काठमाडौं, माघ ९ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सभापति गगनकुमार थापालाई पार्टीको तर्फबाट भावी प्रधानमन्त्री उम्मेदवारका रूपमा अघि सार्ने निर्णय गरेको छ।
सभापति थापाको अध्यक्षतामा ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बी.पी. स्मृति भवनमा बसेको बैठकले उपसभापति विश्वप्रकाश शर्माले प्रस्ताव र उपसभापति पुष्पा भुसालले समर्थन गरेको प्रस्तावलाई सर्वसम्मत् पारित गरेको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
बैठकले २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि केन्द्रीय प्रचारप्रसार समिति गठन गर्ने निर्णय पनि गरेको छ। उक्त समितिको संयोजक पार्टी प्रवक्ता देवराज चालिसेलाई तोकिएको छ।
यसैगरी, केन्द्रीय कार्यालय भवन पुनर्निर्माणका लागि निवर्तमान कोषाध्यक्ष उमेश श्रेष्ठको संयोजकत्वमा समिति गठन गर्ने निर्णय भएको छ। राष्ट्रिय सभा सदस्य निर्वाचन (माघ ११ गते) का लागि आवश्यक समन्वयको जिम्मेवारी उपसभापति पुष्पा भुसाललाई दिइएको छ।
बैठकले पार्टीको सांगठनिक गतिविधि प्रभावकारी बनाउन नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने निर्णयसमेत गरेको प्रवक्ता चालिसेले बताएका छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया