काठमाडौं । जागिरको प्रलोभन देखाउँदै सुनसरीकी महिलालाई काठमाडौं बोलाएर सामूहिक बलात्कार गरिएको छ।
सुनसरी इटहरीकी ३४ वर्षीया महिलालाई काठमाडौं बोलाएर दुई जनाले बलात्कार गरेका हुन्।
पीडित महिलाले महाराजगन्जस्थित महानगरीय प्रहरी वृत्तमा उजुरी गरेपछि आरोपित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
वृत्तका प्रमुख उमेश लम्सालका अनुसार पीडित महिलाले दिएको उजुरीका आधारमा झापाको गौरीगन्ज गाउँपालिका वडा नम्बर १ स्थायी ठेगाना भई काठमाडौंको बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ६ बस्ने ३४ वर्षका विशाल संग्रौला र सोही ठाउँ बस्ने वर्ष ३५ का सुवास संग्रौलालाई पक्राउ गरिएको हो।
उनीहरूले इटहरीकी ती महिलालाई काठमाडौंको बूढानीलकण्ठ नगरपालिका ६ गणेशचोकस्थित सुवास संग्रौलाको घर तथा भक्तपुरको एक रिसोर्टमा लगेर उनी र विशाल संग्रौलाले बलात्कार गरेको पीडितको उजुरीमा उल्लेख छ।
आइतबार साँझ बूढानीलकण्ठबाटै नियन्त्रणमा लिइएका उनीहरूलाई महाराजगन्ज वृत्तको हिरासतमा राखेर जबर्जस्ती करणी मुद्दा चलाइएको छ।
काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको डीएसपी लम्सालले जानकारी दिएका छन।
यसरी गरियो बलात्कार
यी दुई पुरुषले सुनसरी इटहरीकी ती महिलालाई सामाजिक सञ्जालबाट साथी बनाए। कुराकानीका क्रममा महिलाले जागिर खोजीमा रहेको बताइन्। यता काठमाडौंमा रहेका ती दुई पुरुषले जागिर मिलाइदिन्छौं काठमाडौं आऊ भने।
ती महिला काठमाडौं आइन्।
यसै क्रममा ती महिलालाई ती दुई पुरुषले काठमाडौंको बूढानीलकण्ठ नगरपालिका ६ गणेशचोकस्थित सुवास संग्रौलाको घर तथा भक्तपुरको एक रिसोर्टमा लगी सामूहिक बलात्कार गरेको डीएसपी रमेश लम्सालले जानकारी दिएका छन।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया