मंग्सिर १२, २०८३ शनिबार November 28, 2026

दसौँ राष्ट्रिय खेलकुद : एपीएफसँग अङ्क बाँडेसँगै सुदूरपश्चिम बाहिरियो

दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल बराबरीमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सुर्खेत, १२ मंसिर । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन् ।

शनिबार बिहान कर्णाली प्रदेश रङ्गशालामा भएको खेलमा दुवै टोलीले समान २–२ गोल गर्दै अङ्क बाँडेका थिए । शनिबारको आफ्नो दोस्रो खेल जित्नैपर्ने दबाबमा रहेको सुदूरपश्चिम अङ्क बाँडेसँगै लिग चरणबाट बाहिरिएको हो ।

खेलको सातौँ मिनेटमै सुदूरपश्चिमका श्याम वादीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, एपीएफका गणेश पुलामीले १६ औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । खेलको २६ औँ मिनेटमा एपीएफका अनिश क्षेत्रीले गोल गरेपछि एपीएफले २–१ को अग्रता बनाएको थियो ।

पहिलो हाफमा एक गोलले पछि परेको सुदूरपश्चिमले दोस्रो हाफमा पुनरागमन गर्‍यो । खेलको ७२ औँ मिनेटमा सन्दीप सिंहले गोल गर्दै सुदूरपश्चिमलाई २–२ को बराबरीमा पुर्‍याए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल बराबरीमा सकिएको म्याच कमिसनर वीरेन्द्र पाण्डेले जानकारी दिए ।

म्याच कमिसनर पाण्डेका अनुसार खेलमा दुवै टोलीका एक–एक खेलाडीले पहेंलो कार्ड पाएका थिए । एपीएफका सुमन श्रेष्ठले ६० औँ मिनेटमा र सुदूरपश्चिमका विष्णु चौधरीले ८९ औँ मिनेटमा पहेंलो कार्ड पाएका थिए ।

प्रतियोगितामा दुई खेल खेलेको एपीएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ भने समान खेल खेलेको सुदूरपश्चिम प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ । अघिल्लो खेलमा मधेस प्रदेशसँग सुदूरपश्चिम पराजित भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता
२०८३ मंग्सिर १२, शनिबार
शक्तिखोर औद्योगिक क्षेत्रको काम अघि बढाउन मन्त्री लम्सालको निर्देशन
२०८३ मंग्सिर १२, शनिबार
वर्षौँदेखि अवरुद्ध योजना सञ्चालनमा ल्याउने मन्त्री रावलको प्रतिबद्धता
२०८३ मंग्सिर १२, शनिबार
युवाको नेतृत्व र व्यक्तित्व विकासमा जेसिजको योगदान महत्त्वपूर्ण : प्रदेश प्रमुख भट्ट
२०८३ मंग्सिर १२, शनिबार
बर्दियामा स्थानीय तहमा भूमि प्रशासन सेवा विस्तारको तयारी
२०८३ मंग्सिर १२, शनिबार
दसौँ राष्ट्रिय खेलकुद : एपीएफसँग अङ्क बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
२०८३ मंग्सिर १२, शनिबार
भेरी अस्पतालमा स्वास्थ्य सेवा थपिने क्रम बढ्दै
२०८३ मंग्सिर १२, शनिबार