काठमाडौं: नेकपा ओली समूहका नेता रामबहादुर थापा बादलले संसद विघटन साहसिक र एैतिहासिक कदम भएको बताएका छन् ।
जननिर्वाचित सरकारलाई आफ्नै पार्टीका नेताहरुले अविश्वासको प्रस्ताव ल्याएर राजनीतिक कू गर्न खोजेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने राजनीतिक कदम चालेको उनले बताए ।
ओली समूहको काठमाडौं जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै गृहमन्त्री समेत रहेका बादलले भने, ‘बाहृय रुपमा प्रतिगमनतिर फर्किए जस्तो देखिएको छ, तर हामी नयाँ उचाईमा पुगेका छौं । सर्बत्र यसको समर्थन भइरहेको छ ।’ देशलाई स्थिरता दिनका लागी चुनाव आवश्यक भएको उनले बताए ।
आफूहरुको एजेण्डा, विचार, सिद्धान्त र नेतृत्व सही भएको भन्दै ओली समूहका नेता बादलले चुनावमा गएर प्रतिगमनकारीहरुलाई भण्डाफोर गर्ने र अस्थिरता चाहना भएका नेताहरुलाई विस्थापित गर्नुपर्ने उनले बताए ।
देश- विदेशी अवसरवादी शक्तिहरुले प्रतिगमनलाई पुनस्र्थापित गर्न नेकपालाई फुटाउने प्रयास भएको उनले बताए । विचार, सिद्धान्तका कारण पदीय महत्वकांक्षाका कारण एउटा गुट अलग भएको भन्दै बादलले भने, ‘यो विभाजनबाट प्रतिगामी अवसरवादी शक्तिहरु उत्साहित भएका छन् । उनीहरुको उत्साह सडकमा देखिन्छ ।’


प्रतिक्रिया