वैशाख १६, २०८१ आइतबार April 28, 2024

नेपालको विकासमा कोरोनाको रजाइँ- डा. चन्द्र भण्डारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपालमा प्रजातन्त्रको पुनर्स्थापनासँगै सडक सञ्जाल, शिक्षा, स्वास्थ्य र सञ्चार क्षेत्रमा अकल्पनीय परिवर्तन भयो । सिँचाइ, जलस्रोतलगायत विविध क्षेत्रमा आमूल सुधार गर्दै नेपाल अगाडि बढ्यो । अहिलेको सुदूरपश्चिम प्रदेश केन्द्रदेखि निकै टाढा थियो । त्यहाँका जनताले देशको राजधानी आउन भारतीय भूमि प्रयोग गर्नुपथ्र्यो । आज आफ्नो देशभित्र जहाँ पनि सजिलै पुग्न सकिने भएको छ । सबैतिर राज्यका सेवा, सुविधा पुगेका छन् । स्वास्थ्य क्षेत्रमा भएको व्यापक सुधारको परिणाम आज नेपालीको औसत आयु पनि बढेको छ । देशभित्र मात्र सीमित नेपाली आज विश्वका कुनाकाप्चासम्म फैलिएका छन् । कहाँ छैनन् नेपाली ? यो उपलब्धि ०४६ को परिवर्तनले ल्याएको हो । यसबीच नेपालीको प्रतिव्यक्ति आय पनि बढेको छ । रेमिट्यान्सका रूपमा देशमा ठूलो परिमाणमा विदेशी मुद्रा आइरहेको छ । यस्तोमा नेपालमा गरिएको विकास नेपालको भूबनोट, नेपाली संस्कृति, समाज अनुकूल छ–छैन, त्यसबारे समीक्षा गर्ने समय भएको छ । हाम्रा विज्ञको देश निर्माणको खाका र नेताहरूको दूरदर्शिताबारे यस आलेखमा विभिन्न बुँदामा आधारित भई समीक्षा गरिनेछ ।

सडक सञ्जालको विकास : देशको सडक विकासलाई हामीले पहिलो प्राथमिकतामा राख्यौँ । निर्वाचनमा मत माग्दा सडक सञ्जाल र पुल सबैभन्दा ठूलो मुद्दा बन्छ । एसियामा पहिलोपटक नेपालमा सुरुङ मार्गको सुरुवात गरिएको थियो । हामीले नेपालको भूबनोटका आधारमा आवश्यकताअनुसार सुरुङ मार्गको विकास गर्न सकेको भए आज धेरै स्थानमा एकीकृत बस्ती निर्माणका साथै सुरक्षित सडक बन्ने थिए । त्यस्तो अवसरबाट हामी चुक्यौँ । विकास पनि अभिशाप बन्न सक्छ भन्नेतर्फ हामीले कहिल्यै सोच्न सकेनौँ ।

नेपालको भूबनोट र परिवेशअनुरूप काठमाडौंलाई देशका अन्य भूभागसित जोड्ने सडक निर्माण गर्दा तराईसँग जोड्ने द्रुतमार्ग र हिमाल, पहाडसित जोड्न सजिलो मार्ग खोज्नुपथ्र्यो । अहिलेको भौगोलिक विभाजनअनुसार गण्डकी प्रदेश मुग्लिन हुँदै काठमाडौं आउँछ । बाँकी सबै प्रदेशबाट नारायणगढ हुँदै काठमाडौँ आउनुपर्छ । अहिलेका यी सडक यति लामा, खर्चिला र जोखिमपूर्ण छन्, तिनको हिसाब छैन । हामीले यति लामा सडक बनाउनुको साटो काठमाडौं–हेटौँडा फास्ट ट्र्याक र सुरुङ मार्ग पहिल्यै निर्माण गर्न सकेको भए तराईसितको सम्पर्क सञ्जाल छोटो र कम खर्चिलो हुने थियो । सहरमा बसाइँसराइको चाप पनि कम हुने थियो । हामीले यसतर्फ किन समयमै सोच्न सकेनौँ ? हेटौँडा–काठमाडौं सुरुङ मार्ग र सडक निर्माणमा अझै ढिलासुस्ती गरिँदै छ । नेपाली विज्ञ र शासकहरू कसको इसारामा नाचिरहेका छन् ?

त्यसैगरी काठमाडौं र तराई जोड्ने अर्को बिपी राजमार्गलाई किन एक लेनको साँघुरो बनाइयो ? किन दुईदेखि चार लेनसम्मको बनाउन सकिएन ? चीन जोड्न सुरु गरिएको कोरोला नाका, जहाँ चीनले आफ्नोतर्फ भन्सार नाका बनाइसकेको छ, तर हाम्रोतर्फ सुरसार नै छैन, किन ? भारतले नाकाबन्दी गर्न सक्ने सन्त्रासलाई कोरोला नाकाले जवाफ दिन सक्छ । जसले नेपालको स्वाभिमान वृद्धि गर्छ । अर्कातिर, प्रदेश ५ को सिद्धबाबा सडकखण्डले हजारौँको ज्यान लिइसकेको छ । त्यसको विकल्पमा सालझन्डी–पटौँती–खज्यान–तमघास–वामी–खर्वाङ जोड्ने सडकमा रिडीलाई समेत जोड्दा पौने अर्ब खर्च भइसकेको छ । पुलहरू बनिसकेका छन् । यसले पोखरासमेतलाई नजिक बनाउँछ । तर, यो सडकलाई यो पंक्तिकारको पहलमा सुरु भएको भनेर केन्द्रीय योजनाबाटै हटाइएको छ ।

कोरोना भाइरसले अहिले विश्व भ्रमण गरिरहेको छ, तर नेपालको विकासमा भने पहिल्यैदेखि कोरोनाको रजाइँ छ ।

शिक्षा र स्वास्थ्य क्षेत्रको विकास : नेपालमा शिक्षा क्षेत्रले ठूलो फड्को मारेको छ । हाम्रो शिक्षा बिस्तारै विश्वमै प्रतिस्पर्धी बन्न गइरहेको छ । तर, हाम्रो शिक्षा क्षेत्रमा भएको आमूल परिवर्तनले विवेक गुमाएको छ । डा. हर्क गुरुङले भन्नुभएको थियो— हामीले देशमा नयाँ शिक्षा त ल्यायौँ, तर यो अरूको प्रयोशाला बन्यो जसले नेपालको लगानीमा अरूको जनशक्ति उत्पादन गर्छ । उहाँले भनेजस्तै नेपालमा राम्रो ग्रेड ल्याएर उत्तीर्ण हुने विद्यार्थी डाक्टर, इन्जिनियर बनेपछि युरोप, अस्टे«लिया या अमेरिकातिर ‘ब्रेन ड्रेन’ भइरहेको छ । नेपालको भूबनोट, यहाँको प्राकृतिक सुन्दरता, यहाँका धर्म, संस्कृति, जातजाति सबैलाई झल्काउने र गरिखाने शिक्षालाई अघि बढाउन किन सकिएन ? प्राविधिक शिक्षालाई किन प्राथमिकता दिइएन ? यहाँका विश्वविद्यालयलाई अनुसन्धानमूलक बनाउने सोच नै भएन । मेरो देश नेपाल, मेरो गौरव नेपाल, मेरो प्राचीन नेपाल भनेर सिकाउने पाठ्यक्रम नै बनेन ? यहाँ सबथोक छ भन्ने भावना सिकाउनुको साटो हाम्रो शिक्षाले नेपाल गरिब छ, नेपाली गरिब छन्, यहाँ अवसर छैन भन्ने सिकायो । के हाम्रो शिक्षाले यस दिशामा सकारात्मक पहल गर्न सक्नुपर्दैनथ्यो ? नेपालको मौलिकता, संस्कृति, धार्मिक सहिष्णुता र बन्धुत्वलाई पाठ्यक्रममा राख्न सकिएन । मानवता र ब्रह्माण्ड बुझ्न संस्कृत भाषा सबैभन्दा आवश्यक रहेछ । विश्व संस्कृत भाषातिर लाग्दै छ, नेपालका केही राजनीतिक शक्तिचाहिँ राँकेजुलुस निकालेर संस्कृतका पुस्तक जलाउनतिर लागे !

कृषिप्रधान देशमा कृषिको दुरवस्था : हामीसित नेपालमा प्रयोग गरिँदै आएका मकै, कोदो, फापर, चामल, गहुँजस्ता अन्न र पाँचऔँले, यार्सागुम्बा, स्याउ, सुन्तला, तरुल बयरलगायत जडीबुटी र फलफूल शरीरको विकास र मानिसलाई निरोगी राख्न सक्षम छन् । तर, तिनको व्यवस्थित उत्पादन र उत्पादित वस्तुलाई बजारसम्म पुर्‍याउन सरकारले भूमिका खेल्न सकिरहेको छैन, किन ? माटो परीक्षण गरी कुन क्षेत्रमा के उत्पादन हुन्छ भनी किसानलाई सघाउने काम किन गरिँदैन ? कृषि क्षेत्रमा लगानी गरेर देशलाई कृषि उपजमा आत्मनिर्भर गराई निर्यातको अवस्थामा पुर्‍याउने चासो छैन । कहाँ उद्योगधन्दा चलाउने र कहाँ खेतीपाती गर्ने भनेर पहिचान गर्नसमेत सकिएको छैन । त्यसैले हाम्रो कृषिक्षेत्र लथालिंग छ । गाउँगाउँमा कृषियोग्य जमिन बाँझै छ । तराईका भूमि डुबानमा पर्छन् । सहरमा घडेरीका रूपमा खण्डीकरण भएको छ । पहाडहरू छियाछिया भएका छन् । वातावरण विनाश भएको छ । खेती भएकै अवस्थामा पनि किसानले उचित मूल्य पाएका छैनन् र उपभोक्ताले सस्तोमा उपभोग गर्न पनि पाएका छैनन् । खालि बिचौलिया मोटाइरहेका छन् ।

कृषि क्षेत्रमा राज्यको बेवास्ताका कारण आज अर्बौंको कृषि उपज आयात गर्नुपर्ने बाध्यता छ । आयातीत विषादीयुक्त खाद्यान्न र तरकारी खानुपरिरहेको छ । लकडाउनकै समयमा भारतबाट अर्बौंको तरकारी आयात हुँदा हाम्रा किसानद्वारा उत्पादित तरकारी खेतबारीमै सुकिरहेका छन् । व्यापार घाटा अत्यधिक बढिरहेको छ । किसानलाई किन सहयोग प्याकेज घोषणा गर्न सकिएन ? गाई, भैँसी, माछा, हाँस, कुखुरा, खसीबोका, भेडापालनलगायत स्वावलम्बी बन्दै गरेका क्षेत्रको पनि राम्ररी संरक्षण गर्न किन सकिएन ? अग्र्यानिक खेती छाडेर सजिलो बाटो हिँडेर रासायनिक मल र अत्यधिक विषादी प्रयोगबाट जमिन र वातावरण एकसाथ ध्वस्त पारिएको छ । देशमा सबै कुरा हुँदाहुँदै पनि हामी कसको स्वार्थमा विषादीयुक्त उत्पादन विदेशबाट मगाएर जनतालाई खुवाइरहेका छौँ ? देशले अग्र्यानिक खेतीलाई प्राथमिकता दिएको भए हामी आज विदेशीलाई समेत यहाँका उत्पादन बेचेर मनग्गे आम्दानी गर्न सक्ने थियौँ । यसतर्फ हाम्रो नेतृत्वको कहिल्यै ध्यान जान सकेन । हामी जहिल्यै निर्वाहमुखी कृषिमा रमाइरह्यौँ, यसलाई व्यावसायिक रूप दिएर निर्यातमुखी बनाउने दिशामा हाम्रो ध्यान किन गएन ?

निर्वाचनमा मत माग्दा सडक सञ्जाल र पुल सबैभन्दा ठुला मुद्दा बन्ने गरेका भए पनि विनाअध्ययन र विनायोजना निर्माण गरिएका खर्चिला र जोखिमपूर्ण सडक हेर्दा विकास पनि अभिशाप बन्न सक्छ भन्नेतर्फ हामीले कहिल्यै सोच्न नसकेको प्रस्ट हुन्छ ।
 

पर्यटन विकासको अवस्था : नेपाली जनता, नेपाली धर्म, संस्कृति, परम्परा, भाषा, प्रकृति, भूगोल, सबै पर्यटन व्यवसायका लागि उर्वर छन् । विश्व मानव समुदायका लागि हाम्रा हिमाल, पहाड र तराईको भूबनोट अनौठो हुन सक्छ । पीडामा पनि खुसी हुन सक्ने नेपालीका रहनसहन र संस्कृति सबैका लागि नमुना छन् । हाम्रा मुक्तिनाथ, पशुपतिनाथ, लुम्बिनी, जानकी मन्दिर, हलेसी महादेव, शालिग्रामभूमि कालिगण्डकीजस्ता पावन भूमिमा संसारका विभिन्न धर्मावलम्बी र जातजातिले एकै ठाउँमा बसेर आआफ्नो श्रद्धा, भक्ति र विश्वास प्रकट गर्दै आएका छन् । यस्तो अपूर्व आस्थालाई हामीले पर्यटनका रूपमा विकास गर्न सकेनौँ । हाम्रा हिमाल, पहाड र तराईमा फरकफरक किसिमका ‘फुड ह्याबिट’ छन् । सोहीअनुसार होटेलको व्यवस्था गरी त्यसलाई व्यावसायिक रूपमा अपनाउन सक्ने हो भने हाम्रा मौलिक खानाबाट पर्यटकले भिन्नभिन्न स्वाद लिन सक्छन् । यस्तो हुन सक्यो भने हाम्रा स्थानीय उत्पादन र खानासँगै हाम्रा गाउँघरदेखि सहरबजारसम्मका मानिसको आर्थिक उपार्जनको नयाँ ढोका खुल्न सक्छ । त्यसैले, हाम्रा मौलिकतासँगै पर्यटकलाई स्वागत गरी उनीहरूलाई सूचना, सञ्चार, यातायात र आवासलगायत सुविधा व्यवस्था गर्न सकियो भने यसबाट देशमा रोजगारीका अवसर खुल्दै जानेछन् र बिदेसिनुपर्ने बाध्यताबाट युवा मुक्त हुनेछन् । पर्यटनका लागिमहत्वपूर्ण मानिएको हवाई सेवा भ्रष्टहरूको सुइट रुम बनेको छ ।

जलस्रोतको सम्भावना : जलस्रोतमा सम्पन्न मुलुक हुँदाहुँदै पनि हामी बल्लतल्ल लोडसेडिङबाट मुक्त हुने चरणमा पुगेका छौँ । प्रत्येक नागरिकलाई सेयर उपलब्ध गराएर विद्युत् उत्पादन गर्न सकियो भने यसबाट देशको कायापलट हुन सक्छ । सेयर उपलब्ध गराउँदा हुने र सक्नेले आफैँ सेयर खरिद गर्छन् । नहुने र नसक्नेका लागि निश्चित काम दिएर राज्यले सेयरमा लगानी गरिदिन सक्छ । यत्ति गर्न सक्यौँ भने पनि एकातिर देशको जलस्रोतको समुचित विकास हुनेछ भने अर्कातिर नेपाली जनता पनि सेयर लगानीमार्फत छिटै धनी हुन सक्नेछन् । विगतमा हाम्रो जलस्रोतमा हुनेखानेको मात्र पहुँच भयो । त्यति मात्र नभई जुन–जुन दलको सरकार आए पनि सरकार टिकाउनकै लागि छिमेकीसित विभिन्न नदीनालामा आधारित विद्युत् आयोजना सम्झौता गरी नदीनालालाई विदेशीको ‘होल्ड’मा पुर्‍याइयो । जसले गर्दा यतिखेर हामीले चाहेर पनि देशमा सिँचाइ या अन्य कुनै उपभोगमा जलस्रोतको आफूखुसी प्रयोग गर्न सक्ने अवस्थासम्म छैन । स्वदेशी तथा विदेशी पुँजीपतिले हाम्रा नदीनालालाई होल्डमा राखेका छन् । हामी तिनको उपभोगबाट वञ्चित छौँ ।

ठेक्का प्रणाली : ठूला–ठूला गौरवका आयोजना कल्पना गरिन्छ । सीमित ठेकेदारलाई ठेक्का पार्ने नीति बनाइन्छ । तर, त्यसैबाट भेरिएसन बढाएर ब्रह्मलुट गरिँदै छ । जनतालाई योजना परेको देखाउने, तर काम कहिल्यै नगर्ने खालका योजना धेरै छन् । मेलम्ची एउटा उदाहरण मात्र हो । के गर्नुपर्छ भन्ने भन्दा पनि कसरी देश लुट्न सकिन्छ भन्ने भावनाले मात्र काम गरेपछि मुलुक कसरी अगाडि बढ्न सक्छ ?

रोजगारीको सुनिश्चितता : नेपालमा रोजगारीका नयाँ–नयाँ अवसर सिर्जना हुन नसक्दा हाम्रा दक्ष, अर्धदक्ष र अदक्ष सबै प्रकृतिका युवा विदेश पलायन हुन बाध्य छन् । आज तिनै युवाले पठाउने रेमिट्यान्सबाट मात्र देशको अर्थतन्त्र टिकेको छ । यतिखेर विश्वभर महामारीका रूपमा फैलिएको कोरानाले गर्दा हरेक देश एक–अर्काबाट ‘आइसोलेसन’ मा बस्नुपर्ने अवस्था सिर्जना भएको छ । जसले गर्दा हाम्रा युवा अब नेपालमै फर्किनुपर्ने अवस्था छ । यस्तो परिस्थितिमा भोलिका दिनमा नेपालमा ठूला चुनौती आउन सक्छन् । एकातिर हाम्रा युवा बेरोजगार छन् भने अर्कातिर हाम्रा गाउँघरका खेतबारी बाँझिइरहेका छन् । प्रशस्त अन्न उत्पादन गरी देशको अर्थतन्त्रमै योगदान दिनसक्ने जमिन त्यसै खेर गइरहेका छन् । यस्तो अवस्थामा हाम्रा बाँझा खेतबारीसित यहाँका बेरोजगार युवालाई जोड्न सकियो भने यसबाट अकल्पनीय लाभ लिन सकिन्छ ।

देशको भावी चित्र हामीले आजै अनुभूत गर्न सकेनौँ भने देश अस्तव्यस्त हुने निश्चित छ । भोलिको बेरोजगारी, भोकमरी, औषधोपचारको अभावलगायत अनेकौँ समस्याबारे आजै आकलन गरी त्यसका लागि चुस्त तयारी सुरु गर्ने समय आइसकेको छ । यसका लागि सरकारले आगामी आर्थिक वर्षका लागि तयार गरिरहेको बजेटमा यस्ता विषयलाई सम्बोधन गर्नुपर्छ । हामीले आज कठोर निर्णय गर्न सकेनौँ भने भोलिका दिनमा भयावह अवस्था नआउला भन्न सकिन्न । जसरी दोस्रो विश्वयुद्धपछि जापान बनाउन त्यहाँको राज्यव्यवस्था र जनताले परिश्रम गरे, आज हामीले पनि त्यही परिश्रम दोहोर्‍याउने समय आएको छ । यसका लागि हामीले सबैभन्दा पहिले फजुल खर्च कटौती सुरु गरिहाल्नुपर्छ र भिआइपी संस्कृति अन्त्य गर्नुपर्छ । यतिवेला नेपालमा कसले कसका लागि काम गर्छ, छुट्याउन र चिन्न समस्या परेको छ । साथै, विगतमा नेपालको विकासका हरेक क्षत्रमा कोरोना भाइरस बनेका शासक, विज्ञ र योजनाविद्बाट अब देशलाई मुक्त गराउनुपर्छ । नेपालीले बुझ्नुपर्ने के छ भने कोरोना भाइरसले अहिले विश्व भ्रमण गरिरहेको छ, तर नेपालको विकासमा भने पहिल्यैदेखि कोरोनाको रजाइँ छ । नयाँपत्रिका दैनिकबाट ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया