काठमाण्डौं: प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोधमा नागरिक समाजका अगुवाहरुले प्रर्दशन गरेका छन ।
शनिबार माइतीघर मण्डलामाओलीबाट भएको प्रतिनिधि सभा विघटन ‘असंवैधानिक’ भएको भन्दै विरोध प्रदर्शन गरेका हुन् ।
नेपालको संविधानमाथि प्रहार भएकोले ‘प्रतिगमन विरुद्ध बृहत नागरिक आन्दोलन’ लेखिएको ब्यानरसहित सहभागीहरुले शंख बजाउँदै संसद विघटनको विरोध प्रदर्शन गर्नु परेको बृहत नागरिक आन्दोलनमा सहभागी अधिकारकर्मीहरुले बताएका छन् ।
अधिकारकर्मी युग पाठकले सरकारले संसद् विघटन गरेर देशलाई प्रतिगमनतर्फ लग्नुका साथै संविधानमाथिनै आक्रमण गरेको बताए ।
ओलीको कदमको विरोधमा विभिन्न नारा अंकित प्लेकार्ड बोकेर प्रदर्शनमा सहभागी नागरिक अधिकारकर्मीहरुले संविधान भित्रैबाट अहिलेको समस्याको समाधान खोज्नुपर्ने बताएका छन् ।
प्रदर्शनकारीहरुले ‘जो रक्षक उही भक्षक’, ‘संविधान माथि तिरैतिर, प्रतिगामीलाई खिरैखिर’, ‘संसद विघटनको दुस्साहस, लोकतन्त्रको उपहास’, ‘म नागरिक संविधानको पालक, नेताज्यु तपाईं नि ?’, ‘समृद्धिको यात्रा, ओलीको गाइजात्रा’, ‘संविधान माथिको प्रहार, इतिहासको ठूलो अत्याचार’ लेखिएका प्लेकार्ड बोकेका थिए ।
बृहत नागरिक आन्दोलनले आगामी दिनका लागि थप आन्दोलनका कार्यक्रम पनि सार्वजनिक गरेको छ । नागरिक अगुवाहरुले पुस १८ गतेसम्म एक दिनको फरकमा प्रदर्शन गर्ने कार्यक्रम तय गरेको बताएका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया