कार्तिक २०, २०८३ शुक्रबार November 6, 2026

प्रधानमन्त्री शाह र भारतीय विदेश सचिव मिस्रीबीच भेटवार्ता

नेपाल र भारतबीचको ऐतिहासिक द्विपक्षीय सम्बन्धलाई थप सुदृढ र विस्तार गर्ने विषयमा छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं । भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रधानमन्त्री बालेन शाहसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार भएको भेटमा नेपाल–भारत सम्बन्ध तथा द्विपक्षीय सहकार्यका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भेटका क्रममा प्रधानमन्त्री शाहले नेपालमा हालै गएको विनाशकारी रसुवा–भोटेकोशी बाढीपछि भारत सरकारले ‘फर्स्ट रेस्पोन्डर’का रूपमा राहत सामग्री उपलब्ध गराउनुका साथै उद्धार टोली परिचालन गरी पुर्‍याएको सहयोगप्रति आभार व्यक्त गर्नुभयो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल विपद्को सामना गरिरहेका बेला फोनमार्फत व्यक्त गर्नुभएको सहयोगको प्रतिबद्धताप्रति पनि प्रधानमन्त्रीले धन्यवाद दिनुभयो।

प्रधानमन्त्री शाहले नेपालको खेलकुद क्षेत्रको विकासका लागि भारतसँग सहकार्य गर्न सकिने विषयमा समेत चासो राख्नुभएको थियो।

भेटमा भारतीय विदेश सचिव मिस्रीले प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणको तयारी तीव्र पारिएको जानकारी दिनुभयो। उहाँले प्रधानमन्त्री मोदीको सन्देश सुनाउँदै प्रधानमन्त्री शाहको भारत भ्रमण सफल बनाउन भारतले आवश्यक तयारी गरिरहेको बताउनुभयो।

मिस्रीले नेपाल र भारतबीच ऊर्जा, जलस्रोत, व्यापार–पारवहन तथा उड्डयनलगायत क्षेत्रमा रहेका द्विपक्षीय संयन्त्रका नियमित बैठकहरू सफलतापूर्वक सम्पन्न भइरहेको जानकारी दिनुभयो।

त्यस्तै, भारतको अयोध्यादेखि नेपालको जनकपुरसम्म रेलमार्ग सञ्चालनका लागि आवश्यक तयारी पूरा भएको जानकारी पनि उहाँले प्रधानमन्त्री शाहलाई गराउनुभयो। उक्त रेलमार्गमा बिहीबार नै परीक्षण सञ्चालन गरिएको जानकारीसमेत मिस्रीले दिनुभएको थियो।

भेटवार्ताले नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउँदै ऊर्जा, पूर्वाधार, यातायात, व्यापार तथा अन्य क्षेत्रमा सहकार्य विस्तार गर्ने आधारलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया