काठमाडौँ, असार १० गते । सरकारले नेपालको सौम्य शक्ति र ‘डायस्पोरा’ क्षेत्रको बृहत् सदुपयोगमार्फत छिमेकी तथा मित्रराष्ट्रसँगको सम्बन्धलाई मुलुकको आर्थिक समृद्धिसँग जोड्ने भएको छ । जस अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारको भूमिकामा रहेको परराष्ट्र मन्त्रालयले सार्वजनिक कूटनीति महाशाखा स्थापना गरिसकेको छ । त्यस्तै आफ्ना संस्थागत व्यवस्थामार्फत सौम्य शक्ति प्रवर्धनका गतिविधिलाई सक्रिय तुल्याएको छ ।
सरकारले बजेट घोषणामार्फत नै सौम्य शक्ति प्रवर्धन र ‘डायस्पोरा’ को भरपूर उपयोग गर्ने उद्घोष गरिसकेको छ । सरकारले पारस्परिक लाभ, राष्ट्रिय आत्मसम्मान र सार्वभौम हितमा आधारित सन्तुलित परराष्ट्र सम्बन्ध सुदृढ गर्ने लक्ष्य साँधेको छ ।
सरकारले घोषणा गरे अनुसार नेपालको सौम्य शक्ति विस्तारका लागि बुद्ध जन्मभूमि, सर्वोच्च शिखर सगरमाथा, हिमालय शृङ्खला, योग ध्यान, सांस्कृतिक विविधता, शान्तिवादी राष्ट्रको छवि र अन्तर्राष्ट्रिय शान्ति मिसनमा सहभागितालगायतका विषयको उन्नत प्रसार गरिने छ ।
घोषणा अनुसार नेपालको आर्थिक समुन्नतिका लागि सौम्य शक्ति परिचालन गर्ने दिशातर्फ अग्रसर हुँदै आर्थिक कूटनीति, सांस्कृतिक पहिचान, प्रविधि तथा पर्यटनको एकीकृत उपयोगमार्फत नेपालको अन्तर्राष्ट्रिय उपस्थिति, विश्वसनीयता र प्रभाव विस्तार गरिने छ । त्यसलाई योजना निर्माण र कार्यान्वयनमार्फत मूर्त रूप दिने तयारी मन्त्रालयले गरेको हो
। संयुक्त राष्ट्रसङ्घलगायत अन्य बहुपक्षीय तथा क्षेत्रीय मञ्चमा नेपालको भूमिकालाई सशक्त बनाउने र क्षेत्रीय सन्निकटताका लागि सुदृढ कूटनीति अगाडि बढाउने लक्ष्य प्राप्तिका लागि पनि सौम्य शक्तिको प्रवर्धन आवश्यकता महसुस गर्दै मन्त्रालयले सक्रियता बढाएको हो ।
परराष्ट्रमन्त्री शिशिर खनालसहित समग्र मन्त्रालय सरकारको लक्ष्य साकार पार्न सक्रिय छ । सोही अनुसार मन्त्रालयले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानलाई आफ्नो थिङ्कट्याङ्कका रूपमा सदुपयोग गर्दै अध्ययन तथा अनुसन्धानमा लाग्न प्रेरित गरेको छ ।
सौम्य शक्तिको विश्व परिचालनका लागि अघिल्लो वर्ष सुरु भएको सगरमाथा संवादलाई अझ राम्रो बनाउने योजना बन्दै छ । त्यस्तै प्रोफेसर यदुनाथ खनाल प्रवचन शृङ्खलालाई नयाँ स्वरूपमा निरन्तरता दिने विषयमा पनि मन्त्रालयले पहल थालेको छ । साथै लुम्बिनी फेलोसिपका रूपमा दक्षिण एसियाका नयाँ पुस्ताका कूटनीतिज्ञ बोलाएर आपसी सम्बन्ध बढाउने र नेपाल बुझाउने प्रयासको सुरुवात गर्न पनि मन्त्रालयले कसरत गरिरहेको छ । त्यस्तै नेपालमा भूरणनीतिक अन्तरसंवाद यही वर्ष सुरु गर्ने योजनाका लागि गृहकार्यमा मन्त्रालय जुटेको छ । परराष्ट्रमन्त्री खनालले विभिन्न समयमा व्यक्त गर्नुभएको धारणा अनुसार विश्वमा लेनदेनयुक्त कूटनीतिक सम्बन्ध मौलाउँदै गएको छ । यस्तोमा पुरानो जमानाको सांस्कृतिक आदानप्रदान मात्रको भरमा अबको छिमेकी वा विश्व कूटनीति चल्दैन ।
त्यसैले पनि मन्त्रालयले राष्ट्रहित केन्द्रित सौम्यशक्ति प्रवर्धन गर्दै परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमार्फत नेपाल समर इन्टर्नसिप तथा फेलोसिप प्रदान गरेको छ । विभिन्न मुलुक र नेपालभित्रबाट गरी २० जना ‘इन्टर्न’ छनोट गरेर कार्यक्रम सुरु गरेको छ । जस अनुसार १० जना इन्टर्नका रूपमा, पाँच जना प्रत्यक्ष उपस्थित हुने फेलोका रूपमा र पाँच जना भर्चुअल रूपमा सहभागिता जनाउने छन् ।
परराष्ट्र सचिव अमृतबहादुर राईले केही दिनअघि पत्रकारसँगको अन्तरकृयाका क्रममा द्रुततर गतिमा परिवर्तन भइरहेको विश्व परिवेशलाई गहिरोसँग विश्लेषण गर्दै राष्ट्रिय हितको अधिकतम संरक्षण एवं प्रवर्धन गर्न र आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउन सबैसँगको अन्तरसंवाद जरुरी रहेको औँल्याउनुभएको थियो । जुन नेपालको इज्जत प्रतिष्ठा र सौम्य शक्तिलाई विश्वसामु पु¥याउन अवलम्बन गरिएका र अब तय गर्नुपर्ने मार्गचित्र निर्माणमा सहयोगी हुने छ ।
सौम्य शक्ति प्रवर्धनसँगै विदेशस्थित नेपाली नियोगको सशक्तीकरण गरी निर्यात क्षमता, द्विपक्षीय व्यापार तथा लगानी, पर्यटन प्रवर्धन गर्न आर्थिक कूटनीति सबल बनाउने योजनामा पनि मन्त्रालय जुटेको छ । सौम्य शक्ति प्रसारमा महत्वपूर्ण भूमिका खेल्ने गैरआवासीय नेपाली नागरिकलई संविधानले सुनिश्चित गरेको ‘गैरआवासीय नेपाली नागरिकता’ सम्बन्धी प्रावधानमा समसामयिक संशोधन गरी ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने नारालाई मूर्त रूप दिइने भएको छ । जसले गैरआवासीय नेपालीलाई सबै किसिमका आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार प्रदान गरी राष्ट्र निर्माणको मूल अभियानमा समावेश गरिने घोषणा सरकारले बजेटमार्फत गरिसकेको अवस्था छ । गोरखापत्र दैनिकबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया