काठमाडौँ, भदौ ११ गते । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको आकस्मिक भीषण बाढीपहिरोले अकल्पनीय जनधनको क्षति पु-याएको छ । यस विपत्बाट रसुवासहित नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन र नवलपरासीपूर्वसम्म प्रभावित भएको छ । बाढीमा परी मृत्यु भएका १५७ जनाको शव फेला परेको छ । फेला परेका शवमध्ये १५ जनाको पहिचान खुल्न बाँकी छ ।
गृह मन्त्रालयका अनुसार हालसम्म चितवनमा ६४, धादिङमा २७, नुवाकोटमा १३, गोरखामा १९, तनहुँमा नौ, रसुवामा तीन र नवलपरासीपूर्वमा २२ जनाको शव फेला परेको छ । विभिन्न स्थानमा खोज तथा उद्धार जारी छ । सम्पर्कविहीन र बेपत्ता व्यक्तिको सङ्ख्या अत्यधिक रहेकाले मृतकको सङ्ख्या निकै बढ्ने अनुमान सुरक्षा निकायले गरेको छ । बाढीमा परी घाइते ९३ जनाको उद्धार गरी विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उद्धार कार्यमा राज्यका सबै संयन्त्र परिचालन गरिएको छ ।
८१ जना सुरक्षाकर्मी सम्पर्कविहीन
बाढीपछि नेपाली सेनाका ४४ जना, नेपाल प्रहरीका २८ जना र सशस्त्र प्रहरीका नौ जना गरी ८१ जना सुरक्षाकर्मी सम्पर्कविहीन छन् । रसुवागढी, स्याफ्रुबेँसी, मैलुङ र वेत्रावतीमा तैनाथ सैनिकहरू सम्पर्कविहीन छन् । ती स्थानमा बाढीले अकल्पनीय क्षति पु¥याएको छ । सम्पर्कविहीन सुरक्षाकर्मीलगायत पर्यटक, सर्वसाधारण तथा विभिन्न निकायमा कार्यरत कर्मचारीको खोजी तथा उद्धार कार्य जारी छ ।
बाढीले बस्ती, बजार, सडक, पुल, जलविद्युत् आयोजना तथा सुरक्षा निकायका संरचनामा पनि ठुलो क्षति पु-याएको प्रारम्भिक विवरण प्राप्त भएका छन् । बाढी प्रभावित क्षेत्रबाट नेपाली सेनाका सात र निजी क्षेत्रका आठ गरी १६ वटा हेलिकोप्टर निरन्तर खोज तथा उद्धारमा परिचालन भइरहेका छन् ।
नेपाली सेनाका प्रवक्ता, सहायकरथी राजाराम बस्नेतका अनुसार खोज तथा उद्धारमा सात वटा हेलिकोप्टरसहित एक हजार सात सय जना सैनिक परिचालन गरिएको छ । जसमा खोज तथा उद्धार र राहत तथा स्वास्थ्य टोली रहेको छ । सेनाले हवाईसाधनबाट ९६ जना र स्थलमार्गबाट २६ गरी १२१ जनाको उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालमा पु¥याएको जनाएको छ । निजी क्षेत्रका आठ वटा हेलिकोप्टरले २९ जनाको उद्धार गरेका छन् ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार बेपत्ताको खोजी कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्थल तथा हवाईसाधनसहित, ड्रोन तथा तालिमप्राप्त कुकुरसहितको के–९ टोली परिचालन गरेका छन् । बाढीबाट तटीय क्षेत्रका घर, पसल, सडक, पुल तथा नदी किनारका संरचना तहसनहस भएका छन् ।
उद्धारमा -यापिड एक्सन टिम
बाढीको सूचना प्राप्त हुनासाथ प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले तत्कालै उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन ¥यापिड एक्सन टिम सव्रिmय गराएको थियो । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा उच्चस्तरीय संयन्त्र परिचालन गरी प्रभावित क्षेत्रको अवस्थाबारे सूचना सङ्कलन तथा समन्वय गरिएको थियो । प्राप्त सूचनाका आधारमा स्थानीय प्रशासन, जनप्रतिनिधि र सुरक्षा निकायसँग समन्वय गरी तत्काल सुरक्षाकर्मी परिचालन तथा हवाई उद्धारको व्यवस्था मिलाइएको थियो । असामान्य बाढी आउनुको कारणबारे अध्ययन भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
प्रारम्भिक सूचना अनुसार तिब्बततर्फको क्षेत्रमा हिमपहिरो वा पहिरोका कारण नदी थुनिएर एक्कासि पानीको बहाब बढेको हुन सक्ने अनुमान गरिएको छ । लेन्देखोलामा बरफ तथा पहिरो खसेर नदी थुनिएपछि अचानक पानी बगेको हुन सक्ने प्रारम्भिक आकलन गरिए पनि बाढीको वास्तविक कारण विस्तृत अध्ययनपछि मात्र यकिन हुने बताइएको छ ।
घाइतेकोे उपचार निःशुल्क
सरकारले बाढीमा घाइते भएकाको उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बुधबार बसेको मन्त्रीपरिषद्को आकस्मिक बैठकले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, नेपाली सेना र सरकारी अस्पतालमार्फत निःशुल्क उपचारको व्यवस्था मिलाउने निर्णय गरेको नेपाल सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो ।
शिक्षा तथा खेलकुदमन्त्रीसमेत रहनुभएका प्रवक्ता पोखरेलले घाइतेको स्वास्थ्यलाभको कामना गर्दै तत्काल उद्धार गरी सुरक्षित स्थानमा सार्ने व्यवस्था गृह मन्त्रालय र रक्षा मन्त्रालयले मिलाउने जानकारी दिनुभयो । “बाढीमा धेरै जना उद्धारका लागि पर्खेर बस्नुभएको छ । उद्धार गर्न हेलिकोप्टर आवश्यक परेमा १२३४ हटलाइनमा सम्पर्क गर्न सकिने छ । अरू बाढीबाट प्रभावित छ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई सम्पर्क गरी लोकेसन सेयर गरेर उद्धारमा सहयोग माग्न सकिने छ,” उहाँले भन्नुभयो, “उद्धारको पर्खाइमा बसेकाले आगो बालेर, धुवाँ निकालेर हेलिकोप्टरलाई सङ्केत गरे उद्धार गर्न सहज हुने छ ।”
मन्त्री पोखरेलले चीन र भारत सरकारसँग सहयोगका लागि समन्वय भइरहेको जानकारी दिनुभयो । बाढीमा मृत्यु भएका परिवारलाई प्रचलित कानुनबमोजिमको आर्थिक सहायता तत्काल उपलब्ध गराउने मन्त्रीपरिषद् बैठकले निर्णय गरेको छ । मन्त्री पोखरेलले घर÷निवास गुमाएका व्यक्तिलाई सुरक्षित स्थानमा सारी खाने बस्ने व्यवस्था गृह मन्त्रालय, राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सम्बन्धित विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले मिलाउने निर्णय गरेको बताउनुभयो ।
मन्त्री पोखरेलका अनुसार घटनाबाट अवरुद्ध हुन पुगेका सडक पुनः सञ्चालन र उक्त क्षेत्रमा आवश्यक खानेपानीको व्यवस्था पूर्वाधार विकास मन्त्रालयले यथाशीघ्र मिलाउने छ । बाढीबाट अवरुद्ध हुन पुगेको विद्युत् आपूर्ति यथाशीघ्र सञ्चालन गर्ने प्रबन्ध ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणले मिलाउने निर्णय भएको छ । अवरुद्ध हुन पुगेका दूरसञ्चारको तत्काल सञ्चालन गर्ने व्यवस्था सूचना तथा सञ्चार मन्त्रालयले मिलाएको छ । मन्त्री पोखरेलले क्षति भएका सार्वजनिक संरचना तथा भौतिक पूर्वाधारको तत्काल सञ्चालन तथा पुनर्निर्माण गर्न आवश्यक पर्ने आर्थिक स्रोत परिचालनको समन्वय गर्ने जिम्मेवारी अर्थमन्त्रीलाई दिने निर्णय भएको जानकारी दिनुभयो । विपत्बाट प्रभावित जिल्लाका स्थानीय तहलाई तीन महिनाका लागि विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ बमोजिम विपत् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय भएको छ ।
खोज र उद्धारमा हेलिकोप्टर परिचालन
बाढीमा परी बेपत्ता नागरिकको खोज र उद्धारमा १३ वटा हेलिकोप्टर परिचालन गरिएको छ । नेपाली सेना र निजी क्षेत्रका गरी १३ हेलिकोप्टर परिचालन भएको परराष्ट्रमन्त्री शिशिर खनालले जानकारी दिनुभयो । प्रतिनिधि सभामा विपत्बारे प्रारम्भिक जानकारी दिँदै मन्त्री खनालले उद्धार र राहतलाई प्रभावकारी बनाउन रसुवा र नुवाकोटको विपत् कोषमा एक÷एक करोड तथा धादिङको कोषमा ५० लाख रुपियाँ विनियोजन गरेको पनि बताउनुभयो ।
विपत्मा परी घाइते भएका नागरिकको उपचारका लागि जिल्ला अस्पताल नुवाकोटमा काठमाडौँबाट थप चिकित्सकसहितको जनशक्ति पठाइएको उहाँले जानकारी दिनुभयो । जिल्ला अस्पतालमा नेपाली सेनाका १५, नेपाल प्रहरीका १२ र सशस्त्र प्रहरीबाट १५ जना जनशक्ति पठाइएको उहाँले जानकारी दिनुभयो । घाइतेको उपचारका लागि काठमाडौँमा राष्ट्रिय ट्रमा सेन्टर र त्रिवि शिक्षण अस्पताललगायतका पाँच अस्पताल तयारी अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो ।
उहाँले बाढीमा परेर सुरक्षाकर्मी र कर्मचारी बेपत्ता रहेको जानकारी दिनुभयो । टिमुरेमा रहेका नेपाल प्रहरीका २६ र सशस्त्र प्रहरीका नौ जना बेपत्ता रहेको जानकारी उहाँले दिनुभयो । यस्तै टिमुरे र मैलुङमा रहेका नेपाली सेनाका ४४ जना सम्पर्कविहीन रहेको जानकारी खनालले सदनमा दिनुभयो । भन्सार र अध्यागमन कार्यालयका केही कर्मचारी सम्पर्कविहीन रहेको उहाँको भनाइ छ ।
बाढीले सरकारी तथा निजी संरचनामा ठुलो क्षति भएको उहाँको भनाइ छ । प्रभावित क्षेत्रका धेरै सडक क्षतिग्रस्त भएको र जोखिम दृष्टिगत गरेर मुग्लिङ–नारायणगढ क्षेत्रमा समेत सवारीसाधन सञ्चालनमा रोक लगाइएको जानकारी उहाँले दिनुभयो ।
जोखिम कायमै
बाढीको प्रभाव तल्लो तटीय क्षेत्रमा समेत पर्न सक्ने भएकाले भोटेकोशी र त्रिशूली नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । नदीमा पानीको बहाब बढ्ने तथा कतिपय स्थानमा नदी थुनिन सक्ने सम्भावना रहेकाले थप जोखिम कायमै रहेको जनाइएको छ । सरकारले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ । उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग सम्पर्क गर्न र फोन सम्पर्क सम्भव नभए ह्वाट्सएपलगायतका सञ्चार माध्यमबाट आफ्नो स्थानबारे जानकारी गराउन आग्रह गरिएको छ ।
आज सर्वदलीय बैठक
यसैबिच यो घटनाको विषयमा बिहीबार सर्वदलीय बैठक बस्ने भएको छ । राष्ट्रिय समाचार समितिका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनस्र्थापनाका विषयमा बैठक बस्ने भएको हो । रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बैठक भदौ ११ गते बिहीबार बिहान ९ः०० बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्ने छ । –गोरखापत्र दैनिकबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया