्य तापक्रम (२० देखि २५ डिग्री सेल्सियस) मा सूर्यको प्रकाश प्रत्यक्ष नपर्ने र ओस नआउने ठाउँमा राख्नुपर्ने मापदण्डमा उल्लेख छ ।

विभागका निर्देशक ईश्वरी सुवेदीले प्लास्टिकको बट्टामा अमिलो वा तातो खानेकुरा राख्नु ‘स्लो प्वाइजन’ (सुस्त विष) जस्तै भएको बताउनुभयो । उहाँका अनुसार ‘फुड ग्रेड’ प्लास्टिक पनि मुख्यतया चिसो वस्तुका लागि मात्र बनाइएका  हुन्छन्, जसमा तातो वा अमिलो पदार्थ राख्दा टक्सिन (विषालु तत्व) पैदा हुन्छ । विशेष गरी पिभिसी प्लास्टिकमा तातो खानेकुरा राख्दा अझै जोखिम बढी हुने उहाँले स्पष्ट पार्नुभयो ।

‘फाउन्डेसन’ को अध्ययनमा प्लास्टिक तयार पार्न १२ हजारभन्दा बढी रसायन प्रयोग हुने गरेको उल्लेख छ । यस्ता रसायनयुक्त प्लास्टिकमा प्याकेजिङ गरिएका खानेकुराले उच्च रक्तचाप, मधुमेह, क्यान्सर, मुटुरोग जस्ता घातक रोगको जोखिम बढाउने दाबी सो अध्ययनमा गरिएको छ । तथ्याङ्क अनुसार विश्वमा प्रतिमिनेट १० लाखभन्दा बढी प्लास्टिकका बोतल खपत हुने गरेका छन् । विज्ञले प्लास्टिकको सट्टा काँचका बोतल, स्टेनलेस स्टिलका भाँडा वा परम्परागत काठका ठेकी र माटाका भाँडा प्रयोग गर्न सुझाव दिएका छन् ।

दुध र तेलका लागि काँचलाई सबैभन्दा उत्तम विकल्प मानिन्छ किनकि यसले खाद्यवस्तुसँग कुनै रासायनिक प्रतिक्रिया गर्दैन र स्वादलाई पनि यथावत् राख्ने खाद्य वैज्ञानिक जीवनप्रभा लामा बताउनुहुन्छ । उहाँका अनुसार खानेतेल भण्डारण गर्न र दुध सङ्कलन गर्न स्टेनलेस स्टिलका भाँडा सुरक्षित र टिकाउ हुन्छन् । गोरखापत्र दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया