श्रावण २३, २०८३ शनिबार August 8, 2026

राप्रपा-राप्रपा नेपाल एकता पाँच महिनामै ‘अलपत्र’

एकीकरण घोषणा भए पनि व्यवहारमा दुवै पार्टीका धेरै संरचना अझै अलग–अलग रूपमा सक्रिय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपालबीच गत पुसमा भएको पार्टी एकता पाँच महिना बित्न लाग्दा पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको भन्दै दुवै पक्षका नेताहरूबीच असन्तुष्टि बढ्न थालेको छ । तत्कालीन राप्रपा नेपालका अध्यक्ष कमल थापाले नै सार्वजनिक रूपमा पार्टी नेतृत्वको ध्यानाकर्षण गराउँदै एकता प्रक्रिया ‘अलपत्र’ परेको टिप्पणी गरेपछि विषय पुनः चर्चामा आएको हो ।

गत पुस १६ गते बलियो राष्ट्रवादी शक्ति निर्माण गर्ने उद्देश्यसहित राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच दुई बुँदे सहमतिका आधारमा एकीकरण भएको थियो । राप्रपाको महाधिवेशनमा अध्यक्ष पदमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि पार्टी छाडेर अलग्गै राजनीतिक यात्रा सुरु गर्नुभएका थापा करिब चार वर्षपछि पुनः राप्रपामै फर्किनुभएको थियो ।

तर, एकीकरण घोषणापछि अपेक्षाअनुसार संगठनात्मक समायोजन अघि बढ्न नसकेको भन्दै थापाले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत असन्तुष्टि सार्वजनिक गर्नुभएको हो । उहाँले पाँच महिना बित्न लाग्दासमेत स्थानीय तहदेखि केन्द्रीय संरचनासम्म समायोजन हुन नसकेको, भ्रातृ संगठनहरूको एकीकरण प्रक्रियासमेत रोकिएको तथा निर्वाचन आयोगमा पार्टी एकताको औपचारिक पत्रसमेत पठाउन नसकिएको उल्लेख गर्नुभएको छ ।

थापाले फेसबुकमा लेख्नुभएको छ, ‘बलियो राष्ट्रवादी शक्ति निर्माण गर्ने उद्देश्यका साथ दुई पार्टी एकीकरण भएको पाँच महिना बित्न लाग्दासमेत स्थानीय र केन्द्रीय तहमा समायोजन हुन सकेको छैन । भ्रातृ संगठनहरूको एकीकरण पनि अझै अलपत्र छ । यहाँसम्म कि निर्वाचन आयोगमा पार्टी एकताको औपचारिक पत्रसमेत पठाउन सकिएको छैन । यसले दुवै पार्टीका कार्यकर्ताहरूमा अन्योल र अनिश्चितता बढाएको छ ।’

उहाँले वर्तमान राजनीतिक परिस्थितिमा संघीय धर्मनिरपेक्ष गणतन्त्रको विकल्पका रूपमा हिन्दूराष्ट्र र राजसंस्थासहितको वैकल्पिक राष्ट्रवादी शक्तिको आवश्यकता झन् बढ्दै गएको दाबी गर्नुभएको छ । ‘यो वास्तविकतालाई दृष्टिगत गर्दै दुई पार्टी एकता गर्दा तय गरिएको अवधारणापत्रअनुसार अविलम्ब सबै तहमा समायोजन कार्य सम्पन्न गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्वसमक्ष हार्दिक ध्यानाकर्षण गराउँदछु’, थापाले उल्लेख गर्नुभएको छ ।

एकतापछि पनि अलग-अलग संरचना

एकीकरण घोषणा भए पनि व्यवहारमा दुवै पार्टीका धेरै संरचना अझै अलग–अलग रूपमा सक्रिय छन् । जिल्ला, प्रदेश तथा भ्रातृ संगठनहरूमा नेतृत्व बाँडफाँटको विषय टुंगिन नसक्दा कार्यकर्ता तहमा अन्योल बढेको नेताहरू बताउँछन् । विशेषगरी तत्कालीन राप्रपा नेपालका नेताहरूले आफूहरूलाई पार्टी संरचनामा उचित स्थान नदिइएको गुनासो गर्दै आएका छन् । कतिपय जिल्लामा समानान्तर गतिविधि भइरहेका छन् भने कतिपय ठाउँमा संगठन निष्क्रिय जस्तै बनेको अवस्था रहेको स्रोतको दाबी छ ।

राप्रपाभित्रै पनि एकता प्रक्रियालाई लिएर फरक-फरक धारणा देखिएका छन् । एक पक्षले संगठनात्मक व्यवस्थापन र पछिल्ला राजनीतिक गतिविधिका कारण ढिलाइ भएको तर्क गर्दै आएको छ भने अर्को पक्षले नेतृत्वले पर्याप्त प्राथमिकता नदिँदा प्रक्रिया रोकिएको आरोप लगाइरहेको छ ।हिमालय टाइम्स

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘राप्रपाले जनतालाई धोका दियो, अब राजसंस्था र हिन्दु राष्ट्रको एजेन्डा जय नेपाल पार्टीले रेस्क्यु गर्छ’ : डा. धवलशमशेर राणा (अन्तवार्ता)
२०८३ श्रावण २३, शनिबार
चलचित्र ‘गोलमाल ५’ मा अक्षयकुमार भिलेनको रूपमा देखिने
२०८३ श्रावण २३, शनिबार
आइपीपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम
२०८३ श्रावण २३, शनिबार
तीन प्रज्ञा प्रतिष्ठानमा पदाधिकारी नियुक्त
२०८३ श्रावण २३, शनिबार
झापामा राष्ट्रिय परिचयपत्रमार्फत नयाँ मतदाता थप
२०८३ श्रावण २३, शनिबार
कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण
२०८३ श्रावण २३, शनिबार
माङसेबुङका ११ विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य
२०८३ श्रावण २३, शनिबार